coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘चीन–अमेरिका वार्ता चाँडै हुन्छ’

फ्रान्सको बियारिजमा जारी ‘जी–सेभेन’ सम्मेलनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर ः एजेन्सी

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनः सुरु हुने बताएका छन्। दुबै मुलुकले एकअर्काका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अवरुद्ध भइरहेको छ।

‘गएराति चीनबाट फोन आयो र उनीहरुको भनाइ वार्ताको टेबलमा बसौं भन्ने छ। त्यही भएर हामी पनि वार्तामा बस्न राजी भएका हौं,’ फ्रान्सको बियारिजमा जारी सात औद्योगिक राष्ट्रहरुको सम्मेलनमा सहभागी भएका राष्ट्रपति ट्रम्पले संवाददातासँग बताए।

‘जी–सेभेन’ सम्मेलनका क्रममा सोमबार ट्रम्पले चिनियाँ अधिकारीहरुले आइतबार राति दुईपटक फोन गरेको र कुराकानी निकै सकारात्मक रहेको बताए। उनका अनुसार व्यापार विवाद समाधानका लागि बेइजिङले ‘सम्झौता गर्न चाहेको छ।’

‘उनीहरुले धेरै नराम्ररी पीडा दिए तर अहिले उनीहरुले वार्ता नै सही कुरा हो भन्ने हो भन्ने थाहा पाए।’ आफ्नो दबाबका कारण चीन पुनः वार्ताको टेबलमा आउन लागेको जिकिर गर्दै ट्रम्पले भने, ‘हामी चाँडै नै वार्ता सुरु गर्न गइरहेको छौं तर मलाई लाग्छ यो पटक हामी सम्झौता पनि गर्ने छौं।’

चीनले अमेरिकी सामानको मुल्यवृद्धि गरेपछि गत शुक्रबार ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा करवृद्धिको घोषणा गरेका थिए। संयुक्त राज्य अमेरिकाले चिनियाँ व्यापार मोडलमै परिवर्तन ल्याउन र व्यापक सुधार गर्न दबाब दिइरहेको छ। बौद्धिक चोरीलगायतका कारणले अमेरिकी कम्पनीले असहज परिस्थितिको सामना गर्न परिरहेको बताउँदै उसले बेइजिङलाई आफ्नो व्यापार अभ्यासमा सुधार गर्न पनि आह्वान गर्दै आइरहेको छ।

अमेरिकी गठबन्धनका मुलुकले चीनसँगको व्यापार युद्धले विश्व अर्थतन्त्रमै समस्या निम्तिने बताइरहेका छन्। यस विषयमा चीनले भने तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। यद्यपि यसअघि उसले समस्या समाधानका लागि ‘शान्त’ रहन आह्वान गरेको थियो। विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच गत वर्षदेखि नै व्यापार विवाद कायम रहेको छ। दुवै देशले एकअर्काका सामान आयातमा अर्बौं डलरबराबरको  अतिरिक्त कर लगाएका कारण विश्व अर्थतन्त्रमा नै समस्या उत्पन्न भइरहेको छ।

अमेजनको आगो नियन्त्रण गर्न दुई करोड २० लाख डलर
विश्वका सात शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रहरुको समूह ‘जी–सेभेन’ को फ्रान्सको बियारिजमा चलिरहेको सम्मेलनमा अन्तर्राष्ट्रिय नेताहरुले अमेजनमा लागेको डढेलो नियन्त्रणका लागि लजिस्टिकल र आर्थिक सहायता प्रदान गर्न सहयोग पु¥याउने बारे सहमति गरेका छन्।

अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि ‘जी–सेभेन’ राष्ट्रहरुले दुई करोड २० लाख अमेरिकी डलर उपलब्ध गराउने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले बताए।

म्याक्रोंका अनुसार अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि परिचालित भइरहेका अग्निनियन्त्रण जहाजलाई आर्थिक सहायता प्रदान गर्न सहयोग उपलब्ध हुने छ।

यद्यपि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले भने अमेजन जोगाउनका लागि ‘गठबन्धन’ बनाउने योजना अघि सारेर फ्रान्सेली राष्ट्रपति म्याक्रोंले ब्राजिललाई ‘उपनिवेश वा मानवबिनाको राष्ट्रका रूपमा व्यवहार गरेको’ आरोप लगाएका छन्। ब्राजिलको अमेजन जंगलमा केही दिनअघि लागेको डढेलो अझै नियन्त्रणमा नआइसकेको ब्राजिल सरकारले जनाएको छ।

प्रकाशित: १० भाद्र २०७६ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App