८ वैशाख २०८१ शनिबार
समाज

सुत्केरीलाई नि:शुल्क एम्वुलेन्स सेवा

गोरखा- अजिरकोट गाउँपालिकाका महिलाहरुले सुत्केरी हुन पालिका भित्रको स्वास्थ्य संस्था जाँदा र फर्कँदा निशुल्क एम्बुलेन्स पाउँने भएका छन्।

भच्चेक र सिम्जुङ स्वास्थ्य चौकीको दुईवटा एम्बुलेन्सलाई गाउँपालिकाले सुत्केरी हुन स्वास्थ्य संस्था आउजाउ गर्ने महिलाहरुसँग भाडा नलिन र उक्त विवरण पेश गरेपछि पालिकाबाट भाडा दिने निर्णय गरेको हो।

असार ४ गते बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको अजिरकोट गाउँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङले भनिन् ‘चार जनाले सेवा लिईसक्नुभएको छ। ५ वटा वडा रहेको अजिरकोटमा वार्षिक चार सय १२ जना सुत्केरी हुने अनुमान स्वास्थ्य शाखाले गरेको छ।

गत वर्ष भने एक सय ५० जनाले मात्रै अजिरकोट गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा प्रसुती सेवा लिएका छन्। बालुवा बर्थिङ सेन्टर र अन्य पाँचवटा स्वास्थ्य संस्थामा प्रसुती सेवा छ। अहिले पनि ३० प्रतिशत महिला घरैमा सुत्केरी हुने गरेको स्वास्थ्य शाखाका प्रमुख सुरेश दवाडीले बताए। ‘गाउँपालिको पाँच हजारको कोसेली, एम्बुलेन्स भाडा, सरकारले दिने प्रसुती भत्ताले यस वर्ष स्वास्थ्य संस्थामा जोखिम रहित सेवा लिने बढ्नेछन्’उनको भनाइ छ।

केही घरैमा सुत्केरी हुने, कोही बाहिरको स्वास्थ्य संस्थामा जान्छन्’ उपाध्यक्ष गुरुङले भनिन् ‘घरैमा सुत्केरी हुने दर घटाउन यस वर्ष देखि ‘माईतिको कोसेली’ कार्यक्रम पनि ल्याएका छौँ।’ स्वास्थ्य संस्थामा गर्भजाँच गराएदेखि सुत्केरी हुँदा सम्म नियमित आउनेलाई प्रति ब्यक्ती पाँच हजार बरावरको (अण्डा, गेडागुडी, ज्वानो, साबुन, नङकट) लगायतका सामग्री दिईनेछ। अजिरकोट गाउँपालिका उच्च पहाडी दुर्गम क्षेत्र हो।

बर्खाको सामगमा सबै वडामा एम्बुलेन्स पुग्न नसकेपनि हिउँदमा पुग्छ। दलित, जनजातीको बाहुल्य रहेको त्यस क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका महिलाहरु अहिले त्यहाँका गर्भवति महिलाले सुरक्षित गर्भजाँच र प्रसुती सेवा लिन पाएका छैन्।

अजिरकोट गाउँपालिकाको धनसिरा, खरिबोटको वलाङ लगायतका ठाउँबाट एम्बुलेन्सले स्वास्थ्य संस्थासम्म एक पटकको तीन हजार भाडा लिन्छ। आउजाउ गर्दा सुत्केरी महिलाले छ हजार तिर्नुपर्छ। सुत्केरी गराए वापत दुई हजार पाउँछन्। एम्बुलेन्स भाडामा छ हजार खर्च हुने भएपछि भत्ताको आस मारेर घरैमा सुत्केरी हुने क्रम अब घट्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवालीले बताए। ‘एम्बुलेन्स भाडा, नियमित गर्भजाँच सहित सुत्केरी गराउँदा सरकारले दिने दुई हजार आठ सय र पालिकाले दिने पाँच हजारको कोसेलीले महिलाहरुलाई प्रोत्साहन मिल्ने अपेक्षा छ’ उनले भने।

यस वर्ष गाउँपालिकाले दुई सय जना महिलाले ‘माईतिको कोसेली गाउँ सभाबाट १० लाख बजेट बिनियोजन गरेको छ। पहिलो पटक महिनावारी रोकिएको तीन महिनापछि चेकजाँच गर्दा झोला र अण्डा दिईनेछ। दोस्रो पटक चेकजाँच गर्न जाँदा अण्डा, नङकट, साबन, तेस्रो पटक गेडागुडी, चौँथो पटक अण्डा, ज्वानो लगायतका पोसिलो खानेकुरा दिईनेछ। ‘नियमित गर्भजाँच गराउँदा आमा र बच्चाको अवस्था थाहा हुनेछ’ स्वास्थ्य शाखा प्रमुख दवाडीले भने। गाउँपालिका भित्रका सबै सुत्केरीलाई स्वास्थ्य संस्थाबाट सेवा दिन यो कार्यक्रम संचालन गरेको हो।

 

प्रकाशित: ८ भाद्र २०७६ ११:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App