सम्झना

चरैवेति माड्साब !

शनिबार, ०७ भदौ २०७६, १५ : १३ रमण घिमिरे

उनी माड्साबका नामले प्रसिद्ध थिए। वीरगञ्ज त्रिजुद्ध हाइस्कुलमा लामो समय प्रधानाध्यापक भएपछि पाएको यो उपाधि उनको आजीवन परिचय बन्यो। माड्साब भनेपछि बौद्धिक र पत्रकारिता जगत्मा नचिन्ने विरलै थिए। माड्साब अर्थात् मदनमणि दीक्षित। र, उनको छवी उपन्यास ‘माधवी’ पछि नेपाली साहित्यमा वैदिक दर्शन र पात्रमाथि गहिरो अध्ययन गर्ने वैदिककालीन आख्यानकारका रूपमा निर्माण भयो। 

दीक्षितमा तीव्र स्मरण शक्ति थियो। अढाइ वर्षका उमेरमा पिताजीसँग कोलकाता जाँदायताका उनका जीवनका घटित एक–एक घटना उनलाई मुखाग्र थिए। साल र महिना मात्र होइन, गते, बार र समय पनि बताइदिन्थे।

चन्द्रशमशेरका कारिन्दा र विश्वासपात्र थिए मदनमणिका पिताजी। मदनमणि अढाइ वर्षका हुँदा पिताजीलाई चन्द्रशमशेरले मुम्बईको कारोबार हेर्न खटाए। उनको त्यहाँ व्यापार थियो। उनीहरू पनि पिताजीसँग मुम्बई पुगेर मरिन ड्राइभस्थित कान्छा काका हरिहरका घरमा बस्न थाले। त्यति बेलाको मरिन ड्राइभजस्तै काकाको घर पनि पुरानो थियो। एउटा कुनाको दुलोबाट डेढ–दुई सय मुसा लामबद्ध भएर गुरुरु निस्किन्थे र अर्को दुलोमा पस्थे। यस दृश्यले बाल–मदनलाई औधी आकर्षित पाथ्र्यो। उनलाई रहस्यमय लाग्थ्योे। चन्द्रशमशेरलाई फागुनी नामका व्यक्तिले दिनहुँ एक टोकरी काश्मिरी फलफूल मुम्बईबाट काठमाडौँ पठाउँथे। फागुनीले केटाकेटीलाई पनि दिनहुँ एक झुप्पा कालो अंगुर उनीहरू बस्ने घरको दलिनमा झुन्ड्याइदिने। मरिन ड्राइभ बस्दाका धेरै रोचक घटना उनका स्मृतिमा शिलालेख भएर बसेका थिए। उनकी माइली दिदीको अरू सामान्य केटाकेटीको झैँ औँला चुस्ने बानी थियो। तर, मदनका पिताजीले यो बानीलाई अलि सामान्य ढंगले बुझे। छोरी मान्छे, सानैमा बिहा हुने जमाना। घरमा गएर सासूका अगाडि पनि औँला चुसेर बसिदिई भने ! यही पिरलोले होला– पिताजीले यसको उपचारका लागि दस ठाउँ चहारे। संयोगले भेटिएका एकजनाले निःशुल्क सल्लाह दियो– औँला चुस्नासाथ पटका पड्काइदिने। नभन्दै जो घरमा हुन्थ्यो, माड्साबकी दिदीले औँला ओठमा पु¥याउन भ्याएकी हुन्नथिइन्, पट्का पड्किहाल्थ्यो र तिनी तर्सिन्थिन्। यसरी १०/१५ वटा पटका पड्केपछि दिदीको औँला चुस्ने बानी चटक्कै छुट्यो। एकपटक पिताजी र माताजीलगायत उनीहरूसमेत पेरिसबाट आएको एउटा सर्कस हेर्न गएका थिए। सर्कसका केटीहरूले नाक–नाकसम्म छुने गरी खुट्टा उचालेर ‘क्यान–क्यान’ डान्स गर्दा दर्शकहरू रोमाञ्चित भएको पनि सम्झना गर्थे उनी।

