७ वैशाख २०८१ शुक्रबार
समाज

बर्दियामा बाघ आतंक, दुई जनाको ज्यान गयो

बर्दिया - आइतबार बिहान ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बजारका ७० वर्षीय पहारी थारुलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघले आफ्नै घरमा आक्रमण ग¥यो। सुँगुरलाई कुडो (खाने कुरा) दिन गएका बेला पाटे बाघले आक्रमण गर्दा थारुको घटनास्थलमा मृत्यु भएको थियो। घटनास्थल हेर्दा पाटे बाघले मृतकको गर्धनमा दारा धसेर रगत चुसेको देखिन्छ।

यस्तै गेरुवा गाउँपालिका–४ स्थित गोलाका महिलाको समूह बिहीबार जंगली करेला टिप्न कर्णाली नदीको गेरुवा भँगालोमा पुगेको थियो। समूहबाट ५६ वर्षीया रामकली शाही हराइन्। समूहका अन्य महिला खोज्दै जाँदा पाटे बाघले शाहीलाई घिसार्दै थियो। शाहीलाई ५० मिटर दुरीमा लगेर रगत चुसेर बाघ भागेको प्रत्यक्षदर्शीको भनाइ छ। तीन दिनको अन्तरमा बाघको आक्रमणमा दुई जनाको मृत्यु भएको छ।

लगातार बाघको आक्रमणपछि आत्तिएका मध्यवर्ती क्षेत्रका सर्वसाधारण पुनः बाघको आक्रमणमा पर्ने त्रासमा छन्। स्थानीयका अनुसार बस्तीनजिकै पाटे बाघ बसेको छ। तीन दिनको अन्तरालमा बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। उनका अनुसार सातामै पाटे बाघबाट दुई पटक आक्रमण भएको यो पहिलो घटना हो। बाघविज्ञका अनुसार एकपटक मान्छेका रगत चुसेको बाघ नरभक्षी बन्ने खतरा हुन्छ। बाघको आक्रमणपछि बस्ती त्रसित बनेको गेरुवा गाउँपालिकाकी शिक्षिका लक्ष्मी पन्थीले बताइन्।

बाघको अनुगमनपछि नियन्त्रणमा लिने प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। ‘बाघले आक्रमण किन ग-यो भन्ने हामीलाई लागेको छ,’ उनले भने, ‘बाघ सुत्केरी, अशक्त र बुढो भएकाले आक्रमण गरेको पनि हुन सक्छ।’ गेरुवा गाउँपालिका–४ मा शुक्रबारदेखि निकुञ्जबाट क्यामरा राखेर बाघको अवस्था जानकारी लिन प्राविधिक टोली परिचालित भएको छ। सो टोली मान्छे खाने बाघको तस्बिर कैद गर्न सफल भए पनि बाघ बुढो, वयस्क वा सुत्केरी के हो भन्ने पत्ता लाग्न सकेको छैन। बाघको टाउकाको तस्बिर मात्र कैद भएको शाहीको घटनास्थलमा खटिएका एक प्राविधिकले बताए। ‘क्यामरामा बाघको टाउको मात्र कैद भएको छ,’ ती प्राविधिकले भने, ‘यसबाट मात्र सबै कुरा थाहा हुन गाह्रो भएको हो।’

बस्तीका कसैलाई पनि घाउचोट लागेको भए औषधि उपचार गर्ने वा अन्यत्र स्थानान्तरण गर्नेबारे योजनासहित परिचालित भएको टोलीले बाघको व्यवस्थापन गर्ने प्रमुख संरक्षण अधिकृत बरालले बताए। पछिल्लो समय पूर्वपश्चिम राजमार्ग र मध्यवर्ती क्षेत्रमा बाघ देखिने गरेको स्थानीय बताउँछन्। सन् २००८ को गणनाअनुसार बर्दिया निकुञ्जमा १४ वटा बाघ थिए। सन् २०१३ को गणनामा निकुञ्जमा ३७ वटा बाघ भए। २०१८ मा बाघको संख्या ८७ पुगेको छ।

पछिल्लो समय वन्यजन्तुले मानव र वन्यजन्तुबीच बढ्दै गइरहेको द्वन्द्वले वन्यजन्तु संरक्षणमा चुनौती बढेको छ। वन्यजन्तुले बेलाबेलामा गाउँघरमा पसेर गर्ने बिठ्याइँ र मानिसले आफूहरूलाई बचाउ गर्ने प्रयासले वन्यजन्तु संरक्षण चुनौती बढेको संरक्षणकर्मीले औंल्याएका छन्।

बर्दियामा २०४९/५० मा मात्र पाटे बाघले ६ वटा मानिसलाई आक्रमण गरी मारेको निकुञ्जको तथ्यांक छ। मान्छे मार्न थालेपछि उक्त बाघलाई निकुञ्ज प्रशासनले काठमाडौंको जाउलाखेलस्थित सदर चिडियाखानामा पठाएको थियो। २०५३ सालमा सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरेपछि अहिलेसम्म बाघले आठजनाको ज्यान लिइसकेको छ। बर्दियाको मध्यवर्ती क्षेत्रमा पर्ने शिवपुरको मोतीपुर, गोला, मनाउँ, सूर्यपटुवा र भुरीगाउँ क्षेत्रका मानिस बाघको आक्रमणमा पर्ने गरेका छन्।

यसैबीच बाघको आक्रमण दोहोरिन सक्ने आंशकामा सचेत रहन प्रशासनले विज्ञप्तिमार्फत आग्रह गरेको छ। मध्यवर्ती क्षेत्रमा बाघबाट बच्न र सचेत रहन नागरिकलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।

प्रकाशित: ९ भाद्र २०७६ ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App