१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्राधिकरण अब ठूला आयोजनामा

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा दशकौंदेखि अल्झिएका जलविद्युत्का ३८ रुग्ण आयोजना निर्माण सम्पन्न गरेसँगै अब ठूला आयोजना बनाउन केन्द्रित हुने भएको छ।

अलपत्र आयोजनाले प्राधिकरणको साख गिराएका थिए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रुग्ण आयोजना सम्पन्न भएसँगै डिम्स प्रोजेक्ट सञ्चालन गर्ने बताए। ‘जलविद्युत्का रुग्ण आयोजनाले धेरै बदनाम भएको थियो। अब रुग्ण आयोजना लगभग सम्पन्न भएका छन्, अब प्राधिकरणले डिम्स् प्राजेक्ट अघि सार्नेछ,’ उनले भने, ‘प्राधिकरणले गेम चेन्जर आयोजना सञ्चालन गर्ने योजना अघि सारेको छ।’

कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको सहायक कम्पनीमार्फत  रन अफ दी रिभर (नदी प्रवाही) भन्दा जलाशय तथा अर्धजलाशययुक्त आयोजना प्राथमिकतामा राख्ने बताउँछन्। ‘अब रन अफ दी रिभरभन्दा जलाशययुक्त आयोजना निर्माणमा केन्द्रित हुनुपर्ने बेला भइसक्यो,’ उनले भने, ‘जलाशययुक्त आयोजना केही महँगो भए पनि बहुउपयोगी देखिन्छ। त्यसैले प्राधिकरणको प्रथामिकतामा जलाशयुक्त आयोजना परेको हो।’

कार्यकारी निर्देशक घिसिङ प्राधिकरणले तीन वर्षदेखि मुनाफा आर्जन गर्दै आएकाले पनि ठूला आयोजनामा लगानी गर्ने बाटो खुलेको बताउँछन्। ‘विगतको तुलनामा प्राधिकरणको आर्थिक अवस्था निकै सुध्रिसकेको छ। त्यसैले, पर्याप्त तयारी गरेर नयाँ आयोजना निर्माणमा अग्रसर हुनेछौं,’ उनले भने, ‘प्राधिकरणले सहायक कम्पनीमार्फत ठूला परियोजना अघि सार्ने तयारी गरेको छ।’  

प्राधिकरणले १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना, ६३५ मेगावाटको दूधकोसी जलविद्युत् आयोजना र  ९९.५ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजनालाई नेपाल सरकार र प्राधिकरणको प्राथमिकता प्राप्त आयोजनाको रुपमा अघि सारेको छ। ‘तीनवटै आयोजनाको विस्तुत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम भइरहेको छ,’ उनले भने, ‘केही समयमै डिपिआर निर्माण सकिनेछ। त्यसपछि मोडालिटी निर्धारण गरेर  निर्माण थाल्नेछौं।’

जलविद्युत्मा जनताको सहभागिता सुनिश्चित गरी प्राधिकरणले विभिन्न सहायक कम्पनीमार्फत जलविद्युत् आयोजनाहरु निर्माण गर्ने काम धमाधम अघि बढाइरहेको छ। चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडका सहायक कम्पनीहरुबाट प्रर्वद्धित १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन आयोजना निर्माणको अन्तिम चरणमा छन्। १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना, ४० मेगावाटको मेगावाटको रघुगंगा र  ३७ मेगावाटको त्रिशूली ३बी आयोजना निर्माणाधीन अवस्थामा छन्।

त्रिशूली ३बी, रसुवागढी र सान्जेन जलविद्युत् आयोजना नेपाल सरकारको ‘नेपालको पानी, जनताको लगानी ः हरेक नेपाली विद्युत्को सेयरधनी’ कार्यक्रममा समेत  समावेश गरेर निर्माण भइरहेको छ।

माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडबाट प्रवद्र्धित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ। ३० मेगावाटको इखुवा खोला, ६३५ मेगावाटको दूधकोसी, ९९।८ मेगावाटको तामाकोसी ५, २२ मेगावाटको रोल्वालिङ खोला, १०४ मेगावाटको तल्लो सेती, ४२ मेगावाटको मोदी र १८.२ मेगावाटको मोदी ए र ८०० मेगावाटको उत्तरगंगा, १८० मेगावाटको आँधीखोला जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्र तयार पार्ने कार्य विभिन्न चरणमा पुगेको प्राधिकरणले जनाएको छ।

इन्जिनियरिङ तथा परामर्श सेवामा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्थापित एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले परामर्शदाताको रुपमा पाँचवटा जलविद्युत् आयोजनाको अध्ययन तथा ४०० केभी ढल्केबर सबस्टेसनको सुपरिवेक्षण लगायत काम भइरहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: ८ भाद्र २०७६ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App