४ वैशाख २०८१ मंगलबार
अर्थ

२५ प्रतिशतको वृद्धि डेढ प्रतिशतमा

नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको राउन्डटेबलमा अटो व्यवसायी। तस्बिर नागरिक

काठमाडौं – सरकारको वर्षैपिच्छे फेरिने अस्पष्ट नीति, उच्च कर र महँगो बैंक ब्याजदर लगायत अनगिन्ती कारणले गतवर्ष अटो बजारको वृद्धिदर डेढ प्रतिशतमा खुम्चिएको छ।

अघिल्ला वर्षमा २० देखि २५ प्रतिशतसम्म वृद्धि भएको अटो बजार गत वर्ष डेढ प्रतिशतमा खुम्चिएको व्यवसायीले बताएका छन्।

भोलि (भदौ १०) देखि सुरु हुने नाडा अटो सो–२०१९ को अवसरमा नेपाल रिपब्लिक मिडियाले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा सहभागी व्यवसायीले अटो क्षेत्रमा सरकारको बक्रदृष्टि रहेको धारणा राखे।

नाडाका पूर्वअध्यक्ष अञ्जन श्रेष्ठले नेपाली नागरिकको खर्च गर्ने क्षमता १६ प्रतिशतले बढे पनि अटो बजार वृद्धि नहुनु चिन्ताको विषय भएको बताए। ‘अघिल्लो वर्ष २५ प्रतिशतसम्म बढेको बजारको गत वर्ष एक–डेढ प्रतिशत ग्रोथ भयो,’ श्रेष्ठले भने, ‘बजार बढ्नुपर्नेमा घट्नु सकारात्मक होइन।’

नेपालीले आफ्नो गच्छेअनुसार सवारी चढ्न पाउनुपर्छ। दुई सय ५५ देखि तीन सय २० प्रतिशतसम्म कर लगाउँदा सवारी साधन निकै महँगो भयो।

श्रेष्ठले व्यापार घाटाको बहानामा अटो क्षेत्रमा क्याप लगाउने सरकारी निर्णय राम्रो नभएको बताए। मुलुकको अर्थतन्त्रमा अटो क्षेत्रले ठूलो योगदान गरेकाले यस विषयमा सरकारले सोच्नुपर्ने धारणा राखे। ‘नेपालीले आफ्नो गच्छेअनुसार सवारी चढ्न पाउनुपर्छ,’ उनले भने, ‘दुई सय ५५ देखि तीन सय २० प्रतिशतसम्म कर लगाउँदा सवारी साधन निकै महँगो भयो।’ नेपालमा जस्तो महँगो भन्सार शुल्क विश्वमा नै नभएको श्रेष्ठले दाबी गरे। सार्वजनिक यातायातको क्षेत्र व्यवस्थित नभएकाले निजी सवारी आवश्यक भएको समेत उनले धारणा राखे।

नाडाका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद दुलाल पूर्वाधार विकास नहुँदा बजार विस्तार हुन नसकेको बताउँछन्। अटो मुलुकको अर्थतन्त्रमा योगदान गर्ने फराकिलो क्षेत्र भए पनि सडक पूर्वाधार निर्माणले गति लिन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे। गाडी धेरै भए भन्नेप्रति लक्षित गर्दै दुलालले भने, ‘गाडी बढी भएको होइन, सडक कम भएको हो।’ निजी क्षेत्रले चाहे जस्तो व्यावसायिक वातावरण नबनेको उनले बताए। ‘सडक निर्माणका लागि विनियोजन भएको बजेट पनि खर्च हुँदैन,’ दुलालले भने। नेपालमा सवारी साधनको संख्या ३५ हजारमाथि पुगेको छ भने अटो क्षेत्रले वार्षिक एक सय अर्ब रुपैयाँ हाराहारीमा राजस्वमा योगदान पु-याएको छ।

सवारीमा लगानी गर्न नेपाल राष्ट्र बैंकले कडाइ गर्ने नीति ल्याएपछि असर पुगेको बताउँछन्, व्यवसायी। नाडाका कार्यसमिति सदस्य करण चौधरीले बैंकिङ व्यवस्थाले पनि बजारलाई प्रभावित गरेको बताए। ८० देखि ९० प्रतिशत प्रयोगकर्ताले बैंकबाट ऋण लिएर सवारी किन्ने गरेकाले बैंकको ब्याजदरले समस्या सिर्जना गरेको चौधरीले बताए।