मुम्बई बसाइमा उनले सबैभन्दा बढी सम्झेको घटना थियो– आफैँ हराएको। एक दिन पिता–मातासँग बजार गएर फर्किँदा उनीचाहिँ बग्गीमा चढ्न छुटेछन्। भीडभाड हुँदो हो, अभिभावकले पनि उनीतिर ध्यान दिन भ्याएनन् सायद। घर फर्केपछि पो पितामाता आफ्नो ज्येष्ठ सुपुत्रको वियोगमा आकुल भए। उता मदन कोकोहालो गरेर मुम्बई नै थर्काउँलाझैं गरेर रोइरहेका थिए। धन्य ! त्यस बेला मुम्बई आजजस्तो कोलाहलमा डुबेको थिएन र पिताजीले फेरि खोजेर ल्याए।

समीक्षा चलाउँदाका पनि उनका आफ्नै मान्यता थिए– कानुनको उल्लंघन हुने कुनै समाचार नछाप्ने। यति हुँदाहुँदै पनि उनको समीक्षा राजा महेन्द्रका पालामा चारपटक र वीरेन्द्रका पालामा पाँचपटक गरी नौ–नौ पटक प्रतिबन्धित भयो। पत्रिका फुकुवा गर्न आफ्नो पहुँच भएसम्मका माथिल्ला ओहदादारी सबैसँग हारगुहार गरे। तर, वर्षदिनसम्म पनि समीक्षा फुकुवा भएन। अनि उनले आत्मदाह गर्ने निर्णय गरे।

उनीहरू त्यहाँ जम्माजम्मी डेढ वर्ष बसे। त्यसपछि काठमाडौँ फर्के। मदनमणिको पाँच वर्षमै उनको व्रतबन्ध भयो। त्यसपछि कखरा सिकाउने काम भयो। अनि उनको शिक्षा संस्कृत र अंग्रेजीमा हुनथाल्यो। नेपाली त घरमा बोल्ने मात्रै। नत्र नेपाली पढाइका नाममा बिएको परीक्षा दिँदा रुद्रराज पाण्डेको एउटा कथा पढेका थिए। यत्ति हो। बाँकी विषय हिन्दी र नेपाली माध्यममा हुन्थे।

त्यसबेला उनीहरू बारामा बस्थे। कान्छो भाइ जन्मिँदा पिताजीले काठमाडौैँबाट एक भट्टराई थरका पुरोहित झिकाएर न्वारान गर्न लगाउनुभएको थियो। माघको कुरा, पिताजीले पुरोहितलाई भन्नुभयो, ‘काठमाडौँमा अहिले जाडो छ, एक महिना यतै बसेर जाडो अलि कम भएपछि जानुहोला !’ पिताजीका कुरा स्वीकारेर बसे ती पुरोहित। एक दिन माताजी, मदन र पुरोहित घरछेउकै छाप्रोमा घाम तापेर बसिरहेका थिए, ती पुरोहितले रामायणको प्रसंग कोट्याए, ‘संस्कृत वाल्मीकि रामायण २२ पटक पढ्यो भने त्यो मानिस शुद्धिधर हुन्छ। एकपटक सुनेपछि सम्झना राख्नू !’

घरमा रामायण छँदै थियो, भोलिपल्टैदेखि उनी वाल्मीकि रामायण पाठ गर्नथाले। उनी संस्कृत पनि बुझ्थे, नबुझेको पंक्ति त्यसैमा दिएइको हिन्दी अनुवादको टीका हेरेर बुझ्ने कोसिस गर्थे। तर, उनी शुद्धिधर हुन पाएनन्, किनभने उनले त्यो रामायण १७ चोटि मात्र पाठ गर्न भ्याए। बरु यसले उनलाई साहित्यप्रति रूचि जगायो।

त्यसपछि उनले शरच्चन्द्र चट्टोपाध्यायका हिन्दीमा अनूदित कथा पढे र वकीमचन्द्र चट्टोपाध्यायको ‘चन्द्र शेखर’ पढे। यिनले पनि उनलाई साहित्यमा लाग्न थोरबहुत जाँगर चलायो। उनले अंग्रेजी साहित्यका उपन्यास पनि पढ्न सुरु गरे। त्यही बेला पिताजीले रातो बत्ती बालिदिए। तीव्र गतिले बगिरहेको उपन्यास अध्ययनमा झ्याप्प ब्रेक लाग्यो। एक दिन पिताजीले भने, ‘उपन्यास पढ्यो भने मान्छेको मतिभ्रष्ट केटा, अबदेखि तँ उपन्यास नपढ !’ पिताका पदछाप पछ्याउँदै हुर्केका उनलाई पिताको वाक्य नै अन्तिम सत्य थियो। अनि सन् १९४४ पछि उनले उपन्यास भन्ने पुस्तक छोएनन्।

