८ वैशाख २०८१ शनिबार
अन्य

काठमाडौंमा मजदूर कवि

पोखराका इन्द्र राना ‘प्रतीक’ राम्रा कवि हुन्। उनी दिनभर मजदूरी गर्छन्। कहिले बालुवा चाल्छन्। कहिले मसला घोल्छन्। कहिले भारी बोक्छन्। र, कहिले भित्तामा प्लास्टर दल्छन्। अनि कहिले भित्तामा रंग पोत्छन्। उनीसँगै जीवनसंगी मनकुमारी पनि पसिना चुहाउँछिन्। 

साँझ जब उनीहरू फूलबारीस्थित डेरामा पुग्छन्। खाना खाइवरी मनका भावना कापिमा उर्ताछन् प्रतीक। कविताको नशामा चुर्लुम्म डुब्छन्। आक्कल–झुक्कल साहित्यिक कार्यक्रममा पुगेर रचना पनि सुनाउँछन्।

पुख्र्यौली थलो स्याङ्जा भएका प्रतीक ५६ वर्ष अघि मेघालयमा जन्मे। विसं ०३८ सालदेखि कविता लेखनमा लागे। उनले दर्जनौं कविता लेखिसके। उनका कवितामा शोषित, पिडित भुइँमान्छेका आवाज प्रतिबिम्बित हुन्छ।

यतिवेला पोखराका कविद्वय संजीव पौडेल र सूरज उपाध्याय उनका कविता सम्पादन गर्दैछन्। कविता संग्रह निकाल्ने प्रतीकको रहर छ तर त्यसका लागि उनीसँग पैसा छैन। उनको रहर पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले पुरा गर्दैछ। उसले मनकारीहरूसँग सहयोग जुटाएर चाँडै नै काठमाडौंमा उनको एकल कविता वाचन कार्यक्रम गर्दैछ। 

‘त्यही कार्यक्रममा इन्द्र दाईको कविताकृति ‘रंङहरूको इन्द्रेणी’ सार्वजनिक गरिनेछ’, कार्यक्रमका संयोजक अमृत भादगाउँले भन्छन्, ‘काठमाडौंका साहित्यप्रेमीमाझ हामी उहाँलाई चिनाउने छौं।’  

यस अघि कन्सेप्ट नेपालले गत फागुन ११ गते काठमाडौंमा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको एकल गायन कार्यक्रम गराएर उनलाई गायनमा पुनरागमन गराएको थियो।

प्रकाशित: ७ भाद्र २०७६ ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App