७ वैशाख २०८१ शुक्रबार
विचार

माड्साप ससुराली जाँदा

मदनमणि माड्साप पत्रकारिताको मेरो तेस्रो गुरु हुनुहुन्थ्यो। उहाँ २०७६ साउन ३० का दिन ब्रह्ममुहूर्तमा बित्नु भो। माड्साप पूरा आयु बाँच्नु भो। ९७ वर्ष ५ महिना २३ औँ दिनमा बित्नुभएको हो। उहाँ जन्मेको बेलामा नेपालीहरूको सरदर आयु अन्दाजी २८ वर्ष थियो होला। अहिले नेपालीको आयु सरदर ७१ वर्षकोछ। अहिलेको सरदर आयुभन्दा २८ वर्ष बढी बाँच्नु भो। विगत ९७ वर्षको अन्तरालमा नेपालीको सरदर आयु ४३ वर्षले बढेछ। नेपाली समाजको अवस्थामा आएको यो अन्तरलाई समग्ररूपमा मदनमणि दीक्षितले केलाउन पाउनु भो, भएन थाहा भएन। यदि पाउनुभएको भए विनोद दीक्षितले सार्वजनिक गरिदिए हुन्थ्यो। मदनमणि माड्सापप्रति हार्दिक सम्मान र श्रद्धा। उहाँकी जीवनसंगिनी रीता दीक्षित र आमोदमणिलगायत सकल परिवारमा समवेदना।

हेर्दाहेर्दै दक्ष पत्रकार
हालखबर दैनिकमा माड्साप मदनमणि २०१४ सालमा प्रवेश गर्नु भो। तर म भने २०१३ साल पुसमा नै सम्वाददाता भएर पसेको हुँ। हालखबर पसाइको दृष्टिले म जेठो। उहाँ दर्शनशास्त्री, वीरगन्ज त्रिजुद्ध हाइस्कुलको हेडसर। के के हो पत्रिकाको सम्पादन गरिसकेको मान्छे। त्यसमाथि निरन्तर परिश्रम गरिरहन सक्ने। के चाहियो र टपक्क टिपिहाल्नु भो हालखबर पत्रिकारिता। दार्शनिक पृष्टभूमि बलियो भएको मान्छेलाई पत्रकारिताका सूक्ष्म सूक्ष्म सूत्र र सूक्तहरू टिप्न बेरै लागेन। पत्रकारिताको समग्र गर्भगृहमा माड्सापको सहज प्रवेशमात्र भएन, नसा नसाको ज्ञान भो। गर्दागर्दैदक्ष पत्रकार हुनु भो। म उहाँबाट सिक्ने भएँ।

मदनमणि दीक्षितको विद्वता अदितीय थियो। उहाँलाई उत्तरवैदिक साहित्यकार पनि भनिन्थ्यो। माधवी र भूमिसूक्त रचनाले मदनमणिजीलाई अजर/अमर बनाइदिए जस्तो लाग्छ।

मलाई जिम्मेवार पत्रकार बनाउनेहरू
माड्साप अब हालखबरमा मेरा बडाहाकिम हुनु भो। हाकिम भने दाताराम शर्मा। तर मदनमणि दीक्षित वास्तवमा हालखबरको प्रधानसम्पादक हुनुहुन्थ्यो। तर पत्रिकामा उहाँको नाम कहिल्यै छापिएन। हालखबरमा प्रधानसम्पादक हुनेहरू कसैको पनि नाम छापिँदैनथ्यो। किन हो थाहा भएन। हालखबर कमलपोखरीस्थित प्रेसमा छापिन्थ्यो। रहँदा÷बस्दा रमेशनाथ पाण्डे पनि हालखबरको कर्मचारी भएको सम्झन्छु। मदनमणि हालखबर अफिसमै दिनभर जस्तै बस्ने र काम गर्ने। हालखबरमा प्रोपाइटर रंगनाथ शर्मा थिए। उनीसँग मदनमणि र दाताराम शर्माले लामो समयसम्म छलफल गर्ने गरेको देखेको छु। कहिले एक्लाएक्लै र कहिले दुवैजना। म फुच्चे केटो उहाँहरूका ठूला कुरामा चासो राख्दिनथेँ।