बनारसमा उनी अध्ययन गर्ने कलेजको पुस्तकालय विशाल थियो। सन् १९४२ देखि १९४७ सम्म त्यहाँ अध्ययन गर्दा त्यहाँ तीन लाख पुस्तक थिए। पुस्तकालयको माथिल्लो तलाका दुवैपट्टिका पर्खालका -याकमा धर्म र दर्शनका किताब थिए। उनले त्यहाँका तीन सय पचास किताब मुखाग्र हुने गरी छिचोले। यी यावत् कुराले पनि उनलाई साहित्यतिर लाग्ने प्रेरणा मिल्यो। यसअघि नै अर्थात् सन् १९४१ मै उनले पहिलोपटक साहित्यमा कलम चलाएका थिए। तर, त्यो मौलिक कृति थिएन। उनले भागवत गीतालाई हिन्दी र अंग्रेजी मिसाएर प्यारोडी अनुवाद गरेका थिए।

सन् १९४३ मा उनको परीक्षा सकियो। तर, भाइ महेशमणिको १५ दिन बाँकी रहेकाले उनलाई पर्खिनुपर्ने भयो। तर, यी १५ दिन कसरी बिताउने ? उनले यसबारे सोचे। जीवनमा उनले कुनै युवतीसँग प्रेम गरेका थिएनन् र फेरि कहिल्यै गरेनन् पनि। तर, यी १५ दिनमा उनले अज्ञात, काल्पनिक फरक–फरक युवतीलाई सम्बोधन गरेर सातवटा पत्र लेखे। ती प्रेमपत्र लेख्दै किताबका पानाभित्र लुकाउँथे। त्यो उनले लेखनको धित मार्न गरेका थिए। ती धेरै सुन्दर पत्र थिए।

भाइ महेशको परीक्षा सकिएपछि उनीहरू बहिनीको घर विराटनगर आए र उनलाई हरिवंश पुराण सुनाउन थाले। अघिल्ला छ चिठी च्यातेर फ्यालिसकेका थिए। चिठी जति नै सुन्दर भए पनि त्यो कसैले फेला पा-यो भने त्यसबाट आइलाग्ने तर्क–कुतर्कको परिणति उनैले भोग्नुपर्ने हुन्थ्यो। तर, किन हो सातौँ चिठीचाहिँ च्यात्न भ्याएका रहेनछन् र त्यही हरिवंश पुराणको किताबको च्यापमा परेको रहेछ। त्यो चिठी उनकी ठूल्दिदीले भेटेर पढिछिन्। अनि परिवारमा हल्ला पिटियो, ‘ल मदनको त कुनै केटीसँग लभ पो परेछ।’ यसरी आ–आफ्नै पाराले सबैले त्यो चिठीमाथि अनुमानको खेती गरे।

उनको बिहा पाँच वर्षअघि नै भइसकेको थियो। यो चिठी दिदीको हातमा परेपछि एउटा काण्ड नै बन्यो। दिदीमार्फत् कुरा माता र पिताजीका कानसम्म पुग्यो। उहाँहरूले मदनकी श्रीमतीलाई बोलाएर भन्नुभएछ, ‘तिमी आफ्नो लोग्नेलाई अलि राम्ररी प्रेम गर, सम्मान गर !’ अनि मदनलाई उनकी श्रीमतीले यो कुरा सोधिन्। तर, मदनले त प्रेम गरेको भए पो प्रेमिकाको नाम भन्नु ! साहित्य–अभ्यास गर्न लेखेको चिठीले यति भाँडभैलो मच्चाउला भन्ने उनले सोचेकै थिएनन्। अनि श्रीमतीको रुवाबासी चल्यो। एकोहोरो रोएकी छन्, रोएकी छन्। मदनले श्रीमतीलाई त्यो नक्कली प्रेमपत्र हो भनेर सम्झाउन झन्डै सिंगो रात बिताउनु प-यो।

