coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विश्वसम्पदाको तथ्यांक प्रयोगमा हेलचेक्र्याइँ

काठमाडौं - विश्वसम्पदा सूचीमा परेका नेपालका प्राकृतिक र सांस्कृतिक क्षेत्रहरुको तथ्यांक प्रयोगमा हेलचेक्र्याइँ भएको पाइएको छ। युनेस्कोले नेपालका चार स्थानलाई विश्व सम्पदा सूचीमा राखेको छ। तर, पछिल्ला समय तथ्यांक प्रयोगमा ध्यान नदिँदा संरक्षित स्मारक क्षेत्रलाई समेत विश्व सम्पदा सूचीको संख्यामा जोडेर दशवटा बनाइएको छ।

नेपालका सांस्कृतिक विश्व सम्पदाको संख्या दश वटा रहेको भन्ने भ्रम यत्रतत्र फैलिएपछि जानकारहरूले चिन्ता व्यक्त गरेका छन्। विद्यालयको पाठ्यपुस्तक, लोकसेवा तथा प्रतियोगितात्मक परीक्षाका पुस्तकहरूमा समेत दश वटा विश्वसम्पदा क्षेत्र भनेर लेखिँदै आएको पुरातत्व विभागकै कर्मचारी बताउँछन्। विभागका प्रमुख पुरातत्व अधिकृत डा. सुरेश श्रेष्ठले अहिले विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको तथ्यांकलाई गलत तरिकाले व्याख्या गरिएको बताए।

उनले युनेस्कोले चार स्थानलाई विश्व सम्पदाको सूचीमा राखे पनि दश स्थान भनेर सरकारी कार्यालयहरुले नै प्रचार गर्दै आउनु गलत भएको जनाए। ‘नेपालका विश्व सम्पदाबारे भ्रम फैलिएको छ। मैले अन्य सरकारी निकायलाई पनि यसबारे सच्याउन आग्रह गरेको थिएँ तर सच्चिएको छैन,’ उनले भने, ‘किताबमै गलत लेखिएपछि मौखिक कुरालाई विश्वास गरिँदैन। त्यसकारण पाठ्यपुस्तकदेखि नै सच्याउन आवश्यक छ।’ नेपालमा विश्व सम्पदा सूचीमा सुचीकृत क्षेत्र कतिवटा छ भन्ने प्रश्नको बुझाई नै गलत रहेको उनको भनाइ छ।

उनका अनुसार नेपालले सन् १९७८ मा विश्व सम्पदा महासन्धीमा हस्ताक्षर गरेको हो। हस्ताक्षर गरेपछि सदस्य राष्ट्रका हैसियतले नेपालले सन् १९७८ मा विश्व सम्पदा सूचीमा सूचीकरण गर्नका लागि सांस्कृतिक सम्पदाका लागि काठमाडौं उपत्यका र प्राकृतिक सम्पदातर्फ सगरमाथा राष्ट्रिय निकुञ्जको ‘नोमिनेशन’ गर्न युनेस्कोलाई पत्र पठायो। नेपालको पत्रबारे आधिकारिक बुझबुझारथ पछि युनेस्कोले दुवै सम्पदालाई विश्व सम्पदाको सूचीमा राख्यो। त्यसको सात वर्षपछि युनेस्को सन् १९८५ मा चितवन राष्ट्रिय निकुञ्ज र १९७९ मा लुम्बिनीलाई पनि विश्वसम्पदामा सूचीमा राखियो।

यसमध्ये काठमाडौं उपत्यकामा विश्व सम्पदा स्थलका रुपमा सूचीकरण भएको सातवटा स्मारक क्षेत्र छन्। जसमा चाँगुनारायण, पशुपतिनाथ क्षेत्र, भक्तपुर दरबार, पाटन दरबार, हनुमानढोका दरबार, बौद्ध र स्वयम्भू पर्दछन्। यी सम्पदा स्थलहरुलाई सीमांकन गरी सरकारले संरक्षित स्मारक क्षेत्रसमेत घोषणा गरी समावेश गरेको थियो। यसबाहेक सरकारले विभिन्न मितिमा पनौती, दक्षिणकाली र गोरखालाई संरक्षित क्षेत्र भनेर घोषणा गरेको थियो।

संस्कृतिविद् हरिराम जोशीले विश्व सम्पदा क्षेत्रको बारेमा भ्रम फैलाउन र गलत तथ्य सार्वजनिक गर्न नहुने बताए। उनले विश्व सम्पदामा सूचीकृत ठाउँ र स्मारक क्षेत्रको बारेमा सबैलाई सामान्य जानकारी लिन आग्रह गरे। ‘स्मारक क्षेत्र र विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्र भन्नाले फरक कुरा हो। यसलाई संस्कृति क्षेत्रमा काम गर्ने व्यक्ति र सरकारका आधिकारी निकायले अझ बढी संवेदनशीलताका साथ हेर्नुपर्दछ,’ उनले भने।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत डा. श्रेष्ठले सरकारका सबै निकायहरुले छापिएका पाठ्यपुस्तक नसच्याउँदा विद्यार्थीहरुमा समेत भ्रम बढेको जानकारी दिए। नेपालका सांस्कृतिक विश्व सम्पदा र प्राकृतिक विश्व सम्पदा गरी ४ वटा विश्व सम्पदा क्षेत्र रहेको उनको भनाइ छ।

सरकारी वेबसाइटमै गौतम बुद्ध बारे गल्ती
सरकारी संस्था पुरातत्व विभागको आधिकारिक वेबसाइटमा गौतम बुद्धको नामको अगाडि ‘प्रभु’ राखिएको छ। बुद्धधर्म र बुद्धको बारेमा खोज अनुसन्धान गर्दै आएका अनुसन्धानदाताहरुले यसलाई गलत भनेका छन्। गौतम बुद्धको बारेमा अनुसन्धान गर्दै आएका वसन्त महर्जनले बुद्धको अगाडि प्रभू राख्न नहुने बताउँछन्। उनले सरकारी निकायले यसरी हेलचेक्र्याइँ गर्दा त्यसको दाग हाम्रो संस्कृति र सम्पदा क्षेत्रमा पर्ने जनाए। ‘यो एकदमै गम्भीर त्रुटी हो। बुद्धको अगाडि शान्तिका अग्रदूत, भगवानजस्ता शब्द राखिन्छ तर प्रभू चाहीँ राख्नु गलत हो,’ उनले भने।

प्रकाशित: १० भाद्र २०७६ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App