बाइरोडको बाटोमा

सामाजिक सञ्जालमा शिष्टाचार

मङ्गलबार, १० भदौ २०७६, १० : ४४ गुणराज लुइँटेल  | @gunaraj

इन्टरनेट व्यापक प्रयोग हुन थालेपछि सन् २००७ जुलाईतिर पहिलोपटक मैले सिकेको अंग्रेजी शब्द हो– नेटिकेट। दुई अंग्रेजी शब्द– इन्टरनेट र एटिकेट(शिष्टाचार) मिलेर यो शब्द बनेको छ। यसको अर्थ हो– इन्टरनेटमा आफ्ना अभिव्यक्ति दिँदा पालना गर्नुपर्ने शिष्टाचार।

हामीले इन्टरनेट अलि बढी प्रयोग गर्न थालेको सन् १९९८ तिरदेखि हो। इन्टरनेटको सबैभन्दा धेरै अभाव महसुस भने तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा हुन्छ। अप्रिल १, २००५ मा उनले टेलिफोन र इन्टरनेट दुवै बन्द गराएपछि बल्ल सूचना प्रविधिको यो उपलब्धिको अभाव महसुस हुन्छ।  त्यो बेला २ करोड ३० लाख नेपालीमध्ये १ प्रतिशतभन्दा कम जना इन्टरनेट प्रयोगकर्ता थिए।

जतिबेला हामीजस्ता १ प्रतिशतभन्दा कम मानिसले ‘नेटिकेट’ बारे थाहा नपाउँदा पनि खासै फरक पर्दैनथ्यो। थोरै मानिसले इन्टरनेटमार्फत सञ्चार गर्थे। इमेल प्रयोगकर्ता थोरै थिए। त्यसमा पनि अनलाइन सामग्री नेपालीमा पढ्न पाउने अवस्था त झन् थिएन। नेपाली युनिकोडको विकास नहुन्जेल रोमनाइज्ड नेपालीमा लेख्नुको विकल्प थिएन। युनिकोड नेपालीले गर्दा इन्टरनेटमा लेख्ने सामग्रीले समेत व्यापकता पाउन थाल्यो।

अब सामाजिक सञ्जालमा ‘बुद्धिमान् भीड’को ठाउँबाट उही पुरानै ‘भीडको व्यवहार’ प्रदर्शन हुन थालेको हो त ?

इन्टरनेट प्रयोग सुरु हुनासाथ यसलाई व्यवस्थित गराउने काम पश्चिमा मुलुकमा भने सुरु भइसकेको थियो। सन् १९९४ मा भर्जिनिया सीको पुस्तक ‘नेटिकेट’ प्रकाशन भएपछि सातवटा नियम सार्वजनिक भए। यसलाई पत्रकारिता पढाउने स्कुलले अत्यावश्यक अध्ययनका रूपमा आफ्ना पाठ्यक्रममा राखेका छन्।

ती सात नियम हुन् : १. मानिससँग अन्तरक्रिया भइरहेको हेक्का राख्ने, २. अनलाइनमा पनि वास्तविक जीवनमा जस्तै व्यवहार गर्ने, ३. साइबरस्पेसमा आफ्नो स्थानबारे विचार गर्ने, ४. अरू मानिसको समय र ब्यान्डविथलाई सम्मान गर्ने, ५. आफूलाई अनलाइनमा असल बनाउने, ६. विशेषज्ञ स्तरका जानकारी दिने र ७. रिसराग बढ्न नदिने।

प्रायः मानिसलाई इन्टरनेट ‘भर्चुअल वल्र्ड’ भएका कारण जे बोले/लेखे पनि हुन्छ भन्ने लाग्छ। तर यो वास्तविक संसारमा जत्तिकै ख्याल गर्नुपर्ने संवेदनशीलठाउँ हो। इन्टरनेटमा जे लेखिन्छ/बोलिन्छ, त्यसको ‘फुटप्रिन्ट’ भविष्यसम्म रहन्छ। त्यसैले यसमा गैरजिम्मेवार भएर व्यवहार गर्दा कालान्तरमा नकारात्मक प्रभाव पर्छ। त्यसैले इन्टरनेटमार्फत जे बोलिन्छ वा लेखिन्छ त्यो आफ्नैअगाडि बसेका मानिससँग भन्न नसकिने खालका हुनु हुँदैन।  

तर अहिले यसको प्रयोगभन्दा दुरुपयोग बढिरहेको छ। आमनेसामने भएर भन्न नमिल्ने कुरा इन्टरनेटमा उल्लेख गर्ने गरिएका छन्। आफ्नो फेसबुक, ट्विटर, युट्युब आदिमा जे लेखिन्छन् तिनले खुलामञ्चमा उभिएर भाषण गरेभन्दा बढ्ता अर्थ राख्छन्। कुनै बेला टुँडिखेलमा उभिएर ‘पम्फादेवी’ले सम्पत्ति लगेर स्विस बैंकमा राखेको भाषण गरेभन्दा बढी खतरनाक कुरा हो यो। त्यही भाषण इन्टरनेटमा भएको भए वक्तालाई जहिले प्रश्न गरिरहन सक्ने अवस्था आउँथ्यो।