पछि उनी वीरगञ्ज श्रीजुद्ध हाइस्कुलमा आवद्ध भए। त्यसबेला प्रधानमन्त्री मोहनशमशेर थिए। दीक्षित कट्टर राणाभक्त थिए। त्यसैले उनले मोहनशमशेरको जन्मोत्सव धुमधामसँग मनाउने र त्यस अवसरमा एउटा एकांकी पनि मञ्चन गर्ने निर्णय गरे। अनि ‘दासत्व–मोचन’ नामक एकांकी लेखे। यो नाटक वास्तविक घटनामै आधारित थियो। चन्द्रशमशेरका चारवटी चाकरीदार महिला थिए। एक दिन तीमध्ये काखमा बच्चा च्यापेकी एउटीले चन्द्रलाई फिराद गरिछ, ‘सरकार ! मेरा छोरा बेचिए, छोरी बेचिए, लोग्ने बेचिए, म यहाँ छु र यो काखको बालकलाई पनि बेचिदिन लागे। परिवारका सबै बेचिएपछि म कसरी बाँच्नू ?’

मदनमणि जन्मिनुभन्दा एक वर्ष अघिको कुरा हो। त्यो राती चन्द्रशमशेरकहाँ दरबार बस्यो। त्यस महिलाको भनाइको आशय के थियो भन्ने विषयमा चन्द्रले प्रश्न गरे। दासत्व मोचनका बारेमा जंगबहादुरकै पालादेखि अंग्रेजले राणाजीहरूलाई दबाब दिँदै आएका थिए। यहाँ पुगेर चन्द्रशमशेरलाई फेरि एकपटक यो प्रसंगले घचघच्यायो। यता चन्द्र सभाबाट फर्किएपछि उनका बाजेले आफ्ना सातभाइ छोरा र एउटा नातिसँग बसेर छलफल गरेपछि यो ‘दासत्व–मोचन’ अभियानको सुरुवात आफ्नै घरबाट गर्ने निश्चय गरे। भोलिपल्ट राजाकहाँ बिन्तीपत्र चढाएपछि यो कुरा फुकवा भयो अनि कमारा–कमारी मुक्त हुने भए। बाहिर जान चाहनेलाई त जाँदा भइहाल्यो। तर, जो बस्न चाहन्थे तिनीहरू निश्चित ज्यालादारी या तलबजस्तो केही तोकेर काम लगाउन पाइने छुट भयो। उनका बाजेको घरमा रेशमी नामकी एक युवती कमारी थिई। त्यसले मदनका पिता–माताको सेवा गर्थी। ऊ बाहिर जान चाहिन र मदनलाई त्यही कमारी रेशमाले धाइआमा भएर हुकाई।

मदनले वीरगञ्जको हेडमास्टर हुँदा ‘दासत्व–मोचन’ एकांकी यसै आधारमा लेखेका थिए। त्यस महिलाले चन्द्रशमशेरलाई जुन बच्चा बेचिन लागेको फिराद गरेपछि ‘दासत्व–मोचन’को अभियान चलेको थियो। त्यो बच्चाको भूमिकामा गर्न छानिएका थिए– कालान्तरमा प्रसिद्ध गीतकारका नामले परिचित भीम विराग। नाटक मञ्चन गर्नुअघि राणा प्रशासकबाट स्वीकृति दिनुपथ्र्यो। त्यसबेला वीरगञ्जको व्यवस्था हेर्न बसेका थिए– विजयशमशेर। मदनले विजयसँग स्वीकृतिका लागि जाहेर गर्दा उनले बडाहाकिमलाई देखाउनु भन्ने आदेश दिए। बडाहाकिम र मदनमणिबीच खटपट थियो। एक महिनादेखि नाटकको अभ्यास पनि सुरु भइसकेको थियो। तर, हाइस्कुलका शिक्षकसँग सल्लाह गर्दा बडाहाकिमले स्वीकृति दिँदैनन् र बिनास्वीकृति नाटक गर्दा तपाईंको बदनामी हुन्छ भनेर नाटक नगर्न सल्लाह दिए। त्यसैले नाटक मञ्चन भएन।

