८ वैशाख २०८१ शनिबार
अन्य

झरनामा रोमान्टिक गजल

गजलप्रेमीमाझ प्रकट पगेनी ‘शिव’ स्थापित नाम हो। प्रणयपरक गजलका पर्यावाची प्रकट। विशेषतः नयाँ पुस्तामा लोकप्रिय छन् उनी। काठमाडौं, पोखरा, नेपालगञ्ज, चितवनलगायत प्रमुख सहरमा उनको एकल वाचन भइसकेको छ।  

१९ औं एकल वाचन कार्यक्रम उनकै गृहनगर पोखरा उपत्यकामा हुँदैछ। भदौ १३ गते साँझ हेम्जा मास्तिर घलेल गाउँस्थित पोखरा क्यानोनिङमा उनले करिब दुई घन्टा रोमान्टिक गजल वाचन गर्दैछन्। ४५ मिटर अग्लो झरनाको चिसो वातावरणलाई गजलको रापले तताउने छन्। 

युवा नेतृ एवं संचारकर्मी सरस्वती गुरुङको सक्रियतामा पोखरा क्यानोनिङले पगेनीको एकल वाचन कार्यक्रमको मेसो मिलाएको आयोजक संस्थाका प्रमुख राम गुरुङले जानकारी दिए। कार्यक्रमबाट बचेको रकम उनलाई हस्तान्तरण गरिनेछ।

‘प्रकट दाईको उपन्यास ‘अनुश्रिया’ प्रकाशनमा सहयोग पु-याउन हामीले कार्यक्रम गर्न लागेका हौं’, गुरुङले भने, ‘गजल सुन्ने पारखीले ५ हजार रूपैयाँको टिकट काट्नु पर्नेछ। यसमा ककटेल डिनर, गजल श्रवण र बास सुविधा हुनेछ।’

पगेनीका सृजनामा पोखराको रैथाने स्वाद पाइन्छ। गजल विधामा पगेनीको कृति ‘प्रणय वेदका ऋचाहरू’ प्रकाशित छ। त्यस्तै गीतका दुई कृति ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनालाई’ छापिएका छन्। गत साउन ११ गते उनको पहिलो कविताकृति ‘अक्षरभरि अक्षता’ लोकार्पण भएको थियो।
पंगेनी यतिबेला आफ्नो उपन्यास ‘अनुश्रिया’को सम्पादनमा व्यस्त छन्।

प्रकाशित: ७ भाद्र २०७६ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App