७ वैशाख २०८१ शुक्रबार
समाज

नयाँ गाडी नचढ्ने उपमेयरको घोषणा, एम्बुलेन्स किन्ने निर्णय

कटारी– गाउँका सिंहदरवारका जनप्रतिनिधिबीच कसले बढी सेवा सुविधा लिने भन्ने होड चलिरहेको समाचार आइरहँदा उदयपुरको कटारी नगर उपप्रमुख भिमकुमारी राउतले सुविधाको गाडी नचढ्ने घोषणा गरेकी छिन् । नगरपालिकाको गत असार दोस्रो साता सम्पन्न चौथो नगरसभाले उपप्रमुखका लागि छुट्टै गाडी (जिप) खरिद गर्ने निर्णय गरे अनुसार खरिदको प्रक्रियामा जान लाग्दा राउतले गाडी सुविधा नलिने निर्णय गर्दै सो रकमबाट एम्बुलेन्स किन्न सुझाएकी हुन्।

उपप्रमुख राउतले नगरपालिकालई विरामी बोक्ने एम्बुलेन्सको खाँचो भईरहेका बेला किन फाल्टो गाडी किन्नु प¥यो भन्दै सो बजेटबाट एम्बुलेन्स किनेर सुत्केरी महिला, गरिव, असहाय र बालबालिकाको उपचार सेवामा लगाउन प्रस्ताव गरेकी हुन्। नगरबासी जनता अस्पताल जान÷आउन एम्बुलेन्स नपाईरहेका बेला सुविधाको गाडी किन्न नहुने भन्दै उनले एम्बुलेन्स भाडा तिर्न नसकिरहेका जनताको सेवामा लगाउन अडान राखेकी छिन्। एकपछि अर्को सुविधा जनप्रतिनिधिलाई नचाहिने भन्दै उनले अलग्गै गाडी किन्ने पैसाबाट एम्बुलेन्स किन्न सुझाएकको नगरपालिकाका प्रवक्ता कृष्णराज दनुवारले बताए।

‘अर्को गाडी किन्न छुट्याइएको पैसाले एम्बुलेन्स किनियोस्’ गत शुक्रबारको नगर कार्यपालिका बैठकमा राउतको प्रस्ताव उद्धृत गर्दै दनुवारले भने ‘सुत्केरी महिला, अपाङ्ग, अनाथ, गरिव, असहाय र बालबालिका विरामी हुँदा अस्पताल लान÷ल्याउन सहयोग पुग्छ।’ उनकै  प्रस्तावि अनुसार कार्यपालिका बैठकले गाडी किन्न छुट्याइएको पैसाले एम्बुलेन्स किन्ने निर्णय गरेको कटारी ४ का वडाध्यक्षसमेत रहेका प्रवक्ता दनुवारले बताए। 

गाडी किन्न चौथो नगरसभाले ४० लाख रुपैंया विनियोजन गरेको छ। तर, शुक्रबारको बैठकले गाडीको साटो एम्बुलेन्स किनेर कटारी अस्पतालमार्फत सञ्चालन गर्ने निर्णय गरेको उनले बताए। स्वास्थ्य संस्थामा सुत्केरी महिलालाई निशुल्क घरसम्म ल्याउन पु-याउन सो एम्बुलेन्स प्रयोग गरिने निर्णय भएको उनले बताए। ‘काम चलाउ पुराना गाडीहरु छँदैछन्, त्यसैमा हामी हिडौं भन्ने हो’ उपमेयर राउतले भनिन् ‘नयाँ गाडी किन्ने पैसाले एम्बुलेन्स किनेर सुत्केरी महिला, अपाङ्ग, असहाय र बालबालिकालाई निशूल्क सेवा दिऔं, अन्यलाई व्यवस्थापन गरेर सेवा दिनुपर्छ भन्ने मेरो भनाई हो।’  

एम्बुलेन्स किनेर बाँकी रकम नगरको पर्यटन विकासमा खर्च गर्न उनले सुझाएकी छिन्। पहाडी भेगका वडाहरुलाई समेटेर कार्यक्रम गर्नुपरे सभाहलको खाँचो रहेको बेतिनीमा सभाभवन बनाउन उनको प्रस्ताव छ। बेतिनीमा स्थानीयतह पुनर्संरचना हुनु अगावै निर्माण सुरु भएको पर्यटन केन्द्र भवन वजेट अभावमा अलपत्र अवस्थामा रहेकाले बाँकी पैसा त्यसैमा लगाउन उनको जोड छ। जनताको सेवा गर्ने कसम खाएर निर्वाचित जनप्रतिनिधिलाई विलासी गाडी चढ्न शोभा नदिने अडान पनि राउतले लिएकी छिन्। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले मेयर उपमेयरले चढ्दै आएको गाडी पुरानो भएकाले एउटा जीप खरिद गर्ने निर्णय नगरसभाबाट भएकोमा हाललाई नकिन्ने निर्णय भएको बताए। उनले बैठकले गाडीभन्दा एम्बुलेन्स किन्न जरुरी देखिएकाले अहिलेलाई एम्बुलेन्स नै किन्ने निर्णय भएको बताएका छन्। मेयर उपमेयर चढ्ने गाडी भए पनि कर्मचारी चढ्ने अलग्गै गाडी भने नभएको भन्दै अर्यालले अन्य नगरपालिकाजस्तो आफुले छुट्टै गाडी नचढेको बताए। 

‘धेरै स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृतहरु अलग्गै गाडी चढिरहेका छन्’ अर्यालले भने ‘तर, म चढेको छैन र गाडी चाहियो भनेको पनि छैन। आक्कलझुक्कल काम पर्दा नगरपालिकाकै गाडी चढ्ने हो, तर हाकिमकै लागि भने र अलग्गै गाडी छैन । मलाई चाहियो नै भनेर जिकिर पनि गरेको छैन।’ नगरपालिकासँग एउटा नयाँ र एउटा पुरानो जीप, वडाध्यक्ष तथा कर्मचारीलाई मोटरसाईकल, फोहोर उठाउने ट्याक्टर तथा दमकल रहेको बताउने अधिकृत अर्यालले अहिलेसम्म नभएको एम्बुलेन्स अव किनर अस्पतालमार्फत सञ्चालनमा ल्याइने बताए। 

प्रकाशित: ८ भाद्र २०७६ १६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App