मदनमणिले यस पंक्तिकारसँग भनेका थिए, ‘गीताको प्यारोडी अनुवाद, सातवटा प्रेमपत्र र त्यो एकांकीले मलाई साहित्यमा लाग्न उत्साह र प्रेरणा दिए।’ पछि उनी कम्युनिस्ट पार्टीमा लागे। त्यहाँ पनि उनी साहित्य नै पढ्थे, साहित्य नै लेख्थे। पार्टीमा लागेपछि उनलाई पिताजीले उपन्यास पढ्यो भने मान्छे मतिभ्रष्ट हुन्छ भनेको कुरा मिथ्या रहेछ भन्ने बोध भयो। उनी खोजी–खोजी टल्सटोय, मिसल मारग्रेट, हेमिङ वेलगायत ब्रिटिस लेखकका उपन्यास पढ्न थाले। त्यस बेला वीरगञ्जमा वाणिज्य दूतावासका दुई–तीन शाखा थिए। त्यहाँ उनलाई पार्टीको सूचना खुस्काउन बेलाबेला बोलाइरहन्थे। तर, उनी यताउताका कुरा गरेर पार्टीका कुरा भन्न टारिदिन्थे। त्यहाँका दराज धेरै दामी किताबले भरिभराउ थिए। उनी त्यहाँबाट किताब लगेर पढ्न थाले।

उनी पार्टीको फुलटाइमर कार्यकर्ता भएर गाउँगाउँमा किसानसँग सम्पर्क गरेर पार्टीको प्रचार गर्थे। पार्टीको प्रचारमा झुटो पनि बोल्नुपथ्र्यो, चाकरी चाप्लुसी पनि गर्नु पथ्र्यो, जुन उनलाई स्वीकार्य थिएन र मनमोहन अधिकारीलाई म पार्टी छोड्छु र परिवारको भरणपोषणका लागि काठमाडौँ जान्छु भन्न गए। तर, मनमोहनले उनलाई पार्टी नछोड्न सल्लाह दिँदै भने, ‘तपाईं काठमाडौँ जान चाहनुहुन्छ भने जानुस्। तर, त्यहाँ बसेर पार्टटाइमरका रूपमा पार्टीको काम गर्नुस्।’ उनलाई यो कुरा जायजै लाग्यो। उनी २०१४ सालमा काठमाडौँ आएर रंगनाथ शर्माद्वारा प्रकाशित ‘हालखबर’ पत्रिकाको प्रधान सम्पादक भएर काम गर्नथाले। यसका सम्पादक थिए– दाताराम नामका व्यक्ति। तिनी पुरानो शैलीको कविता लेख्थे। यता मदनमणिले भने दुई अनुच्छेदको व्यंग्य लेख्न थाले। छोटो व्यंग्य लेख्न कठिन थियो। तर, उनले नियमित लेखिरहे। २०१५ सालको चुनावमा उनले हालखबरमा एउटा प्रश्नोत्तर व्यंग्य लेखे–
‘ए भाइ ! बीपीबाबु विराटनगरबाट र गणेशमानजी काठमाडौँबाट चुनाव लड्ने, सूर्यप्रसाद उपाध्यायचाहिँ कुन क्षेत्रबाट चुनाव लड्ने ?
‘उहाँचाहिँ धरहरा क्षेत्रबाट चुनाव लड्नहुन्छ।’
व्यंग्यको अभिप्राय उपाध्यायका लागि चुनाव लड्नु आत्महत्या गर्नुसरह हो भन्ने थियो। नभन्दै उनी दुई–दुई पटक चुनाव लडेर पनि पराजित भए। पछि अर्थात् २०१६ सालको चैतदेखि आफैँले ‘समीक्षा’ साप्ताहिक सुरु गरे। समीक्षा चलाउँदाका पनि उनका आफ्नै मान्यता थिए– कानुनको उल्लंघन हुने कुनै समाचार नछाप्ने। यति हुँदाहुँदै पनि उनको समीक्षा राजा महेन्द्रका पालामा चारपटक र वीरेन्द्रका पालामा पाँचपटक गरी नौ–नौ पटक प्रतिबन्धित भयो। एकपटक त एकै चोटि सातवटा पत्रिकामाथि प्रतिबन्ध लगाइयो। पत्रिका फुकुवा गर्न आफ्नो पहुँच भएसम्मका माथिल्ला ओहदादारी सबैसँग हारगुहार गरे। तर, वर्ष दिनसम्म पनि समीक्षा फुकुवा भएन। अनि उनले आत्मदाह गर्ने निर्णय गरे। त्यस बखत श्रीलंका र भियतनाममा पनि यस्ता आत्महत्या भइरहेका थिए। यसका लागि प्रचार–प्रसार पनि गर्नु थियो। साँझ उनले भोलि बिहान ४ बजे उठेर टेलिफोनको रिसभरमा कपडाले छोपेर विदेशी पत्रकारलाई यसको सूचना दिने निर्णय गरे। उनले टेलिफोनमा के भनेर सूचना दिने भन्ने मजबुन पनि बनाए। ‘आज अपरान्ह ४ बजे राजदरबारको दक्षिण ढोकाअगाडि एक अद्भूत घटना हुँदैछ, इच्छुक महानुभावलाई यसका लागि आमन्त्रण गरिन्छ।’ यो सोचेर उनी सुते।