प्रायः मानिसलाई इन्टरनेट ‘भर्चुअल वल्र्ड’ भएका कारण जे बोले÷लेखे पनि हुन्छ भन्ने लाग्छ। तर यो वास्तविक संसारमा जत्तिकै ख्याल गर्नुपर्ने संवेदनशीलठाउँ हो। इन्टरनेटमा जे लेखिन्छ÷बोलिन्छ, त्यसको ‘फुटप्रिन्ट’ भविष्यसम्म रहन्छ।

हामीले टेलिफोन पनि राम्ररी प्रयोग गर्न नपाउँदै सञ्चार प्रविधिको उच्चतम उपलब्धि उपभोग गर्न पायौं। खासमा गाउँमा बस्ने नेपालीले ल्यान्डलाइन टेलिफोन प्रयोग गर्दै नगरी एकैचोटि स्मार्ट मोबाइल फोन चलाउने मौका पाएका हुन्। प्रविधिको विकास संसारका जुनसुकै कुनामा भए पनि अर्को कुनामा रहेका व्यक्तिले सहजै प्रयोग गर्न पाउँछ। अहिलेको विश्व व्यवस्थाले यो सम्भव तुल्याइदिएको छ।

सञ्चार क्षेत्रमा रहेका कारण यस्तो उन्नत प्रविधि सबैभन्दा पहिले हामी (पत्रकार)ले प्रयोग गर्न पायौं। राजधानी काठमाडौंमै भए पनि ल्यान्डलाइन फोन जडान गर्न नेपाल पत्रकार महासंघको सिफारिस, सञ्चार मन्त्रीको तोक र नेपाल दूरसञ्चार संस्थानका प्रमुखको अनुकम्पा आवश्यक थियो। तर अहिले सञ्चार न्यूनतम आवश्यकता भइसकेको छ। र, कसैले टेलिफोन लिन ‘सोर्सफोर्स’ लगाइरहनु पर्दैन।

इन्टरनेट प्रयोगसँगै काम छिटो हुन थाल्यो। सूचना र जानकारी पनि उत्तिकै सहज हुन थाल्यो। सामाजिक सञ्जालको प्रयोगले सूचना आदानप्रदान मात्र होइन, सामान्य व्यक्तिलाई पनि प्रकाशकको हैसियतमा पुर्‍यायो। अब कुनै पनि सूचना वा जानकारी दिन सञ्चारमाध्यमकै भर पर्नुपर्ने अवस्था रहेन। ‘सोसल मिडिया’को दर्जासमेत पाएका सामाजिक सञ्जाल र परम्परागत मिडियाबीच सूचना प्रवाह गर्ने काममा एकरूपता छ। तर तिनले सार्वजनिक गर्ने सूचना परिष्कार गर्ने काममा भने ठूलो अन्तर छ। एक हिसाबले भन्ने हो भने व्यक्तिसँग भएका सूचना कच्चा पनि हुन सक्छन्। त्यसको विश्वसनियता जाँच बाँकी रहन सक्छ। यहींनिर प्रेसको भूमिका हुन्छ। यसैले सामाजिक सञ्जालको यो युगमा पनि प्रेसको महत्ता उत्तिकै छ।

सामाजिक सञ्जालमा व्यक्ति एक्लै हुन्छ। उसलाई सही लागेका कुनै पनि घटना, विचार र जानकारी तत्काल सार्वजनिक हुन्छन्। प्रेसले सार्वजनिक गर्ने घटना, विचार र जानकारीका निम्ति भने ‘गेट किपिङ’ महत्वपूर्ण पक्षका रूपमा रहन्छ। कुनै पनि समाचार सार्वजनिक हुनुअघि समाचार कक्षमा एउटा लामो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। यो विषय किन सार्वजनिक गर्ने ? यस्तो जानकारी कसरी धेरै मानिसका निम्ति उपयोगी हुन सक्छ ? यो सार्वजनिक भएन भने कुनै घाटा छ ? आदि प्रश्न समाचार कक्षमा नियमितजस्तै आउँछन्।

स्मार्ट फोनका कारण अहिले सामाजिक सञ्जालमा सर्वसाधारणको पहुँच सहज भएको छ। सहरमा बस्ने व्यक्ति मात्र होइन, सुदूर गाउँमा बस्नेलाई समेत यसले समेटेको छ। अब सूचना र जानकारी पाउन आफ्नो फोनको स्क्रिनमा आँखा दौडाए पुग्ने भएको छ। टेलिभिजन, पत्रपत्रिका र अन्य जानकारी सबै मोबाइलमै समेटिएका छन्। र, यसमा आउने सामग्रीमा जति धेरै ‘लाइक’, ‘सेयर’ हुन्छन् त्यति नै प्रस्तुतकर्तालाई फाइदा पुग्छ। परम्परागत पत्रकारिताले जुन पक्षलाई ध्यानमा राख्नुपर्छ, तिनलाई वास्ता नगरी बढीभन्दा बढी ‘क्लिकबेट’ (यस्तो सामग्री जसको उद्देश्य पाठक/दर्शकलाई खास वेब पेजको लिंकमा आकर्षण र क्लिक गर्न प्रेरित) हासिल गर्नु हो।

