४ वैशाख २०८१ मंगलबार
कला

'कलापुञ्ज'मा आधुनिक चित्रकला

काठमाडौं - आधुनिक चित्रकलाका हस्ती मानिने लैनसिंह बाङ्देलबाट कला सिकेका नेपाली आधुनिक कलामा सक्रिय कलाकारद्धारा तयार गरिएका विभिन्न कला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन भइरहेको छ। लैनसिंह वाङ्देल पुरस्कार कोषलाई सघाउने आयोजित ‘कलापुञ्ज’ नामक चित्रकला प्रदर्शनीमा गत बिहीबारबाट सुरू भएको थियो।

कलाकार शंकरराज सिंह सुवालले गणेश भगवानको प्रतीमालाई क्यानभासमा कोरेका थिए। गणेशको मनमा हरपल महादेव र पार्वती बस्ने धार्मिक मान्यतालाई उनले चित्रकलाको स्वरूप दिएका छन्। शान्तिको प्रतिक मानिने गौतम बुद्धले संसारलाई ज्ञान प्रदान गरेको घटना रोचक शैलीमा क्यानभासमा कोरिएको छ। नेपालको संस्कृतिदेखि कुमारी जात्राको महत्वलाई उनले प्राथमिकता दिएर धार्मिक सहिष्णुताको व्याख्या गरेका छन्। प्रदर्शनीको आयोजना आधुनिक कला समाज (सोमा) ले गरेको थियो । यो प्रदर्शनीको पाँचौ संस्करण हो।

महिला सशक्तिकरणलाई जोड दिँदै चित्रकार कान्ति न्यौपानेले हिमाली क्षेत्रको कामकाजमा व्यस्त शेर्पा समुदायका महिलालाई क्यानभासमा उतारेकी थिइन्। शेर्पा भेषभूषामा देखिएको महिलाहरूले ग्रामीण परिवेशको चित्रण गरेका थिए। धार्मिक आस्थामा जोड दिँदै मुक्तिनाथ दर्शन गर्न हिडेका महिलाहरूलाई क्यानभासमा समेटिएको थियो। अर्की चित्रकार रमा मास्केको ‘माई लाइफ, माई स्टाइल’ शीर्षकको चित्रकलाले कलाकारको वास्तविक जीवनलाई क्यानभासमा उतारेकी छिन्। विनासकारी भूकम्पले भत्किएको भवन, हिमाल र गाउँघरमा हुक्का खाँदै गरेकी महिलाको चित्रकला प्रदर्शनीमा राखिएको छ।

चित्रकार शंकरनाथ रिमालले नेपालको परिचय दिने राष्ट्रिय झण्डा र हिमालहरूलाई चित्रमा प्राथमिकता दिएका छन्। उनले अस्ताउँदै गरेको घाममा सुन्दर देखिने हिमाललाई विभिन्न रंगको माध्यमले कलात्मक बनाएका छन्। प्रदर्शनीमा नेपालको ग्रामीण परिवेशलाई चित्रण गरेर तयार गरिएको चित्रकला समावेश गरिएका थिए । वन्यजन्तु संरक्षणमा जोड दिँदै तयार गरिएको चित्रकलाहरू प्रदर्शनीमा राखिएका छन्। ‘नेपालका खोलाहरूमा सुन बगिरहेका छन्। सम्बन्धित निकायले वेवास्ता गरिदिएका कारण कलाको माध्यमले झकझकाउने प्रसाय गरेको छु,’ उनले भने।

पानी रंगको प्रयोग गरेर चित्रकार टार्जन साङ्पाङले तयार बनाएको चित्रकला प्रदर्शनीमा राखिएका छन्। त्यस्तै वन्यजन्तु संरक्षणबारे जनचेतना फैलाउन चित्रकार हिम पौडेलले डाँफे, गिद्ध र मयूर लगायतका पंक्षीको चित्रहरू क्यानभासमा उतारेका छन्।

आधुनिक चित्रकला प्रदर्शनी भनिएपनि सबै खालका चित्रहरूलाई समेट्न खोजिएको थियो। प्रदर्शनीमा सोमामा आवद्ध १६ जना कलाकारले नेपाली संस्कृति, प्रकृति, राजनीतिक, सामाजिक र सांस्कृतिकलगायतका विषयमा केन्द्रित रहेर तयार गरेको चित्रकला समावेश गरिएको छ। कलाकार शंकरराजसिंह सुवाल, गोविन्दलालसिंह डंगोल, जीवन राजोपाध्याय, हरि खड्का, शंकरनाथ रिमाल, चिनीकाजी ताम्राकार, हिरालाल डंगोल, कर्ण मास्के, शान्त राई, श्यामलाल श्रेष्ठ, हेम पौडेल, नरेश सैँजु, रमाराज मास्के, कान्ति न्यौपाने, टार्जन साङ्पाङ र रत्नकाजी शाक्यो कलाकृतिहरू प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा २५ हजारदेखि १५ लाख रूपैयाँ मूल्य बराबरका चित्रकला प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी आगामी भदौ ९ सम्म चल्नेछ।

प्रकाशित: ९ भाद्र २०७६ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App