दुईपांग्रे सवारीका लागि उपयुक्त नीति अबलम्बन गर्न नसकेको  नाडाका कार्यसमिति सदस्य अभिक ज्योतिले गुनासो गरे। सवारीको लाइसेन्स लिन आठ–नौ महिना लागे पनि सवारी चालक अनुमति तथा बिल बुक नवीकरण गर्ने समय तुरुन्त तोकिनु व्यावहारिक नभएको बताए।

लुब्रिकेन्ट व्यवसायीले भने चोरी पैठारी भएर लुब्रिकेन्ट आयात हुँदा व्यवसायी मर्कामा परेको बताए। स्पेयर्स पार्टस चोरी पैठारी भएर आउने गरेको नाडाका महासचिव सुनिल रिजालले बताए। चोरी भएर आएका पार्टसको कारण कर तिरेर व्यवसाय गर्ने अप्ठेरोमा परेको उनको धारणा थियो। एक सय रुपैयाँमा खरिद गर्ने लुब्रिकेट्स सामग्री चोरी निकासी गर्नेले ९० रुपैयाँमा ल्याएर बिक्री गरिरहेको बताए। ‘हाम्रो प्रतिस्पर्धा चोरी निकासी गर्नेसँग छ,’ महासचिव भने, ‘चोरी निकासी रोक्न नसक्दा सरकारले पाउनुपर्ने राजस्व गुमाएको छ।’

अन्तक्रियाको पूर्ण पाठ भदौ १०मा..........

सरकारका नीति नियमले अटो क्षेत्र प्रभावित भएको बताए। सामान ढुवानी गर्ने यातायातका साधनलाई भ्याट, कामदारलाई प्यान अनिवार्य, घरधनीले सम्पत्ति कर नबुझाएसम्म व्यवसायीले करचुक्ता नपाउनेलगायत समस्या पनि रहेको बताए। ‘विभिन्न कारणले डुइङ बिजनेस इन्डिकेटर राम्रो छैन,’ रिजालले भने, ‘व्यवसायमा लागत निकै बढेको छ।’

पछिल्लो समय नेपालमा लुब्रिकेन्टको बजार विस्तार हुँदै गएकाले वातावरण बनाए अझ फस्टाउने बताए। नाडाका कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले ३० प्रतिशत लुब्रिकेन्ट्स स्वदेशमा नै उत्पादन हुने बताए। ‘७० प्रतिशत लुब्रिकेन्ट्स आयात भएको छ,’ उनले भने, ‘राज्यले वातारण तयार गरे उत्पादन बढाउन सम्भव छ।’

नाडाले सवारीको बजार विस्तार गर्न मंगलबारदेखि नाडा अटो सो आयोजना गरेको छ। अटो सोमा ९५ वटा स्टल राखिएको नाडा अटो सोका संयोजक निराकार श्रेष्ठले बताए। चारपांग्रे, दुईपांग्रे सवारी, लुब्रिकेन्ट्स, स्पेयर्स पार्टस, ब्याट्री, बैंक, इन्स्योरेन्सका स्टल पनि रहने आयोजकले जनाएको छ।

अटो सो सवारीको बजार अध्ययन गर्ने उपयुक्त थलो भएको नाडाका प्रवक्ता अनुप बरालले बताए। ‘अटो सो समग्र अटो क्षेत्रबारे अध्ययन गर्ने प्लेटफर्म बनेको छ,’ बरालले भने, ‘अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी आयोजना गरेका हौं।’

सोमा टेक्निकल इन्जिनियरिङको बारेमा थुप्रै जानकारी प्राप्त हुने उनले बताए। प्रविधिले ल्याएको परिवर्तनबारे मेलामा जानकारी पाइने उनको भनाइ छ। ‘विश्वविद्यालयका विद्यार्थी पनि मेलामा आएर आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रुपमा अभ्यास गर्न  पाउँछन्,’ उनले भने, ‘नयाँ विषयमा अनुसन्धान गर्न पनि सघाउ पुग्छ।’ नाडा अटो सोले सवारीको बजार चलायमान हुने उनले बताए।

प्रकाशित: ९ भाद्र २०७६ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App