तर, रात रह्यो अग्राख पलायो। भोलिपल्ट विहान ५ बजे उठ्दा उनको मनस्थिति पूरै परिवर्तित भइसकेको थियो। अपराध गर्ने को हो ? के मदनमणिले अपराध गरेको हो र ? अपराध गर्ने त प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल र उनका भान्जा सञ्चारमन्त्री राधाप्रसाद घिमिरे हुन्। अनि उनको मनले भन्यो अपराध गर्ने तिनीहरू हुन् भने त्यसको डण्ड किन आफूलाई दिने ? उनलाई लाग्यो– तिनीहरूले मेरो अखबार खोस्न सक्छन्। तर, कलम त खोस्न सक्दैनन्। अनि उनी कलमबाटै आफ्नो शक्ति देखाउँछु भनेर ‘माधवी’को पहिलो पृष्ठ लेखे। यस पुस्तकले ‘मदन पुरस्कार’ प्राप्त ग-यो। आफ्नो किसिमको अद्वितीय साहित्य यसरी लेखियो। यद्यपि यसअघि उनले ‘मेरी नीलिमा’ उपन्यास लेखिसकेका थिए। त्यसयता उनका वैदिक दर्शनमा आधारित कैयौँ उपन्यास र अन्य कृति प्रकाशित भए। त्यसपछि आजीवन उनी अध्ययन र लेखनमा लागिरहे। र उनका वैदिक दर्शनमा आधारित कैयौँ उपन्यास र अन्य कृति प्रकाशित भए।

‘ढुंगालाई पुजेको भगवानलाई पुग्छ’ भन्नेमा उनलाई पटक्कै विश्वास भएन। यो कुरा काठमाडौँमा हल्लाको एउटा राम्रै खेती भयो– बनारसमा बस्ने मदनमणि त मूर्तिपूजालाई मान्दैन रे। त्यस बेलाको समाजमा यो समाजप्रतिको आफैँमा एउटा विद्रोह थियो। यो थाहा पाएर उनका माइला काका हान्निँदै काठमाडौँबाट बनारस  पुगे। र, मदनमणिलाई प्रश्न गरे, ‘उसो भए के तँ विश्वनाथको मूर्तिमा टेक्न सक्छस् ?’ उनले भने, ‘सक्छु। तर, त्यसबेला धर्मान्ध पण्डाहरूले तपाईमाथि नै लाठी बर्साउन थाले भने म लिखुरे टाँगमुनिबाट छिरेर उम्किहाल्छु, तपाई आफूलाई जोगाउन सक्नुहुन्छ ?’ त्यसपछि काकालाई मदनले ईश्वर मान्दैन भन्नेमा विश्वास भयो।

उनी आफूलाई नास्तिक ठान्दैनथे। उनको मतमा वेदको निन्दा गर्ने नास्तिक हो। तर, उनलाई वेदप्रति अगाध आस्था थियो। खालि ईश्वरको अस्तित्वलाई उनी स्वीकार्दैनथे।

