७ वैशाख २०८१ शुक्रबार
समाज

धामीको भरमा चौपायाको उपचार

तेह्रथुम- पशुसेवाका प्राविधिकले गाउँ छाडेपछि तेह्रथुमका पशुपालक किसान चौपायाको उपचारमा धामीझाँक्रीको भर पर्न बाध्य छन्। जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा यतिबेला पशुसेवाका प्राविधिक छैनन्। उनीहरूको अनुपस्थितिमा किसानका चौपायाको उपचार धामीझाँक्रीको भरमा भइरहेको हो।

जिल्लाको लालीगुराँस नगरपालिका–९ सोल्माका किसान श्यामबहादुर लिम्बूले पालेको गोरु बिरामी हुँदा उपचार गर्ने प्राविधिक फेला पार्न सकेनन्। धेरैतिर सम्पर्क गर्दा पनि कोही फेला नपरेपछि उनी धामीको शरणमा पुगे। ‘मर्नुभन्दा बहुलाउनु निको भनेर धामी लगाएँ’, उनले भने, ‘गोरु झन् शिथिल बन्दैछ। के गर्ने गर्ने भएँ।’

स्थानीय सरकार गठनपछि ‘गाउँ–गाउँमा सिंहदरबार आउने’ आशा देखाइएका किसानले यतिबेला पैसा तिरेर पनि पशु प्राविधिकको सेवा पाउन सकेका छैनन्। यस्तो समस्या तेह्रथुमका सबै स्थानीय तहका किसानले भोगिरहेका छन्। समायोजनका नाममा जिल्लाका सबै पशु प्राविधिकलाई धनकुटा सारिएको छ। उनीहरू जिल्लामा नहुँदा किसानका पशुधनको उपचार धामीको भरमा भइरहेको छ। यो समस्याबारे जानकार प्रदेश र स्थानीय सरकार रमिते मात्रै बनेका छन्।

वडा कार्यालयमा सञ्चालित सेवा केन्द्र र जिल्लामा सञ्चालनमा रहेको कार्यालयमा समेत प्राविधिक बस्न छाडेपछि किसानले चौपाया बिरामी र घाइते हुँदा माया मार्ने बाध्यता सिर्जना हुँदैछ। जिल्लाका विभिन्न ठाउँमा सञ्चालनमा रहेका पशुसेवा केन्द्रमा रहेका प्राविधिक गाउँपालिका र नगरपालिकामा समायोजन हुँदा गाउँ बस्न छाडेका छन्। त्यसैले चौपाया बिरामी हुँदा किसान उपायहीन बन्न थालेका हुन्।

यसअघिको जिल्ला पशुसेवा कार्यालय र कृषि विकास कार्यालय परिसर अहिले सुनसान जस्तै भएको छ। जिल्लामा रहेको जिल्ला पशुसेवा कार्यालय र कृषि विकास कार्यालयको कामकाज धनकुटाबाट सञ्चालन हुने भएपछि कृषकको चासोको रुपमा रहेको कार्यालय सुनसानजस्तै भएको हो।

अहिले जिल्लामा किसानहरूले उत्पादन गर्ने कृषिबालीको तथ्यांक र पशुसेवाको बारेमा कुनै तथ्यांक आवश्यक परे कृषि ज्ञान केन्द्र र पशुविज्ञ शाखा धनकुटाले समेत उपलब्ध गराउन नसक्ने अवस्था छ। लामो समयको खडेरीपछि निरन्तर परेको वर्षाले किसानहरूले धान रोपे पनि तेह्रथुममा कति हेक्टरमा धान रोपियो भन्ने तथ्यांकसमेत कृषि ज्ञान केन्द्र धनकुटाले दिन नसक्ने स्थिति छ। एकातिर यस्तो अवस्था छ भने अर्कोतर्फ किसानले पशुसेवाको आधारभूत सुविधा पनि पाउन नसक्ने अवस्था छ।

यसरी चौतर्फी समस्याले आजित बनेका तेह्रथुमको कृषि ज्ञान केन्द्र र पशुविज्ञ शाखा जिल्लाबाटै कृषकहरूलाई सेवा दिनुपर्ने माग राख्दै जिल्लाका कृषकहरूले आन्दोलन सुरु गरेका छन्। स्थानीय सरकार आए पनि किसानका लागि आफ्नो सेवा दिने कार्यालय नआएको भन्दै जिल्लाका किसानहरूले संघर्ष समिति गठन गरेका छन्। जिल्ला कृषक सञ्जालमार्फत उनीहरूले आन्दोलन थालेका हुन्।

कृषकहरूले पहिलो चरणमा प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालय र जिल्लाका सांसदलाई ज्ञापनपत्र बुझाएका छन्। सानो कामका लागि समेत तेह्रथुमका किसान धनकुटा जानुपरेकाले समस्या भएको भन्दै ज्ञापनपत्र बुझाएको जिल्ला कृषक सञ्जालका अध्यक्ष योगेन्द्र गड्तौलाले बताए।

स्थानीय तह नहुँदा सम्पूर्ण काम जिल्लाबाटै प्राप्त हुने गरेको थियो। स्थानीय तह गठन भएपछि चाहिँ अर्को जिल्ला जानुपर्ने अवस्था दुःखद् रहेको भन्दै किसानले यसको अन्त्य गर्न माग गरेका छन्।

सिंहदरबारको अधिकार गाउँमा आउने विश्वासमा बसेका किसानलाई संघीयताले सुविधाभन्दा पनि सास्ती दिएको सञ्जालका सचिव भानुभक्त गजुरेलले बताए। जिल्लाबाटै कृषकहरूले सुविधा पाउनेगरी कृषि ज्ञान केन्द्र र पशुविज्ञ शाखा तुरुन्त जिल्लामै राख्नका लागि प्रधानमन्त्री कार्यालय, मुख्यमन्त्री कार्यालय प्रदेश १ लगायत सबै स्थानीयतहका प्रमुखहरूलाई किसानले ज्ञापनपत्र बुझाएका छन्।

पहिलो चरणको आन्दोलनबाट कृषि ज्ञान केन्द्र र पशुविज्ञ शाखा तुरुन्त जिल्लाबाटै सञ्चालन नभए चरणबद्ध आन्दोलन सुरु गर्ने सञ्जालका अध्यक्ष गड्तौलाले जानकारी दिएका छन्। यसअघि लामो समयसम्म जिल्लाबाटै तत्कालीन कृषि विकास कार्यालय र पशुसेवा कार्यालयबाट सेवा लिँदै आएका किसानले अहिले त्यो सेवा लिन नपाएको गुनासो गर्दै आएका छन्।

प्रकाशित: ९ भाद्र २०७६ ०९:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App