उहाँहरूबीच हालखबर समग्रको नीतिगत परामर्श हुँदो हो भन्ने अनुमान गर्थेँ। मलाई काम अराउने, निर्देशन दिने मान्छे तीनजना भए– रंगनाथ, मदनमणि र दाताराम। माड्साप मेरो पनि माड्साप हुनु भो। कक्षामा पढाएर होइन, पत्रकारिताभित्रका पत्रकारिता पढाउनुहुन्थ्यो। रिपोर्टिङका काइदा कानुन, शिष्टाचार, प्रश्न सोध्ने फर्मुला र प्रश्न सोध्ने कला तथा सिप पनि सिकाउने तीनैजना। काम गर्ने क्रममा गल्ती भए, बिग्रिए हतास नहुन, गल्ती भएकामा ठाडै स्वीकार्न र आवश्यक परे क्षमा माग्न सिकाउनुहुन्थ्यो। मदनमणि, दाताराम र रंगनाथहरूको निर्देशनले वास्तवमा नै मलाई जिम्मेवार पत्रकार बनायो। यसर्थ म उहाँहरू सबैप्रति सम्मान गर्छु र कृतज्ञता प्रकट गर्छु।

तेस्रा गुरु मदनमणि दीक्षितसँग त दीक्षितै हुन पुगेँ। दीक्षित बौद्धिकताका अथाह खानी लाग्ने। जे सोध्यो त्यसको सैद्धान्तिक, दार्शनिक पृष्टभूमि बुझाइ अनिमात्र विषय बुझाउने उत्कृष्ट बानी उहाँको। दीक्षितज्यूसँग म क्रमशः दीक्षित हुदै गएँ। उहाँसँग पत्रकारिता गर्ने भएँ। मलाई बडो गर्व लाग्छ बितेका ती दिन सम्झँदा। माड्सापले समीक्षा साप्ताहिक आफैँले सुरु गर्नु भो। त्योे पत्रिका साँच्चै आलोचक थियो। आलोचक पनि प्रखर आलोचक। उहाँसँगको सम्पर्क पनि छुट्यो २०१७ मंसिरदेखि किनकि मैले हालखबर छोडेँ। उहाँले पनि छोड्नु भो। मदनमणि दीक्षितको विद्वता अदितीय थियो। उहाँलाई उत्तरवैदिक साहित्यकार पनि भनिन्थ्यो। माधवी र भूमिसूक्त रचनाले मदनमणिजीलाई अजर÷अमर बनाइदिए जस्तो लाग्छ। उहाँको अस्तसँगै उत्तरवैदिक साहित्यको एक युग नै अस्ताए जस्को लाग्छ।

ससुरालीः मिठाइ, शौच र स्नान
मदनमणिजीका रोचक पक्ष धेरै पक्ष छन्। उहाँ ठट्यौली गर्ने पनि अति नै। फोटोग्राफी माड्सापका औधी सोखको विषय रहेछ। उहाँले खिचेको हाम्रा बूढाबूढीको ५९ वर्षअघिको कालो सेतो (श्याम÷श्वेत) दुई रङको तस्बिर हाम्रो भित्तामा टाँसिएको छ जसले माड्सापलाई सधँै सम्झना गराइरहन्छ। मदनमणि माड्सापको अर्को सोखको विषय छ जो धेरैले पत्याउँदैनन्। उहाँले साक्षात् मसँग भन्नुभएको। माड्सापलाई त्रिभुवन राजपथको यात्रा गर्दा भारीले भरिएको ट्रक खोज्ने र ट्रकमाथि भारी, भारीमाथि मदनमणि माड्साप रे। त्यहाँ सुतेर फोटा खिचेर औधी रमाइलो गर्नुपर्ने रे।

मर्ने अघिल्लो दिन बिहानै छोरो विनोदलाई बोलाएर सुमेरु अस्पतालमा उपचाररत शैयाबाट भन्नुभएछ– ‘प्रधानमन्त्री केपी ओलीले गायत्री मन्त्रका रचयिता भनेर वशिष्ट ऋषिलाई भन्नुभएको रहेछ, त्यो गलत हो। विश्वमित्रले यो मन्त्र लेखेका हुन्।’ क्या विलक्षणता ?

