१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई राप्रपा मिल्ने समझदारी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता हुने भएको छ । लामो प्रयासपछि मंसिर ६ गते घोषणा गर्ने गरी दुई पार्टीबीच एकता गर्ने समझदारी बनेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यसम्पादन समितिको सोमबार सम्पन्न बैठकले दुई पार्टीबीच एकता गर्ने निर्णय दोहोर्याएको हो । मंगलबार दुवै पार्टीका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी एकताको सन्देश दिने तयारी भएको राप्रपाका महामन्त्री बुद्धिमान तामाङले जानकारी दिए । ‘दुई पार्टीबीच यसअघि भएको आठ बुँदे आधारपत्रकै आधारमा एकता गर्ने सहमति बनेको छ,’ उनले भने, ‘सम्भवतः भोलि (मंगलबार) नै संयुक्त विज्ञप्ति आउँछ, मंसिर ६ गते घोषणा सभा हुन्छ ।’
एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहनेछ । राष्ट्रिय अध्यक्ष र अध्यक्ष रहने सहमतिअनुसार पशुपतिशमशेर जबरा राष्ट्रिय अध्यक्ष र कमल थापा अध्यक्ष रहनेछन् । ‘राष्ट्रिय अध्यक्ष र अध्यक्ष रहने व्यवस्था गरिएको छ,’ तामाङले भने, ‘पार्टी निर्देशक समितिको नेतृत्व राष्ट्रिय अध्यक्षले गर्नुहुन्छ, केन्द्रीय समिति र कार्यसम्पादनको अध्यक्षता अध्यक्षले गर्नुहुन्छ ।’
तीन सय सदस्यीय केन्द्रीय समितिमा दुवै पार्टीबाट बराबर सहभागी हुने सहमति भएको छ । कार्यसम्पादन समितिमा पनि दुवै पार्टीबाट बराबर सदस्य रहनेगरी सहमति भएको तामाङले जानकारी दिए ।
पार्टीको सबैभन्दा शक्तिशाली निकायको रुपमा पार्टी निर्देशन समिति रहने भएको छ । दुवैतर्फबाट पाँच पाँच सदस्य रहने समितिले राजनीतिक नियुक्तिका साथै पार्टीका सबै राजनीतिक निर्णय लिने तामाङले बताए । पार्टी एकीकरण भएको तीन महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति छ । पार्टीका कुनै नेता तथा कार्यकर्तालाई अनुशासनको कारबाही गर्नुपरेमा राष्ट्रिय अध्यक्षसमेतको सहमतिमा प्रक्रिया अघि बढाउने व्यवस्था थप गरिएको छ ।
दुई दलबीच गत साउन २५ गते पार्टी एकताको घोषणा गरे पनि राप्रपा सरकारमा सहभागी भएपछि अन्तिम समयमा भाँडिएको थियो । यसैबीच दुवै पार्टीका नेताले गृहमन्त्री विमलेन्द्र निधिलाई भेटी पार्टी एकीकरणले सत्तासमीकरणमा केही असर नपर्ने जनाएका छन् ।

 

प्रकाशित: ३० कार्तिक २०७३ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App