‘क्लिकवेट’ प्रतिस्पर्धाले जस्तोसुकै सामग्री इन्टरनेटमा राख्न प्रेरित गरेको छ। जसबाट त्यस्ता सामग्रीको सत्यता जाँच गर्न सक्ने उपभोक्ता भएका ठाउँमा त खासै फरक पर्दैन तर ‘सञ्चार साक्षरता’ नभएका ठाउँमा त्यस्ता सबैजसो सामग्रीप्रति विश्वास गर्ने अवस्था उत्पन्न हुन्छ। हालैका दिनमा खासगरी सामाजिक सञ्जालमार्फत गरिएका कतिपय दाबीलाई यसका उपभोक्ताले पत्याएको अवस्था छ। जसबाट सरकार, प्रेस, नेता कसैलाई पनि नपत्याउने, बरु हल्लामा विश्वास गर्ने जमात बढ्न सक्छ। यस्तो स्थिति घातक हुन्छ।

उदाहरणका लागि पाथिभरामा भएको हेलिकोप्टर दुर्घटना एउटा अन्तर्राष्ट्रिय आतंकवादी समूहले गराएका हो भन्ने दाबी गरिएको छ। अचेल यस विषयमा धेरैजसोले ‘यस्तो पो भएको रहेछ’ भनी सुनाउने गरेका छन्। अहिले इन्टरनेटमा आधारित कतिपय सेलिब्रेटी देखिएका छन्। धेरैले तिनका कुरा पत्याइरहेको पाइन्छ। त्यसबारे कतिपयले हामीलाई समेत सोध्छन्। उनीहरूलाई यस्ता कुरा पत्याउनुअघि सत्यता जाँच गर्ने अवस्थामा आफूलाई उभ्याउनुहोस् भन्नुपर्ने हुन्छ।

यतिबेला विचार निर्माणको जिम्मा सामाजिक सञ्जालले पाएको देखिन्छ। र, यसरी आउने जानकारीलाई ‘विज्डम अफ क्राउड’ अर्थात् ‘भीडको विवेक’का रूपमा समेत लिइएको छ। जेम्स सुरोवियाकीले ‘द विज्डम अफ क्राउड’ मा लेखेका छन्– ‘ठीक वातावरणमा समूह, ‘स्मार्ट’ मानिसभन्दा पनि बढ्ता बुद्धिमान हुन्छन्। ‘स्मार्ट’ हुनाका लागि समूहलाई हदै बुद्धिमान मानिसको प्रभावमा राख्नु हुँदैन।’तर हाम्रोजस्तो भर्खरै सूचना प्रविधिको विकास र भ्रमका खेती धेरै हुने ठाउँमा भीडले विवेकी निर्णय दिन सम्भव नहुन सक्छ। खोजेका भरपर्दा सूचनाभन्दा हल्ला र ‘फेक न्युज’को गति धेरै हुन्छ। अचेल ‘भाइरल’ हुने समाचार सामग्री त्यस्ता विषय हुन्छन् जुन जानकारी नपाएर पनि समाजलाई खासै असर पर्दैन। समाजलाई चाहिने ज्ञान/सीपभन्दा अन्य विषयमा बढ्ता रुचि हुने र त्यस्तै सामग्री भाइरल हुने गरेको देखिन्छ।

कुनै बेला ‘भीडको विवेक हुँदैन’ भन्ने मान्यता राखिन्थ्यो। व्यक्तिले एक्लै हुँदा जे काम गर्न सक्दैन उसले भीडमा गर्न सक्छ। भीडमा आइसकेपछि सीधासाधा मानिसले त्यहाँ अरूले गरेजस्तै व्यवहार गर्न थाल्छन्। फ्रान्सेली सामाजिक मनोविज्ञ गुस्ताभ ले बोनको संक्रामक सिद्धान्त (कन्टाजियन थ्यौरी) अनुसार भीडले यसका सदस्यहरूमा सम्मोहनकारी (हिप्नोटिक) प्रभाव पार्छ। त्यस प्रभावले व्यक्तिलाई अविवेकी र भावनात्मक व्यवहार गर्ने अवस्थामा पु¥याउँछ।

अब सामाजिक सञ्जालमा ‘बुद्धिमान भीड’को ठाउँबाट उही पुरानै ‘भीडको व्यवहार’ प्रदर्शन हुन थालेको हो त ? त्यसबाट जोगिन ‘नेटिकेट’ बारे ‘नेटिजन’ (इन्टरनेट प्रयोगकर्ता) सजग हुने बेला आएको छ।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा शाखा विस्तार गरेको छ । ...

अनलाइन जब फेयर आयोजना हुने

अनलाइन जब फेयर आयोजना हुने

आस्कमी म्यानेजमेन्टले यही माघ १५ र १६ गते दुईदिने ‘भर्चुअल जब फेयर’ सञ्चालन गर्ने भएको छ । ...

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

गत माघ १० गतेबाट सुरु भएको तीनदिने ११औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ...

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

Ncell Footer Ad