coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुजातालाई ५० लाख दिने निर्णयको विरोध

काठमाडौं- नेकपा एमाले र राप्रपा नेपालका सांसदले कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सरको उपचारका लागि ५० लाख रुपैयाँ दिने सरकारी निर्णयको विरोध गरेका छन् । सोमबार संसद् बैठकको विशेष समयमा एमालेका प्रकाश ज्वाला र यज्ञराज सुनुवार तथा राप्रपा नेपालका दिलनाथ गिरिले रकम दिने निर्णयको विरोध गरेका हुन् ।

सांसद ज्वालाले ५० लाख दिने सरकारी निर्णय भत्र्सनायोग्य भएको बताए । कोइराला र यसअघि पूर्वराष्ट्रपतिलाई ठूलो धनराशि उपचारका लागि उपलब्ध गराइनु आपत्तिजनक भएको उनको भनाइ थियो ।

उनले आफू सभापति रहेको अर्थ समितिबाट पटकपटक उपचार खर्च व्यवस्था व्यवस्थित गर्न दिइएको सुझाव सरकारले लत्याएको बताए । ‘नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि संशोधन गर्न सुझाव दिएका छौं तर गरिएको छैन’, ज्वालाले भने, ‘स्वास्थ्य मन्त्रालयको प्रस्ताव र अर्थको सहमतिमा मन्त्रिपरिषद्बाट निर्णय लिन निर्देशन गरेको छ ।’ उनले कोइरालालाई सहयोग दिन गृहमन्त्रीले ठाडो प्रस्ताव लगेर निर्णय गराएको र प्रधानमन्त्रीले पनि पहल गरेको सुनिएको भन्दै विरोध जनाए । ‘सरकारले छिटोभन्दा छिटो कार्यविधि संशोधन गर्न जरुरी छ’, उनले भने, ‘सिलिङ तोकिनुपर्छ, लाखौं, करोडौं दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।’

ज्वालाले सरकारका प्रवक्ताले पत्रकारको जिज्ञासामा समेत रकम दिने निर्णय भएको विषयमा जबाफ नदिएर लुकाउन खोजेको आरोप लगाए । एमालेकै सुनुवारले पनि आर्थिक सहायता कार्यविधि तत्काल टुंग्याउन आग्रह गरे । उनले पनि उपचारका लागि भन्दै ठूलो धनराशी दिने प्रचलनको विरोध गरे।

राप्रपा नेपालका गिरीले सत्तानजिक रहेका दलका प्रभावशाली नेताहरूलाई राज्यको ढुकुटी रित्याउने गरी सहयोग गर्ने प्रवृत्ति दुःखलाग्दो भएको बताए । ‘भ्रष्टाचारमा कारबाही बेहोरेका खुमबहादुर खड्काजस्ता व्यक्तिलाई समेत दिने गरिएको छ, यो राज्य कोषको दुरुपयोग हो’, उनले भने, ‘औषधि नपाएर जनता मरेको समाचार आएको छ, एउटी महिलाको रोल्पामा उपचार नपाएर ज्यान जान्छ, अर्की एक महिलाले ५० लाख पाउँछे, यसलाई जनताले कसरी लिने हो ?’

गिरिले पूर्व विशिष्टहरूमा पनि भेदभाव भएको आरोप लगाए । ‘पूर्वमन्त्री तुलसी गिरीलाई बैंगलोरमा उपचार खर्चका लागि आग्रह गर्दा राज्यले वास्ता गरेन, गोविन्दबहादुर श्रेष्ठले आर्थिक अभावले उपचार गर्न सकेनन् । उनीहरूका परिवारजनले पटकपटक भन्दा पनि सरकारले सुनेन’, उनले भने, ‘सत्ताका नजिक बस्नेहरूले राज्यको कोष ब्रह्मलुट गर्दा नेपाली जनतालाई पीडा भएको छ ।’ स्वास्थ्यमन्त्री गगन थापाले सस्तो लोकप्रियताका विषय उठाए पनि गम्भीर विषयमा मौन रहेको आरोप गिरीले लगाए ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले स्तन क्यान्सरबाट पीडित कांग्रेस नेतृ कोइरालाको उपचारका लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । उनी उपचारका लागि आइतबार नै सिंगापुर प्रस्थान गरिसकेकी छन् । कोइरालालाई रकम उपलब्ध गराउने सरकारी निर्णयको सामाजिक सञ्जाललगायत चौतर्फी विरोध भइरहेको छ ।

प्रकाशित: ३० कार्तिक २०७३ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App