नेपाल कम्युनिस्ट पार्टीमा लागेर छोडेका व्यक्ति उनी मूर्तिपूजामा आस्था राख्थे। त्यस बेला कृष्ण उनका अत्यन्त मनपर्ने पात्र थिए। ईश्वर होइन, एक इतिहासपुरुषका रूपमा उनको मूर्ति घरमा ल्याउँछु भन्ने ठानेका थिए। तर, सन् १९४२ देखि उनको यो विचार पाखा लाग्यो। उनले मूर्तिपूजामा विश्वास गर्न छाडे। र, १९४५ देखि धर्म मान्दिनँ भनेर मन्दिर जान छाडे।

२०१४ सालको कुरा, उनी हालखबरमा आवद्ध हुनु तीन महिनाअघिको घटना। ती दिनहरू उनलाई आर्थिक प्रतिकूलताले सीमान्तरूपमा सताएका थिए। श्रीमती, बालबच्चा भोकभोकै थिए। उनले पनि दुई दिनदेखि केही खाएका थिएनन्। एक बिहान उनी कसैसँग भेटेर एक–दुई रूपैयाँ सापटी लिएर आउँछु र उनीहरूको पेटमा चारो हाल्छु भनेर ७ बजे नै डेराबाट निस्के। तिनताका उनी प्युखाटोलमा बस्थे। पेटीपेटी हुँदै हिँडिरहेका थिए, भोको पेटका कारण उनका खुट्टा लरबरिइरहेका थिए। बिहान डेराबाट निस्केका बेलुकाको सात बजिसक्यो चिनेजानेको एकजना मानिस पनि भेटिएन। भेटिएकाहरू पनि पुरानै उधारो तिर्न बाँकी मात्र भेटिए, फेरि तिनीहरूसँगै सापटी माग्ने आँट भएन। अनि शारीरिक र मानसिक दुवै रूपले थाकेर लखतरान भएर घर फर्किन थाले।

इन्द्रचोकबाट रञ्जनागल्ली हुँदै माडवारी सेवा समितिबाट दुई कदम अघि मात्र के बढेका थिए, बाटोमा एक रूपैयाँको सिक्का देखे। उनलाई धेरैले चिन्थे, झ्वाट्ट टिपिहाल्नु पनि भएन। अनि त्यसलाई जुत्ताले थिचे। वरिपरि हरे, कसैले हेरिरहेको पो छ कि ! जब कोही छैनन् भन्नेमा आश्वस्त भए अनि झटपट त्यो सिक्का टिपेर खल्तीमा हाले र खुइँखुइँ अगाडि बढे। फेरि अचम्म भयो। एक–एक रूपैयाँका २२ वटा सिक्का बाटामा छरिएका थिए। उनले अनुमान गरे– सायद कुनै महिलाको पटुका खुकुलो भएर झरेका होलान्। उनले ती सिक्का उठाएर खल्तीमा हाले र लामो सास फेरे। र, सोचे– अब एक महिनाको घरखर्च ट¥यो। आर्थिक विपन्नतासँग पनि यति गहिरोरूपमा साक्षात्कार गरेका व्यक्ति थिए मदनमणि। त्यस बेला १२ जनाको परिवारमा दुई छाक अघाउँजी खान पनि संयोग हुन्थ्यो। एक रूपैयाँ सापटी मागेर किनेका आलु उसिनेर बिहान एक थरीले र बेलुका अर्को थरीले खाएर पनि गुजारा गरेका थिए।

विगत ५४ वर्षदेखि उनले अरूलाई लेखाएर बडेमानका कृति प्रकाशित गरे। उनी डिक्टेसन गर्थे र अर्कोले खररर लेख्दै जान्थ्यो। माधवी, बर्लिन डायरीका पाना, ग्यास च्याम्बरको मृत्यु, चरैवेति, विदूषी गार्गी, मेरी नीलिमालगायत दर्जनौँ कृति उनले अरूलाई डिक्टेसन गराएरै लेखाए।

