तिर्खाले रित्तिएको बस्ती

सोमबार, ०९ भदौ २०७६, ०६ : ३३ नागरिक

सन्तोष पोखरेल/श्रीहरि पौडेल
तनहुँ - रेवती आलेमगर (५८ वर्ष) व्यास नगरपालिका–५ मानहुँमा २०३२ सालदेखि बस्न थालेकी हुन्। १४ वर्षमै विवाह भएर घर सम्हाल्न मानहुँ उक्लेकी उनलाई सुरुताका घर चिन्नै मुस्किल थियो। ‘बिहे भएको केही दिनपछि घाँस बोकेर फर्किंदै थिए, झुक्केर अर्कैको घरमा छिरेछु,’ विगत सम्झँदै रेवतीले भनिन्, ‘चारैतिर गुजुमुज्ज परेका घुमाउने घर, सानो गोरेटोबाट भित्रिनुपर्ने, आफ्नो ठानेर अर्कैकोमा छिरेछु। पछि बल्ल आफ्नो घर चिनेर फर्किएँ।’

रेवती अहिले पनि त्यही गाउँमा बस्छिन्। तर उनलाई झुक्याउने कुनै घर त्यहाँ बाँकी छैनन्। बरु उनी एक्लिँदै गएकी छन्। रेवतीले विवाह गरेर गाउँ पुग्दा मानहुँको त्यो बस्तीमा ७० घर थिए, अहिले जम्मा सात घर छन्। ती पनि कति बेला भत्किने हुन्, असाध्य जीर्ण छन्। तर पनि जसोतसो मान्छे बसेका छन्।

‘यहाँ सबै घुमाउने घर थिए। म विवाह गरेर आउँदा ७० घर थिए,’ रेवतीले विगत सुनाइन, ‘अहिले त एक्लै पो हुन थालेकी छु। हिजोका घुमाउने घरको अहिले नामनिसानै छैन। सिंगो बस्ती नै झाडीमा हराइसकेको छ। जसोतसो अडिएका घर पनि जीर्ण छन्। कुन बेला भत्किने हुन् भन्ने अवस्था छ। तर पनि बुढाबुढी बसेका छन्।’

गृहिणीहरु राति १ बजे नै पानीका लागि मुहान जान सुरु गर्थे। मध्यरातमा पानी बोक्न हिँडेका गृहिणीले चप्पल बालेर उज्यालो बनाँउदा गाउँ नै झिलिमिली देखिन्थ्यो। तर यो कष्ट सहन नसकेपछि बिस्तारै गाउँ रित्तियो ।

उनी अहिले घरमा एक्लै बस्छिन्। दुई छोरा बेसी (तनहुँ सदरमुकाम दमौलीनजिकै) बस्छन्। छोरी विवाह गरेर गइन्। पति बिरामी परेर बेसीमै झरेका छन्। ‘सबैजसो छिमेकी बेसी झरिसके, मचाहिँ जसोतसो गाउँमै अडिएकी छु,’ उनले भनिन्, ‘जाने ठाउँ त थियो तर मन मानेन, यहींको बसाइ प्यारो लाग्छ। फेरि चटक्कै घरबारी छाडेर हिँड्न पनि मिलेन।’

व्यास नगरपालिका–५ का अध्यक्ष मोहनकुमार श्रेष्ठका अनुसार बाजेको पाला (झन्डै पाँच दशकअघि) सम्म मानहुँ क्षेत्रमा झन्डै ७ सय घर थिए। मानहुँको डाँडामा मात्र ७० घर थिए। पछि सबैजसो गाउँले बसाइँ सरे। अधिकांश दमौलीनजिकैको पाटन झरे, केही दमौलीभन्दा बाहिरै गए। गाउँ रित्तिनुको मूल कारण थियो– खानेपानीको चरम अभाव।

‘खानेपानी समस्याले गर्दा मानहुँमा बस्ती टिकेन। बाजेका पालासम्म बाक्लो बस्ती थियो तर पानीको चरम अभावले गाउँ नै बसाइँ स¥यो,’ श्रेष्ठले भने, ‘अहिलेको जत्तिको विकास त्यो बेला कसैले सोचेका पनि थिएनन्। हिँडेर गाउँ उक्लिँदा घन्टौं लाग्थ्यो, चुचुराको त्यो बस्तीसम्म सहज पहुँच थिएन। अनि पानीको समस्या उस्तै थियो।’ श्रेष्ठका अनुसार त्यो बेला पनि पानीको अभाव त उस्तै थियो तर गाउँलेले जसोतसो गाग्रोमा बोकेरै काम चलाएका थिए। अहिलेसम्म पनि त्यो समस्या सुल्झेको छैन। ‘पानी अभाव त अहिले पनि उस्तै छ। तर अहिले बस्ती कम भएपछि संकलित अकासे पानीले पुगेको छ,’ उनले भने, ‘बाजेका पालामा पानी बोकेरै पु¥याएका थिए। सबैभन्दा बढी समस्या डाँडाका बासिन्दालाई थियो र अहिले पनि छ।’

