coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठेक्का लागेको दुई वर्षपछि पुलको डिजाईन नै परिवर्तन

खोटाङ–ठेक्का लागेको दुई वर्षपछि निर्माणको काम सुरु नहुँदै खोटाङ र उदयपुरको फोक्सिङटारस्थित सुनकोसीको पक्की पुलको डिजाइन परिवर्तन गरिएको छ। फोक्सिङटारमा निर्माण गर्ने भनिएको ‘ससपेन्सन ब्रिज’को डिजाइन ठेकेदारले निर्माणको काम सुरु नगर्दै परिवर्तन गरिएको पाइएको हो।

ससपेन्सन ब्रिज निर्माणको जटिलताका कारण पूर्वनिर्धारित पुलको डिजाइन परिवर्तन गरेर फोक्सिङटारमा ‘आर्च’ डिजाईनको पुल बनाउन लागिएको सडक बिभाग पुल महाशाखाका डिई अर्जुन अर्यालले बताए । डिजाईन परिवर्तनसँगै फोक्सिङटारमा लट्ठा हालेर ढलान गरिने पुलको सट्टा पिल्लर उभ्याएर ढलान गर्ने प्रकृतिको पुल निर्माण हुने भएको छ ।
 ठेक्का लागेको लामो समयपछि पुलको डिजाइन परिवर्तन गरिए पनि ठेक्का लागेको २ वर्षसम्म काम नथाल्ने पुरानै ठेकेदारलाई पुल निर्माणको काम सुम्पिएको भन्दै जिल्लाबासी असन्तुष्ट छन् । फोक्सिङटारको पुल निर्माणको जिम्मा लिएका रामबहादुर थापाको गौरीपार्वती निर्माण सेवाले ठेक्का लागेको २ वर्ष बित्दा समेत निर्माणको काम सुरु नगरेको स्थानीयको गुनासो छ । फोक्सिङटारको भौगोलिक अप्ठ्यारोका कारण ‘ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाई हुने भएकाले ‘आर्च’ डिजाईनको पुल बनाउन स्वीकृति दिइएको डिई अर्यालले बताए ।

‘सुरुमा फोक्सिङटारमा ठेकेदारले सस्पेन्सन ब्रिजको सम्भावना छ की भनेर काम थालेको थियो,’ डिई अर्यालले भने, ‘सस्पेन्सज ब्रिज निर्माणमा धेरै समस्या छन्, हाम्रो अनुभवमा सस्पेन्सन ब्रिज निर्माण सहज छैन, सस्पेन्सनमा जाँदा पुल निर्माणको काम झन् ढिलो हुने भएकाले त्यसको सट्टा आर्च डिजाईनमा जाऔँ भनेर ठेकेदारले काम थालेको छ ।’ उनका अनुसार सस्पेन्सन ब्रिज निर्माणको जटिलताकै कारण खोटाङ र शहर जोड्ने दुधकोसीस्थित जयरामको पुल निर्माणमा ढिलाई भएको हो। ‘भौगोलिक बिकटताका कारण ओखलढुंगा, खोटाङ र भोजपुरलाई सडक र पुलले जोड्न सडक बिभागलाई जहिल्यै समस्या भइरहेको छ,’ अर्यालले भने, ‘तर, फोक्सिङटारको पुल निर्माणको काम यो पटक सुरु हुन्छ, ठेकेदारले छठ पछि नै काम थाल्छौँ भनेको थियो ।’ आयोजनाको सर्भे, डिजाईन लगायतका काम स्वयं ठेकेदारले गर्नेगरी पुल निर्माणको जिम्मा गौरीपार्वती निर्माण सेवाले लिएका थिए ।

नेपालका ठेकेदारबाट हालसम्म ‘ससपेन्सन ब्रिज’ बेलामा बन्न नसकेका कारण फोक्सिङटार पुलको डिजाईन परिवर्तन गर्न आफुहरुले पनि सडक बिभागलाई दवाव दिएको सांसद बिशाल भट्टराईले बताए। ‘मुग्लिनमा चिनियाँ कम्पनीले बनाएको ‘ससपेन्सन ब्रिज’ नेपालकै पहिलो हो, नेपाली ठेकेदारबाट यस्तो पुल बनाउन गाह्रो छ,’ सांसद भट्टराईले भने, ‘त्यही भएर माननीय पिके राई र मैले पनि पुलको डिजाईन परिवर्तन गर्न सडक बिभागलाई भन्दैआएका थियौँ ।’

ठेक्का लागेको दुई वर्ष बित्दा समेत फोक्सिङटार पुलको काम सुरु नगरिएको तथा जयरामघाटको पुल निर्माणको काममा ढिलाई गरिएको भन्दै जिल्लाबासीले पटक–पटक बिरोध गर्दैआएका छन् । पुल निर्माणमा भएको ढिलाईको आक्रोश बढ्दै जाँदा प्रशासनमा धर्ना, सदरमुकाम दिक्तेलमा बिरोध र्याली, सडक विभागको ललितपुरस्थित कार्यालयमा धर्नासम्मका संघर्षका कार्यक्रम भइसकेका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दुधकोसीस्थित जयरामघाटको पुल नेपाली ठेकेदारले निर्माण गरिरहेको देशकै पहिलो ‘ससपेन्सन ब्रिज’ मानिएको छ ।  

२०७२ साल माघ–२४ गते सडक बिभागमा धर्ना दिएका जिल्लाबासीले चैत्र–२३ गते मंगलबार घेराउ नै गरे । सडक बिभाग घेराउकाक्रममा सांसद, नेता र जिल्लाबासीमाथि प्रहरी हस्तक्षेप भएको थियो । चैत्र–२४ गते पुल र सडक चाँडो निर्माणको माग गर्दै कांग्रेस दिक्तेल नगर समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए र सदरमुकाम दिक्तेलमा बिरोध र्याली निकालेका थिए ।

 

प्रकाशित: २९ कार्तिक २०७३ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App