माड्सापको ससुराली जाँदाका कथा अरु रोचक छन्। उहाँको ससुराली कलैया। त्यतिबेला वीरगन्जबाट बाराको कलैया जाने सवारी साधन भनेको एकमात्र गोरुगाडा। काठमाडौँको गैरीधारामा जन्मेको, बढेको, हुर्केको। राणा शासनताकाको आचार्य दीक्षित परिवार। फेरि वनारसमा पढेको। कति फुर्ती होला। एकपल्ट ससुराली जानुपरेछ। माड्सापको सवारी चल्यो ससुरालीबाट लिन आएको वयलगाडामा। ज्वाइँलाई लिन आउने सज्जनलाई निर्देशन रहेछ ज्वाइँ साहेवलाई भोकलाग्ला मिठाइ खुवाउँदै ल्याउनु। त्यो आतिथेय तराई देहातमा जतिवटा मिठाइ पसल आयो प्रस्ताव गरिहाल्ने रे मिठाइ खान। माड्साप मसँग भन्नुहुन्थ्यो। मिठाइ पनि मीठा हुन् र ? दूध, खुवा कम चिनी अति धेरै भएको। यस्ता मिठाइ कति खानु। पछि पछि त मिठाइ खाने कुरा गर्दा पनि रिसै उठ््न लाग्यो रे।

अर्को रमाइलो प्रसंग छ ससुराली पुगेपछिको। त्यतिबेला शौचालयको अवधारणा नै थिएन तराई÷मधेसतिर पनि। भोलिपल्ट बिहान नित्यकर्मका लागि शौचालयतिर लगिएछ। दुइटा बाल्टिनमा भरि भरि पानी। पानी हाल्ने दुईजना खडे। निवृत्त हुन नै मुस्किल रे। त्यसपछि सुरु भो नुहाउने काम। नुहाउँदा साबुन लगाइदिने अलग्गै मान्छे। पानी हालिदिने अरु दुईजना भुसतिघ्रे। साबुन लगाएर जिउ मिचिदिने। म त लाज, असजिलो के÷केले भुतुक्कै भएँ। निकै कष्ट पनि लाग्यो रे शौचालय र स्नानका काम भन्दै हाँस्नुहुन्थ्यो माड्साप।

अँध्यारो पक्ष पनि कोट्याउनुपर्छ
मान्छेका वास्तविक जीवनमा उज्याला पक्षमात्र हुँदैनन्। यो सामान्य कुरा हो। तर हाम्रोमा उज्याला पक्षको मात्र चर्चा गरिन्छ। अँध्यारो पक्ष वर्जित गरिन्छ। अझ मृत व्यक्तिका बारेमा लेख्नुपर्दा त सकारात्मक पक्षमात्र कोट्याइन्छ। अँध्यारोपक्षलाई उल्लेखसम्म पनि गरिन्न। मलाई यो प्रवृत्ति मन पर्दैन। किनभने मान्छे ठान्छ– मैले नराम्रा काम गरेपनि बाँचुन्जेल त हो नि, मरेपछि नराम्रो कुरा हराएर जान्छ भन्ने हुँदा नराम्रो पनि गर्न सक्छ। त्यसैले म बितिसकेका व्यक्तित्वका बारेमा पनि सबै पाटा संक्षेपमा भए पनि उल्लेख गर्ने सिद्धान्तको अनुशरण गर्छु। यो रणनीतिअन्तर्गत माड्सापलाई उभ्याउँछु।

