coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रहरीद्वारा गोली र पानीको फोहोरा प्रहार

सरकार विरोधी प्रदर्शमा सहभागी भएका प्रदर्शनकारीमाथि बल प्रयोग गर्दै हङकङ प्रहरी

हङकङ – हङकङमा आइतबार आयोजित सरकार विरोधी प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलक्षित गोली र पानीको फोहोरा प्रहार गरेको छ। गत जुन महिनादेखि निरन्तर रूपमा चलिरहेको हङकङ प्रदर्शनका क्रममा पहिलो पटक प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरेर गोली प्रहार गरेको हो।

आइतबारको प्रदर्शनमा एकजना प्रहरी अधिकारीले गोली प्रहार गरेको बताइए पनि लौरो बोकेर प्रहरीलाई लखेटिरहेका प्रदर्शनकारीलाई अन्य प्रहरी अधिकारीहरुले पनि बन्दुक ताकिरहेको तस्बिर सार्वजनिक भएका छन्।

आइतबार दिउँसो भएको सरकार विरोधी प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको पनि तस्बिर बाहिरिएका छन्। प्रदर्शन हङकङको सुएन वान जिल्लाबाट सुरु भएको थियो र सिम सा सुई जिल्लातर्फ फैलिएको थियो।

हङकङको प्रदर्शनलाई चीनले भने आतंकवादी गतिविधिको संज्ञा दिएको छ। बढ्दो तनावकै बीच चीनले हङकङनजिकैको सेन्झेन सहरमा हजारौं सशस्त्र सुरक्षा फौज तैनाथ गरेको छ।

सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो। विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयकलक्षित हुनसक्ने भन्दै प्रदर्शन सुरु भएको थियो।
कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो। यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन्।

प्रदर्शन जारी रहेपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले माफीसमेत मागेकी थिइन्। तर पछिल्लो समयको प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुन थालेको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्।

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

हङकङको प्रदर्शनलाई चीनले भने आतंकवादी गतिविधिको संज्ञा दिएको छ। बढ्दो तनावकै बीच चीनले हङकङनजिकैको सेन्झेन सहरमा हजारौं सशस्त्र सुरक्षा फौज तैनाथ गरेको छ। निरन्तर १२ सातासम्म चलिरहेको हङकङ प्रदर्शनमा पहिलो पटक आइतबार गोलीसमेत प्रहार भएको हो।

प्रहरीले भने प्रदर्शनकारीलाई चेतावनीस्वरुप मात्रै गोली प्रहार गरिएको र प्रदर्शनकारीसँगको झडपका कारण घाइते भएका आफ्ना कैयौं अधिकारीलाई अस्पताल लगिएको जनाएको छ। प्रहरीसँग झडप सुरु भएपछि कालो पहिरनमा उत्रिएका प्रदर्शनकारीले प्रहरीमाथि इँटा र पेट्रोल बमसमेत प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ।

प्रहरीमाथि नै प्रदर्शनकारी जाइलागेपछि प्रहरीले रबरका गोली र अश्रुग्यासका साथै पानीको फोहोरा प्रहार गर्न दुईवटा ट्यांक प्रयोग गरेको बताइएको छ। यसै महिनाको सुरुवातमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले प्रदर्शनकारीलाई पानीको फोहोरा प्रहार गर्दा त्यसले जटिल घाइते बनाउन सक्ने र त्यसले थप तनाव वृद्धि हुनसक्नेतर्फ सचेत गराएको थियो।

प्रहरी र प्रदर्शनकारीबीच झडप भएको समाचार बाहिरिँदै गर्दा हङकङकै अर्को क्षेत्रमा भने आइतबार नै शान्तिपूर्ण ¥यालीसमेत आयोजना भएको बिबिसीले उल्लेख गरेको छ। यस्तो ¥यालीमा केही सहभागी प्रहरीको परिवारबाट पनि आएको बताइएको छ। उनीहरुले हङकङमा १२ सातादेखि जारी तनावको राजनीतिक समाधान खोज्न दबाब दिने उद्देश्यले ¥यालीको आयोजना गरेको बिबिसीले उल्लेख गरेको छ।

लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि प्रहरी कडा भएको भन्दै केही अधिकारवादीहरुले हङकङ प्रशासनको विरोध गरेका छन्। शनिबारको प्रदर्शनका क्रममा पनि प्रहरीसँगको झडपका कारण सैयौं मानिसलाई अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित: ९ भाद्र २०७६ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App