६ वैशाख २०८१ बिहीबार
अर्थ

तीन वर्षभित्र सबै नेपाली घरमा बिजुली

काठमाडौं – सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पु-याउने महत्वाकांक्षी योजना अघि सारेको छ। नेपाल विद्युत् प्राधिकरणले सरकारको मार्गनिर्देशनअनुसार प्रत्येक घरधुरीमा विद्युत्को पहुँच पु-याउने योजना अघि सारेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२२ भित्र मुलुकभरका प्रत्येक घरधुरीमा बिजुली पु-याउने उद्घोष गरेका छन्। ‘हामीले सन् २०२२ सम्म सम्पूर्ण नेपाली जनताको घरदैलोमा विद्युत् सेवा पु-याउने योजनासहित काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले धमाधम काम भइरहेको छ।’

प्राधिकरणको कुल ग्राहक संख्या ३९ लाख १० हजार पुगेको छ। यो तथ्यांक अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १० प्रतिशतले बढी हो। प्राधिकरणका अनुसार सामुदायिक संस्था र बुटबल पावर कम्पनी अन्तर्गतका ग्राहकसमेत जोड्दा करिब ७८ प्रतिशत जनसंख्यामा राष्ट्रिय विद्युत् प्रणालीको ग्रिड पुगेको छ।

अझै २२ प्रतिशत नेपालीको पहुँचमा बिजुली पुगेको छैन। प्राधिकरणले गत आर्थिक वर्षमा मनाङ, सोलुखुम्बु, बझाङ र दार्चुला जिल्लामा समेत राष्ट्रिय विद्युत् प्रणालीबाट बिजुली आपूर्ति गरेको जनाएको छ।

कार्यकारी निर्देशक घिसिङले चालू आर्थिक वर्षमा रुकुमपूर्व, कालिकोट, बाजुरा र जुम्लामा बिजुली उपलब्ध गराउने योजनासहित काम भइरहेको बताए।

‘आगामी दुई वर्षभित्र मुगु र डोल्पामा बिजुली पु-याउने लक्ष्य राखेका छौं,’ उनले भने, ‘यी दुई जिल्लामा विद्युतीकरण गरिसकेपछि हुम्लालाई प्रथामिकतामा राखेका छौं।’

प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा प्राधिकरणको प्रणालीमा कुल सात अर्ब ५५ करोड युनिट बराबर विद्युत् उपलब्ध भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७५ प्रतिशतले बढेको छ। प्रधिकरणले कार्य सञ्चालन दक्षता अभिवृद्धि गर्न, विद्युत् चुहावट न्यूनीकरण गर्न तथा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिँदै आएको जनाएको छ।

‘स्मार्ट मिटर तथा स्मार्ट ग्रिड प्रविधिको जडान गरी प्रणालीलाई स्वचालित गर्ने योजना अघि सारेका छौं,’ उनले भने, ‘अनलाइन केन्द्रीकृत बिल भुक्तानी प्रणाली थप गरिनेछ।’

माग व्यवस्थापन तथा ऊर्जा दक्षतासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै उच्च विद्युत् मागको व्यवस्थापन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणको अतिरिक्त आम्दानी वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क तथा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्ने योजना छ।

नेपालमा जलविद्युत् उत्पादन भएको एक सय आठ वर्ष भइसकेको छ। फर्पिङ जलविद्युत् केन्द्रबाट विक्रम सम्बत १९६८ मा पाँच सय किलोवाट विद्युत् निकालिएको थियो।

निजी क्षेत्रका आयोजनाहरू सम्पन्न भई हाल सञ्चालनमा रहेका ८३ वटा आयोजनाको कुल जडित क्षमता ५६० मेगावाट उत्पादन गरिरहेका छन्। निजी क्षेत्रबाट २६ सय १३ मेगावाट बराबरको विभिन्न एक सय २० जलविद्युत् आयोजनाको आर्थिक स्रोत सुनिश्चित भई निर्माण भइरहेको छ। २८ सय ६९ मेगावाट बराबरका विभिन्न एक सय ३७ जलविद्युत् आयोजना कार्यान्वयनको चरणमा रहेको प्राधिकरणले जनाएको छ।

आर्थिक वर्ष ०७५/७६ मा प्राधिकरणले विभिन्न प्रवद्र्धकसँग ८५ वटा आयोजनाको कुल १४ सय ८० मेगावाट विद्युत् खरिद सम्झौता गरेको छ। हालसम्म प्राधिकरणले तीन सय ४० स्वतन्त्र विद्युत् उत्पादनकर्तासँग ६ हजार ४४ मेगावाट बराबरको विद्युत् खरिद सम्झौता गरिसकेको छ।

प्रकाशित: १० भाद्र २०७६ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App