रेवतीको अनुभवमा गृहिणीहरु राति १ बजे नै पानीका लागि मुहान जान सुरु गर्थे। मध्यरातमा पानी बोक्न हिँडेका गृहिणीले चप्पल बालेर उज्यालो बनाँउदा गाउँ नै झिलिमिली देखिन्थ्यो। ‘बिहान हुँदा जसोतसो घरमा दुई गाग्रो पानी भित्रिन्थ्यो। त्यो कष्ट सहेर हामी यहाँ अडिएका हौं,’ उनले सुनाइन्, ‘गाउँतलको सपाङ्दी, भीरपानी, धाराडी पुगेर पानी बोकेर ल्याउनुपथ्र्याे। त्यही दुःख सहन नसकेर गाउँले बसाइँ सरे।’

उनका अनुसार पानीको साह्रै अभाव रहेको त्यो गाउँमा विवाह गरेर छोरी दिन बा–आमाले गाह्रो मान्थे। ‘पानी बोक्नाको सकस थाहा पाएका बाआमाले त्यो गाउँमा छोरी दिन समेत मानेका थिएनन्,’ उनले भनिन्, ‘केही गरी विवाह भइहालेमा छोरीले घर खान्छे की खाँदिन भन्ने चिन्ता अभिभावकलाई हुन्थ्यो। अहिले पनि पानीको अभाव उस्तै छ। तर बस्ती घटेपछि अकासे पानीले गर्जाे टरेको छ।’

गाउँमा खानेपानी अभाव भएपछि अकासे पानी संकलनका लागि ट्यांकी बनाइएको थियो। त्यसमै संकलित पानीले त्यहाँका बासिन्दाको दैनिकी चलेको छ। समुद्री सतहदेखि ११ सय मिटर उचाइमा पर्ने गाउँमा पानी लैजान नजिक स्रोत छैन। गाउँभन्दा तलका कुवाको पानी बोकेर गुजारा चल्दै आएको छ। ‘हामीले पानीको अभाव भोगेरै जिन्दगी बिताउने भयौं,’ अर्की वृद्धा बाटुला मगरले भनिन, ‘पानीकै दुःखले गाउँ रित्तियो। गाउँमै अडिएका हामीले अहिले अकासे पानीको भरमा गुजारा गरेका छौं।’

गाउँका घरघरमा अकासे पानी संकलनका लागि ट्यांकी बनाइएको छ। स्थानीय विद्यालयको पानी पनि संकलन हुनेगरी ट्यांकी बनाइएको छ। अकासे पानी त्यही ट्यांकीमा संकलन हुन्छ। हरेक दिन बिहान सात घरका बासिन्दाका लागि वितरण हुन्छ। ‘अहिले त जम्मा सात घरमा मान्छे बस्छन्। त्यसले गर्दा अकासे पानी बाह्रैमास पाइन्छ,’ बाटुलाले भनिन्, ‘पहिलेकै जति बस्ती हुन्थ्यो भने त अकासे पानीले कहाँ धान्नु। अहिले घर पनि थोरै, मान्छे पनि निकै कम छन्। त्यसले गर्दा पानी पुगेको छ।’

व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेका अनुसार ५ लाख रुपैयाँ खर्चेर धारापानीमा ट्यांकी बनाइएको छ। पाइपबाटै गाउँसम्म पानी पु-याउने स्रोत छैन। भएको कुवा पनि मेटिएला भनेर संरक्षण गरिएको छ। ‘हामीले गाउँमा खानेपानीको वैकल्पिक स्रोत खोजिरहेका छौं। केही विकल्प नभए सेती वा मादी नदीबाटै लिफ्टिङ गरेर पानी उकाल्न सकिन्छ कि भनेर अध्ययन गरिरहेका छौं,’ न्यौपानेले भने, ‘हिजो बाक्लो बस्ती रहेको मानहुँ अहिले बस्तीविहीन बनेको छ। हामीले यो गाउँमा पूर्वाधार थपेर पहिलेकै जस्तो बाक्लो बस्ती बसाउने योजना बनाएका छौं।’

कालोपत्रे सडकले मानहुँलाई छुनै थाले पनि पानीको अभाव उस्तै रहेको मेयर न्यौपानेले बताए। ‘पानी उकाल्न सकियो भने यो गाउँमा पर्यटनको पर्याप्त सम्भावना छ,’ न्यौपानेले भने, ‘पहिलेकै आकारमा बस्ती बसाउन सकियो भने त्यसले पर्यटनमा लाभ दिन्छ।’ पहिलेकै आकारका बस्ती बसाए पनि अबको बसाइ भने व्यवस्थित तरिकाको हुने उनले सुनाए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad