coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती

भीमदत्तनगर- हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विधुत प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विधुत कार्यालयका कर्मचारीको बेवास्ताका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ।     

कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाल विधुत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका कर्मचारीहरु मिटर रिडिङका लागि नआउँदा भीमदत्तनगरपालिका–१८ का स्थानीयबासीहरुलाई विधुत महशुल बुझाउन सकस भइरहेको बताउँछन।     

रिडिङ फाँटमा कर्मचारी अभावका कारण घर–घरमा पुगेर मिटर रिडिङ गर्न समस्या भइरहेको बताइए पनि भएका कर्मचारी पनि चार÷छ महीनामा एक पटक मात्रै रिडिङका लागि आउने गरेको भीमदत्तनगरपालिका–३ भगतपुरका नवराज भण्डारीले बताए।    

“घरमा मिटर रिडिङ नभएको छ महीना बितिसक्यो, समयमा रिडिङ नहुँदा समस्या हुँदैछ, मिटर रिडिङका लागि कर्मचारी यहाँ आउँदैनन् ”, भण्डारीले भने, “विधुत कार्यालयमा गएर आफैँले रिडिङ गराएर महशुल बुझाउनु पर्ने अवस्था छ। त्यतिमात्र नभएर चार/पाँच महीनामा रिडिङ गर्न आए पनि अन्दाजमा तीन महीनाको अङ्क हालेर जान्छन।”    

अन्दाजमा रिडिङ गर्दा कम तिर्नुपर्ने ठाउँमा बढी रकम तिर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। पचास घरधुरी रहेको भगतपुरस्थित भण्डारी टोलमा चार महीनायता मिटर रिडिङ नभएको स्थानीयको भनाइ छ।    

विधुत कर्मचारी समयमै मिटर रिडिङमा नआउँदा जिल्लाभरि समस्या छ। भगतपुरका अर्का स्थानीय भीमराज भण्डारीले तीन महीनायता घरमा मिटर रिडिङ नभएको बताए। उनले पनि विधुत कर्मचारीहरु मिटर रिडिङ गर्न नआउँदा आफैँ कार्यालय धाउनुपरेको जानकारी दिए।     

“एकैचोटि हजारौँ रकम महसुल बुझाउँदा व्ययभार थपिने गरेको छ”, उनले भने, “महशुल समयमा नबुझाउँदा २५ प्रतिशत जरिवाना तिनुपर्ने अर्को बाध्यता छँदैछ।”     

विधुत महशुल बुझाउन पनि सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता लामो समयदेखि यथावत रहेको सेवाग्राहीको भनाइ छ। महशुल बुझाउनका लागि नेपाल विधुत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ‘कुपन सिस्टम’ गरेपनि सेवाग्राहीसमेत नभएको सेवाग्राहीको गुनासो छ। वेदकोट नगरपालिका–९ का भालु रानाले विधुत महशुल बुझाउन दिनभर लाइन बस्नुपर्ने बाध्यता यथावत रहेको बताउछन्। “महशुल बुझाउन यहाँ दुई वटा मात्रै काउन्टर राखिएका छन”, रानाले भने, “काउन्टर कम सेवाग्राही अत्यधिक भए।”     

महेन्द्रनगर बजार, दोधारा चादँनी, झलारी कलुवापुर, कृष्णपुरसम्म महेन्द्रनगर वितरण केन्द्रका ५५ हजार सेवाग्राही छन्। प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख जङ्गबहादुर चन्दले हरेक महीना मिटर रिडिङ गर्नुपर्ने प्रावधान रहे पनि केही दिन ढिलाइ हुने गरेको बताए।     

“रिडिङको सहजताका लागि रुट मिलान कार्य भइरहेको छ”, चन्दले भने, “घरहरु टाढा टाढा हुँदा पनि समस्या हुन्छ।” उनले ग्राहक बढी र मिटर रिडिङ गर्ने कर्मचारीको सङ्ख्या कम भएकाले ढिलाइ हुने गरेको बताए। महेन्द्रनगर वितरण केन्द्रमा मिटर रिडिङमा ३२ कर्मचारी छन्। यस वितरण केन्द्र अन्तर्गत २० क्षेत्र तोकिएका छन्।रासस

प्रकाशित: ९ भाद्र २०७६ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App