यसको पनि रोचक प्रसंग छ। कुरा २०२२ सालका, उनी समीक्षा चलाउँथे। त्यस दिन उनी समाचार लेखिरहेका थिए। एकजना व्यक्ति आएर समीक्षाका लागि एउटा लेख दिए। लेख सान्दर्भिक थियो, त्योभन्दा पनि उनलाई आकर्षित गर्ने त्यस लेखका सुन्दर हस्ताक्षर थिए। उनले ती व्यक्तिको लिपिको प्रशंसा गरे। तर, ती व्यक्तिले भने, ‘यो मैलै आफ्नै हातले लेखेको होइन, अरू कसैबाट लेखाएको हुँ।’ त्यो लेख समीक्षामा छापियो। तर, उनी यस्तो पनि हुन्छ भनेर छक्क परिरहे। यो प्रभाव उनको दिमागमा केही दिनसम्म मँडारिइरह्यो। अनि उनले पनि सोचे– यदि कसैलाई राम्ररी डिक्टेसन गरेर लेखाउँदा हुन्छ भने किन आफैँ लेख्ने ? त्यस बेला सुन्दर अक्षर लेख्ने शंकर लयाल भन्ने एक व्यक्ति समीक्षामा काम गर्थे। मदनमणिले लयालबाट यो काम सुरु गराए। त्यसपछि उनलाई यो बानी यसरी प-यो, उनले माधवीजस्तो जटिल उपन्याससमेत अरूबाटै लेखाए। उनका भनाइमा हातले लेख्दा यो पाँच सय पृष्ठको भएको थियो। सुरुका एक सय पृष्ठ मात्र आफूले लेखे। र, लेख्दा पनि उनले हालखबरमा पहिलो सम्पादकीयबाहेक फेरि कहिल्यै पुनर्लेखन गरेनन्।

यो उनमा भएको असीम स्मरण शक्ति र विलक्षण प्रतिभाको उदारहण हो। उनले समीक्षा बन्द भएपछि एकपटक प्रज्ञा–प्रतिष्ठानको उपकुलपतिबाहेक कुनै ओहदाको स्वाद चाख्न पाएनन्। उनको एक मात्र काम थियो अध्ययन गर्नु र कृति जन्माउनु। उनी स्वानुशासित थिए। कार्यतालिका बनाएर काम गर्थे। बिहान ४ बजे उठ्थे। उनको संस्कृत, हिन्दी र अंग्रेजी भाषामा राम्रो पकड थियो। बिहान उठेर उनी यिनै ग्रन्थ अध्ययन गर्थे। कुनै वैदिक उपन्यास लेखाउँदै भए, त्यससम्बन्धी पुस्तक अध्ययन गर्थे। दिउँसो ११ बजेदेखि करिब डेढ घन्टा सुत्थे। एभिन्युज च्यानलमा साँझ सात बजेको समाचार हेरिसकेपछि उनी ओछ्यानमा जान्थे। उनलाई भेट्न जाँदा पहिल्यै फोनमा समय लिएर गएको उनी मन पराउँथे र निधारित समयमा पुग्नुपथ्र्यो। समयलाई उनी अत्यन्त महत्व दिन्थे।

‘त्रिदेवी’ उपन्यास लेख्न आरम्भ गरेको क्षण उनको जीवनकै सर्वाधिक खुसीको क्षण थियो। उनले यो उपन्यास  ५२ दिनमा पूरा गरेका थिए। अनि दुःखको क्षण ? तत्कालीन सञ्चारमन्त्री राधाप्रसाद घिमिरेको एउटा दस्तखतबाट समीक्षालगायत सातवटा पत्रिका प्रतिबन्धित भएको क्षण उनको जीवनको सबैभन्दा पीडादायी क्षण थियो। त्यति पीडा उनलाई उसिनेका आलु नुनमा चोबेर बिहान एउटाले र बेलुका अर्कोले खाँदाको क्षणले पनि दिएको थिएन। काडमाडौँ आएपछि एकबिहानै कसैले एक–दुई रूपैयाँ दिइहाल्छ कि भन्दै भोको पेट मुठीले थिचेर हिँड्दा पनि यति मर्मान्त पीडा भएन। उनी भन्थे– ‘त्यस बेला मेरो अस्तित्व समीक्षा थियो, यो बन्द हुँदा मेरा श्वास–प्रश्वास बन्द भएजस्तो भान भयो।’

‘चरैवेति’ मदनमणि दीक्षितको एक कृतिको नाम हो, जसको अर्थ हुन्छ हिँडिरहू। अब दीक्षितको पार्थिव उपस्थिति सम्भव छैन। तर, उनका कृतिले उनलाई अनन्त भविष्यसम्म चरैवेति गराइरहने छन्।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad