coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

अराजकता अन्त्य गर्ने उपाय

बुद्ध भन्नुहुन्छ– ‘आफ्नै तर्क र विवेकले स्वीकार नगरेसम्म पढेका वा सुनेका कुरामा विश्वास नगर किनकि तिमीभित्रको आन्तरिक ऊर्जाले मात्र तिमीमा आत्मविश्वास जागृत गराउँछ।’ समाज र राष्ट्रमा बढ्दै गएका अराजकता, अमानवियता, हिंसात्मक गतिविधि, अस्थिरता र नेतृत्व तहका व्यक्तिहरूका  अन्तरविरोधी अभिव्यक्तिका पछाडि अवश्य विभिन्न कारण हुनुपर्छ। तर तीमध्ये आत्मविश्वास कमी पनि प्रमुख कारण हो कि ? किनकि व्यक्तिमा असहजता, भय र असन्तुष्टि देखिनु आत्मविश्वास कम हुनु हो।

आत्मविश्वास आफैंभित्रको आन्तरिक विश्वास हो। जब आफ्नो आन्तरिक विश्वास कम हुँदै जान्छ तब व्यक्ति हरेक किसिमका समस्याको जालोमा फस्दै जान्छ। के सही र के गलत, कुन क्षणिक र कुन दीर्घकालीन अनि के आफू र राष्ट्रहितमा छ र के अहितमा जस्ता सामान्य कुराको समेत बोध गर्न नसक्नेहरूले राष्ट्र निर्माणको जिम्मेवारी लिएर बसेका छन्। सम्पन्नता र समृद्धिको नारा तब मात्र सार्थक हुन्छ जब स्वयंमा आत्मविश्वास जागृत हुन्छ। काम गर्न वातावरण र अरूको सहयोगभन्दा बढी आफ्नै आत्मविश्वास बढी आवश्यक हुन्छ। अरूबाट असहयोग महसुस गर्नु, अरूले दुःख दिएको जस्तो मात्र लाग्नु, अरूबाट विरोधको अनुभूत गर्नु आफूमा आत्मविश्वास कम हुनुबाहेक अरू केही होइन। जब आत्मविश्वास जागृत हुन्छ तब आफ्नो कार्यक्षमता र क्षमता प्रस्फुटन हुन थाल्छ। म कसैका भरमा नभई आफ्नै क्षमताले आफूले चाहेको काम पूरा गरेरै छाड्छु भन्ने संकल्प विकास हुन पनि आत्मविश्वासै चाहिन्छ। आफूमा लुकेको नेतृत्व क्षमता, इमान्दारिता, कल्याणकारिता, मर्यादा, अनुशासन र प्रेमिल भावना जागृत गर्न पनि आत्मविश्वास नै विकास हुनु जरूरी हुन्छ।

भगवान् श्रीकृष्णले महाभारतमा अर्जुनलाई भन्नुभएको छ– ‘कर्म गर तर फलको आशा नगर।’ यसको अर्थ हो– नतिजाका लागि आशक्त भएर काम गर्दा कर्ममा भन्दा नतिजामा बढी ध्यान जान्छ र कर्म असफल हुन सक्छ। परिस्थिति प्रतिकूल हुन सक्छ त्यसैले कर्ममै मात्र ध्यान दिए मात्र मेरो कर्म सफल हुन्छ भन्ने संकल्प गर्नु आत्मविश्वास बढाउनु हो। सुरू गरेका काम असफल हुनाका कारण हुन्– आफैंमा विश्वास नहुनु र द्विविधामा पर्नु। म सक्छु, म गर्छु भन्ने दृढ विश्वासका साथ शतप्रतिशत क्षमता लगाएर कर्म गर्छु भन्ने संकल्प आत्मविश्वास हो। प्रत्येक कार्यलाई सरल, सहज, सकारात्मक र निद्र्वन्द्व  तरिकाले सम्पन्न गर्न आत्मविश्वास नै चाहिन्छ। अरूको सहयोग आफ्नै ठाउँमा छ तर पहिले आफ्नै आत्मविश्वास जागृत हुन जरुरी हुन्छ। दशकौंदेखि थाँती रहेका विकास निर्माणका कामहरू पूरा नहुनाका कारण खोज्ने हो भने पत्ता लाग्नेछ– सकारात्मक सोच भएका मानिसको सहयोग अभाव, नयाँ आयामले काम गर्न खोज्ने उत्प्रेरणा अभाव र स्वयंको आत्मविश्वास नहुनु।

अरूले के भन्छ र अरूलाई फाइदा पुग्छ कि भन्ने भय र स्वार्थी सोचले आफ्नो क्षमता पहिचान हुन सक्दैन। कुनै सम्बन्ध होस् वा काम बिग्रेका खण्डमा अरूलाई दोष दिनु र अरूप्रतिको निर्भरता देखाएर आफू कमजोर हुनु होइन कि आफंैप्रति दयालु हुनु, आफ्नो सकारात्मक कार्यको आफंैले प्रशंसा र सम्मान गर्नु अनि आफूले सुरुवात गरेको कार्यको नतिजा जे आउँछ त्यसको जिम्मेवारी आफंैले लिनु आत्मविश्वास भएका व्यक्तिका लक्षण हुन्। प्रत्येक व्यक्तिभित्र रहेको मानसिक एवं आध्यात्मिक शक्ति पनि हो– आत्मविश्वास। आत्मविश्वास जागृत भएपछि व्यक्तिमा भय, भरोसा र लालसा बाँकी रहन्न बरू आत्मरक्षाको अनुभूति हुन थाल्छ।

आफ्नो कर्तव्यबोध ख्याल गर्दै भविष्यमा पूरा गर्नुपर्ने कर्महरूको लक्ष्य निर्धारण गरी सही दिशामा अगाडि बढ्ने हो भने कुनै काम असफल हुँदैनन्। अतीतका असफल कार्यप्रति चिन्तित नभई, कसैलाई आरोप नलगाई, नयाँ तरिकाले तिनै काम फेरि सुरु गर्ने र आफ्नो भावना, संकल्प कम्पित हुन नदिई शान्तिपूर्ण रूपमा गरिएका कुनै कार्य असफल हुँदै हुँदैनन्। असफलताको प्रमुख जड त आत्मविश्वास कमी नै हो। हरेक कार्यका उपलब्धि हुन्छन् त्यसैले मैले के गर्दै छु र के उपलब्धि प्राप्तिका लागि गर्दै छु भन्ने ख्याल राख्दै कर्म गरेको भए आज समाज र राष्ट्रमा यत्रो अनियमितता, अराजकता र भ्रष्टाचार फैलिने नै थिएन। आफ्नो व्यक्तित्व, मौलिकता र स्वभाव आफंैले पहिचान गरेर कर्म गर्ने व्यक्तिले सधैं समाज र राष्ट्रका लागि केही न केही योगदान गरिरहेकै हुन्छ। किनकि राम्रो तरिकाले, राम्रो नियतले र सर्वकल्याणकारी सोचले सुरुवात गरेका कर्मका फल सकारात्मक नै हुने गर्छन्। ओशो भन्नुहुन्छ– ‘कतिपय अवस्थामा परिस्थितिले भन्दा पनि मनस्थितिले आत्मविश्वास कमजोर बनाइरहेको हुन्छ त्यसैले आफ्नो विश्वास नडगाई निर्भयताका साथ कार्य गर्ने स्वभावले आत्मविश्वास बढाउनमा मद्दत गर्छ।’

यदि जीवनमा वास्तवमै असल नियत राखेर सत्कर्मद्वारा स्वयंको र राष्ट्रको उन्नति चाहने हो भने आत्मविश्वास जागृत गराउने उपाय पनि थाहा पाउनु जरुरी हुन्छ। ध्यान मात्र एक महत्वपूर्ण कला र अभ्यास हो जसले निर्भयता विकास गर्नमा मद्दत पु¥याउँछ। ध्यानको अभ्यासले नै व्यक्तिभित्र रहेका जोस, होस, जाँगर र उत्साह जागृत गर्न मद्दत गर्छ। सजगता, सरलता, प्रेमिल, करुणावान, दयालु स्वभाव, सिर्जनात्मकता र स्वयंमा स्थिर रहने कला ध्यानकै उपलब्धि हुन् र यिनै गुणहरू नै आत्मविश्वासका मापन पनि हुन्।

ध्यान जीवनको त्यस्तो आधार हो जुन जहाँ जेसँग मिलाए पनि सकारात्मक ऊर्जा दिन्छ, आत्मविश्वास बढाउँछ। हरेक कर्म सफल बनाउन मद्दत गर्छ। ध्यान एउटा अनुभूति हो कुनै परिभाषाद्वारा यसलाई प्रस्ट पार्न सकिन्न तर समग्रमा भन्दा आत्मविश्वास जागृत हुनु नै ध्यानको उपलब्धि हो र व्यक्तिभित्रको अहंकार अन्त्य गरी आत्मिक समृद्धि कायम गर्ने एउटा सशक्त माध्यम पनि हो। अराजकता निर्मूल गर्दै व्यक्ति, समाज र राष्ट्रको शान्ति र समृद्धिका लागि हरेक व्यक्तिमा आत्मविश्वास जागृत हुनु अत्यावश्यक छ।
(स्वतन्त्र सामाजिक परामर्शदाता)

प्रकाशित: ८ भाद्र २०७६ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App