coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अहिलेसम्म कै उच्च बिन्दुमा सुनको मूल्य

काठमाडौँ- पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला एक हजार रुपैयाँले वृद्धि भई प्रतितोला ७३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

आइतबार छापावाला सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो। आइतबार सुन प्रतितोला एक हजार दुई सयले वृद्धि भएको थियो। यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला एक हजार रुपैयाँका दरले वृद्धि भएको छ। स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ पुगेको छ। आइतबार तेजाबी सुन प्रतितोला ७२ हजार २ सय रुपैयामा कारोवार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ।

स्थानीय बजारमा चाँदीको मूल्य १० रुपैयाँ वृद्धि भई प्रतितोला ८ सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। आइतबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा खरीदबिक्री भएको थियो। गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको हो। साउन महीनामा सुनको मूल्य प्रतितोला सात हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको थियो।

]भदौ महिना लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ। भदौमा छापावला र तेजाबी सुन प्रतितोला दुई हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँ, तेजाबी सुन ६४ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँ, तेजाबी सुन ७१ हजार २ सय रुपैयाँ तथा चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।    

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५३२.७५ अमेरिकी डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो। अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो।

चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ। सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ। दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुश्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ। अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ।रासस

प्रकाशित: ९ भाद्र २०७६ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App