७ वैशाख २०८१ शुक्रबार
कला

रंगमञ्च सधैं प्रिय : अभिनेत्री उषा रजक

काठमाडौं - अभिनेत्री उषा रजक सर्वनाम थिएटरमा मञ्चन भइरहेको ‘अर्को कुरुक्षत्र’ नामक नाटकमा पुनः अभिनयमा फर्किएकी छिन्। आठ वर्षको किर्गिस्तान बसाईपछि अभिनेत्री रजक नेपाली रंगमञ्चमा देखिएकी हुन्।

रंगकर्मी अशेष मल्लद्वारा निर्देशित नाटक ‘अर्को कुरुक्षेत्र’ मा मुख्य भूमिका निर्वाह गरेकी उनी नाटकले महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाएको दाबी गर्छिन्। ‘महिलाको विषयमा केन्द्रित नाटकको कथावस्तु सुनेपछि अभिनय गर्न राजी भएकी थिएँ,’ उनी भन्छिन्, ‘महिलामाथि हुने हिंसाविरुद्ध नाटकले आवाज उठाएको छ। नाटकमा उत्पीडनमा परेको संघर्षशील महिला भूमिका निर्वाह गरेको छु।’

एक्टर स्टुडियोको रंगकर्मी अनुप बरालबाट अभिनयको प्रशिक्षण लिएकी उनले यसअघि सन् २००५ मा ‘कंकाल’ र ‘बाँकी उज्यालो’ नाटकमा अभिनय गरेकी थिइन्। उनले प्रशान्त रसाईलीले निर्देशन गरेको ‘कथा’ र ‘कुसुमे रुमाल’ फिल्महरूमा समेत अभिनय गरेकी थिइन्। ‘दर्शकले मेरो अभिनय बिर्सिएका छैनन्,’ उनी भन्छिन्।

‘कथा’ फिल्म हेरेर ‘अर्को कुरुक्षेत्र’ की कथाकार सम्पदा मल्लले उनलाई नाटक अभिनय गर्न प्रस्ताव राखेकी थिइन्। अभिनयका लागि रंगमञ्म प्रभावकारी हुने तर्क उनी राख्छिन्। ‘मेरो लागि रंगमञ्च प्रिय हो । नाटकमा अभिनय निखार्ने अवसर पाइन्छ। दर्शकले प्रत्यक्ष प्रतिक्रिया दिइहाल्ने भएकाले अभिनय सुधार्न सकिन्छ। म एक कलाकार भएको हुँदा फिल्म र रंगमञ्चमा अभिनय गर्ने हो,’ उनी भन्छिन्।

आफ्नो अस्तित्व र मान्छे हुनुको प्रमाण खोज्दै समाजसँग जुधिरहेकी महिलाको नाटकमा समावेश गरिएको छ। सत्य युग देखि अहिलेसम्म बारम्बार महिला हुनुको सजाए भोग्दै आएको र महिला भनेको दासी हो भन्ने समाजको यथार्थ जस्ताको त्यस्तै नाटकमा देखाइएको छ।  पितृसत्तात्मक सोचले ग्रस्त हाम्रो समाजले महिलालाई हलुका रुपमा लिएको तर्क उनी गर्छिन्। ‘महिला र पुरुषलाई दिइने श्रममा आकाश जमिनको फरक हुने गरेको छ। यो गलत हो,’उनले भनिन्। उनीद्धारा अभिनित ‘कठपुलती’ फिल्म रिलिज हुन बाँकी छ। नाटक आगामी भदांै २१ सम्म मञ्चन हुनेछ।

 

प्रकाशित: ८ भाद्र २०७६ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App