१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

१० मुक्तक

सरस्वती श्रेष्ठ ‘सरु’

होचो छु मैदान हुँ आकाश छुन सक्दिनँ,
कलम हुँ धारिलो छु तरबार हुन सक्दिनँ।
बिस्तारै मन–मुटु छोई पगाल्छु पत्थर पनि,
तर, पराइसामु स्वाभिमान बहाउन सक्दिनँ।

अधम जो छ उसले आचरण कहिल्यै सिक्दैन,
जो निमुखा छ यो जमानामा टिक्दै टिक्दैन।
भन्छन् बुढापाका भोगेकै कुरो भन्छन्,  
बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन।

के थाहा हुन्छ खुकुरीलाई अचानोको पीर,
उहीँ फुल्छ मनको दुःख जहाँ हुन्छ भीर।
जसले भोग्छ उसैलाई हो भोगाइले छुने,
संघर्षमै उठिरहोस् स्वाभिमानी शिर।

गाउँ छ गाउँभरि व्यथा छ मेरो देशमा,
उचनिच कहाँ समता छ मेरो देशमा।
कोही अघाएका छन् कोही भोकभोकै,  
अन्याय सहन सक्ने जनता छ मेरो देशमा।

जिन्दगी यो डोहो-याउने तिमी नभए,
घाउ हुन्थ्यो चह-याउने तिमी नभए।
भुल्थेँ होला जिन्दगीका हिसाबकिताब,
पटक–पटक दोहो-याउने तिमी नभए।

खोलो बगिरहेछ फर्केको था छैन,
समय चलिरहेछ पर्खेको था छैन।
दिल कहाँ दुख्यो छामिरहेछु,
टुटेको फुटेको चर्केको था छैन।  

फुल्न सकुँ फूल भएर तिम्रै लागि,
उभिन सकुँ पुल भएर तिम्रै लागि।
मरुभूमिमा मृगतृष्णा पिउन नपरोस्,
फुट्न सकुँ मूल भएर तिम्रै लागि।

मान्छेहरूमा अचेल धीरता छैन,
बजार भाउमा पनि थीरता छैन।
जो–जो आउँछन् हाँसोमै उडाउँछन्,  
कसैलाई यस विषयमा गम्भीरता छैन।  

जन्मेपछि मर्नु पनि पर्छ चोला यो,
बाँचुञ्जेल तँ तँ म म गर्छ चोला यो।
कसलाई थाहा कतिबेला बोटै छोडेर,
ओइलिएर फूलजस्तै झर्छ चोला यो।  

दिनभर काम गर्नेलाई कामै प्यारो छ,
कामकै भर पर्नेलाई कामै प्यारो छ।
काम नगरी बस्न पनि कहाँ मान्छ मन,
मुठी रोपी मानो भर्नेलाई कामै प्यारो छ।

प्रकाशित: ७ भाद्र २०७६ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App