coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चिकित्सकले सामूहिक राजीनामा दिएपछि सेवा प्रभावित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान। तस्बिर:नागरिक

दाङ - जिल्लास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले चरम विवादमा छ। कार्यरत २१ जना चिकित्सक (डाक्टर) ले एकैसाथ राजीनामा दिएपछि प्रतिष्ठानमा अर्को विवादको शृंखला दोहोरिएको छ। केही दिनअघि मात्रै २१ जना डाक्टरले सामूहिक राजीनामा दिएको घोषणा गरेका थिए। नेपाल सरकारबाट नियुक्त चिकित्सक तथा प्रतिष्ठान आफैंले करारमा नियुक्त गरेका चिकित्सकसहित २१ जनाले संयुक्त राजीनामा दिएका थिए।

संघीय सरकारमार्फत नियुक्त १२ चिकित्सकलाई राजीनामा स्वीकृतिका लागि प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयमा पहल गर्न आग्रह गरेको छ भने प्रतिष्ठान स्वयंले करारमा नियुक्त गरेका ९ जना मेडिकल अधिकृतलाई सीधै बर्खास्त गरेको छ। प्रतिष्ठानका अनुसार गत बिहीबार बेलुका सामूहिक राजीनामा घोषणा गरेका चिकित्सक काममा नफर्किएपछि प्रतिष्ठानले ‘एक्सन’ लिएको रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए।

प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीको ज्यादती सहन नसकेको उल्लेख गर्दै २१ जना चिकित्सकले सामूहिक राजीनामा दिएका कारण उपचार सेवा प्रभावित भएको हो।

‘हामीहरुले डाक्टरको सामूहिक राजीनामापत्र शनिबार मात्रै पायौं र उहाँहरुलाई काममा फर्कन आग्रह पनि ग-यौं,’ उनले भने, ‘तर उहाँहरु काममा नफर्किएपछि केन्द्र सरकारबाट खटिएका डाक्टरहरुलाई आफूहरुको राजीनामा स्वीकृतिका लागि मन्त्रालयमा पहल गर्न सुझाएका छौं भने प्रतिष्ठानले करारमा नियुक्त गरेका ९ जना मेडिकल अधिकृतको राजीनामा स्वीकृत गर्दै करार सम्झौता भंग गरेका छौँ।’ उनका अनुसार संघीय सरकारमार्फत खटिएका चिकित्सकको राजीनामा स्वीकृत गर्ने अधिकार प्रतिष्ठानलाई हुँदैन। स्वास्थ्य मन्त्रालयले नै उनीहरुको राजीनामा स्वीकृत गर्ने या के गर्ने भन्ने विषयमा निर्णय लिन्छ। २१ जना चिकित्सकले सामूहिक रुपमा प्रतिष्ठान प्रशासनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका कारण उपचार सेवा प्रभावित भएको छ।

‘स्वास्थ्य उपचार जस्तो संवेदनशील विषयमा पनि उहाँहरुले खेलाँची गरेजस्तै भयो,’ रजिष्ट्रार प्याकुरेले भने, ‘प्रतिष्ठानमार्फत नियुक्त चिकित्सकले करार सम्झौता तोडेकाले उनीहरूको राजीनमा स्वीकृत गरेका छौं। संघीय सरकारमार्फत खटिएका १२ जना चिकित्सकलाई भने काममा फर्किन आग्रह गरेका छौं, नभए स्वास्थ्य मन्त्रालयमा सम्पर्क राख्न भनेका छौं। सम्भवतः उहाँहरु काममा फर्किनुहुन्छ।’

करार सम्झौता भंग भएका चिकित्सकलाई प्रतिष्ठानले राजीनामा दिनुपर्नाको कारणबारे लिखित रुपमा सोधेको थियो। तर उनीहरुले कुनै प्रतिक्रिया नदिएपछि राजीनामा स्वीकृत गर्न बाध्य भएको प्याकुरेलले बताए। ‘उहाँहरुको राजीनामापत्र पाएपछि राजीनामा दिनुपर्नाको कारणबारे लिखित रुपमै सोधियो तर कुनै जवाफ नआएपछि स्वीकृत गर्न प्रतिष्ठान बाध्य भएको हो।’

सामूहिक राजीनामा दिएका चिकित्सकले आफूहरु प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीको ज्यादतीका कारण काम गर्न नसक्ने जनाउँदै राजीनामा दिएको घोषणा गरेका छन्। उपकुलपति भण्डारीले बारम्बार डाक्टरलाई स्पष्टीकरण सोध्ने, जागिर खाइदिने धम्कीसम्म दिने गरेको भन्दै उनीहरुले शारीरिक तथा मानसिक रुपमा पीडत हुनुपरेको राजीनामापत्रमा उल्लेख गरेका छन्। हालै मात्रै उपकुलपति भण्डारीले केही चिकित्सकलाई लान्छना लगाई बर्खास्त गर्न खोजेकोसमेत उनीहरुले राजीनामापत्रमा लेखेका छन्।

चिकित्सकले सामूहिक राजीनामा दिएपछि प्रतिष्ठानका पदाधिकारीविरुद्ध केही संघसंस्था चिढिएका छन्। प्रतिष्ठानका उपकुलपति भण्डारीको विरोधमा रहेका उनीहरुले भण्डारीको राजीनामा माग गरेका छन्। ‘प्रतिष्ठान बचाउ अभियान’ का नाममा संगठित भएका उनीहरुले भण्डारीको राजीनामा मागेका हुन्।

स्थापना कालदेखि नै प्रतिष्ठान विवादित बन्दै आएको छ। प्रतिष्ठानको पहिलो सिनेट बैठक नै केही सरोकार राख्ने निकायका प्रतिनिधिले बहिष्कार गरेका थिए। कुनै सरसल्लाह नै नगरी सिनेट बैठक काठमाडौंमा बोलाइएको भन्दै घोराही उपमहानगरपालिकाका मेयर, जिल्ला समन्वय समितिका संयोजकलगायतले उक्त बैठक बहिष्कार गरेका थिए।
साबिकको राप्ती उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठानमा गाभ्ने अर्को निर्णयले पनि प्रतिष्ठानलाई विवादमा तानेको थियो। साबिकको उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठानमा गाभ्न हुने र नहुने भन्नेमा त्यो बेला दुई स्वास्थ्य निकायबीच जुहारी नै चलेको थियो।

यसैगरी उपचार सेवा महंगो बनाएको भन्दै प्रतिष्ठान आलोचित बन्न पुग्यो। साबिक राप्ती उपक्षेत्रीय अस्पतालले प्रदान गर्दै आएको निःशुल्क उपचार सेवामा महंगो शुल्क लगाएको भन्दै प्रतिष्ठानको आलोचना भएको थियो। उपकुलपति भण्डारीको एकल निर्णयका कारण नै प्रतिष्ठान विवादामा तानिएको आरोप छ। तर प्रतिष्ठानका अधिकारीका अनुसार प्रतिष्ठानलाई बदनाम गर्ने एउटा समूहले पटकपटक विभिन्न विषय उठाएर विवादमा तान्न खोजेको रजिष्ट्रार प्याकुरेलले बताए। ‘प्रतिष्ठानका हुँदै नभएका कुरा बाहिर प्रचारमा ल्याएर यो संस्थालाई बदनाम गर्न खोजिएको छ,’ उनले भने, ‘प्रतिष्ठानको सही कामभन्दा पनि गलत कामको खोजी भैरहेको छ।’

प्रकाशित: ९ भाद्र २०७६ ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App