मदनमणि दीक्षित नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपति छँदा सुटुक्क संयुक्त राज्य अमेरिका सट्कनु भो। यहाँको बजारमा हल्ला भो– मदनमणि दीक्षितलाई कुन तत्वले अपहरण ग¥यो भन्ने। अन्ततः वासिङ्टन पुगेको खबर आयो। मेरो विचारमा उहाँजस्तो व्यक्तित्व त्यसरी सुटुक्क जानुहुने थिएन। अर्को बुँदा रुसका राष्ट्रपतिले ग्लासनोस्त र पेरेस्त्रोइका जस्ता दुइटा सैद्धान्तिक घुएत्रो हाने। हाम्रा माड्सापले ती दुवै शस्त्रको शतप्रतिशत मात्र होइन, दुई सय प्रतिशतभन्दा पनि बढी समर्थन गरेर वामपन्थी या कम्युनिस्ट सिद्धान्तप्रति निष्टा राख्न सक्नुभएन। यसै मेलोमा माड्सापले एकपल्ट काठमाडौँ नगरपञ्चायतको निर्वाचन पनि लड्नु भो। मेरो विचारमा त्यो काम ठीक थिएन। माड्साप भावुक व्यक्तित्व पनि हो। कहिलेकहीँ सारै तरल भइदिने। छिल्लिन पनि सक्ने कमजोरी थियो। कुनै व्यक्तिको बारेमा ठुल्ठूला आरोप लगाउने प्रवृत्ति पनि उहाँको दुर्वल पक्ष हो भन्ने लाग्छ।

विलक्षणका पर्याय
एकजना बौद्धिक मान्छेले त्यतिबेलै २०१५/१६ सालतिर नेपालको एउटा ‘हु इज हु’ तयार गरी प्रकाश गर्न लाग्नुभएको थियो। त्यस कामका लागि आवश्यक सामग्री संकलन गर्न मलाई सहयोगीका रूपमा बस्न भन्नु भो। मैले त्यस्तो काम गर्नु ठीक÷बेठीक के होला भनी सल्लाह मागेँ। माड्सापले त त्यो मान्छे सिआइएको एजेन्ट हो, त्यस्तालाई कसरी सहयोग गर्नुहुन्छ ? भन्नु भो। अब के चाहियो र? मदनमणि माड्सापका वाणी ढुंगाको अक्षर भइहाल्यो। मैले उहाँलाई नसघाउने भएँ। अन्ततः त्यो काम अघि बढेन। वास्तवमा त्यो ‘हु इज हु’ तयार गर्न खोज्ने व्यक्ति सिआइएको एजेन्ट होइन, ठूलो विद्वान् हुनुहँुदोरहेछ। हाम्रा माड्सापलाई के लाग्यो सिआइएको एजेन्ट पो भनिदिनु भो। मैले पत्याइहालेँ।

माड्साप पनि मान्छे हो नि आखिर। जीवनका सबै पाटा हुने नै भए। कहिले कुनै पाटा सक्रिय, कहिले कुनै पाटा। हाम्रा माड्सावमा पनि त्यो मानवीय पक्ष त छँदै थियो। यी केही कमी कमजोरीबाहेक मदनमणि दीक्षित साँच्चै दुर्लभ व्यक्तित्व नै हो। त्यो कहिल्यै थाकेन न त भो कहिल्यै निराश। नेपाली वाङ्मयलाई दुर्लभ एवं अद्वितीय ग्रन्थहरू दिएर साँच्चै समृद्ध गर्न सफल भए माड्साप। जीवनको उत्तरार्ध उहाँको झन् उर्वर, ऊर्जामयर उत्पादकत्व रह्यो। मृत्युसँग कठोर एवं कठिन संघर्षसँग जुधिरहेको स्थितिमा पनि पूर्वीयदर्शनका विद्वान् ऋग्वेदको व्याख्या गर्ने, समाजलाई बुझाउने प्रयत्न गरिरहे। मर्ने अघिल्लो दिन बिहानै छोरो विनोदलाई बोलाएर सुमेरु अस्पतालमा उपचाररत शैयाबाट भन्नुभएछ– ‘प्रधानमन्त्री केपी ओलीले गायत्री मन्त्रका रचयिता भनेर वशिष्ट ऋषिलाई भन्नुभएको रहेछ, त्यो गलत हो। विश्वमित्रले यो मन्त्र लेखेका हुन्।’ क्या विलक्षणता ?

प्रकाशित: ८ भाद्र २०७६ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App