ग्याल्पो थापा भोटे
संयोजक, डोल्पो महोत्सव
डोल्पाका प्रमुख पर्यटकीय आकर्षणहरू केके हुन् ?
प्राकृतिक सम्पदा र भोटे संस्कृति नै डोल्पाको प्रमुख आकर्षण हो। त्यसैले पदयात्रा पर्यटनका लागि डोल्पा सुन्दर गन्तव्य हो। काञ्जिरोवा, धौलागिरि, पुथा हिमाल, फोक्सुन्डो लगायतका ताल, धो–तराप उपत्यका, छार्का भोट, शे–गुम्बा लगायत सम्पदा छन्। हिउँचितुवा जस्ता दुलर्भ वन्यजन्तु पाइन्छ। यार्चागुन्बु जस्तो जडीबुटी पाइन्छ। सयौं वर्ष पुराना बोन तथा बुद्धिस्ट गुम्बा छन्। सबैभन्दा पुरानो सामलिङ गुम्बा छ। गाउँले जीवनशैली पनि आकर्षक छ। आधुनिक विकासले असर नपु-याएको भर्जिन गन्तव्य हो डोल्पा।
पर्यटक कत्तिको आउँछन् ?
विशेषतः विदेशी माथिल्लो डोल्पा र लोअर सर्किट पदयात्रा गर्छन्। गत वर्षको तथ्याङकमा २६ सय पर्यटक डोल्पा घुमेको देखिन्छ। बर्सेनि पर्यटक बढ्दै छन्। विदेशीहरू महिना दिनको अपर डोल्पो पदयात्रा गर्छन् भने दुई सातामा सजिलै लोअर सर्किट पुरा गर्न सकिन्छ। अपर डोल्पोमा क्याम्पिङ गर्नु पर्ने बाध्यता छ।
डोल्पाको प्रवेश शुल्क महँगो भयो भन्ने गुनासो सुनिन्छ नि ?
डोल्पा घुम्न विदेशीले महँगो प्रवेश शुल्क तिर्नु पर्ने बाध्यता छ। विदेशीले अपर डोल्पो घुम्न साताको ५ सय डलर तिर्नुपर्छ भने त्यसपछि प्रतिदिन ५० डलर थपिन्छ। लोअर डोल्पा घुम्न हप्ताको २० डलर तिर्नुपर्छ। महँगो भएकाले पनि कम पर्यटक आएका हुन्। हाम्रो क्षेत्रमा उठेको रकम हाम्रै क्षेत्रको विकासमा खर्च गर्नु पर्छ भन्ने हाम्रो माग छ।
पर्यटन विकासमा देखिएका प्रमुख समस्या केके हुन् ?
डोल्पाको जुफाल एयरपोर्ट साँगुरो छ। नियमित उडान पनि हुँदैन। हुम्ला र जुम्लामा चाप भएका बेला वायुसेवा कम्पनीले डोल्पामा उडाउँदैनन्। फेरि विदेशीले डलरमा भाडा तिर्नु पर्दा पनि यात्रा महँगो हुन्छ। अर्को समस्या बर्खाले काठे पुल बगाइसक्यो। बेलैमा पुल बन्दैन, पदयात्रीलाई समस्या हुन्छ। यस्तो ठाउँमा सरकारले झोलुङे पुल राखिदिनुपर्छ।
विदेशीहरू क्याम्पिङ टे«क गर्छन्, यसबाट डोल्पालीले कत्तिको फाइदा पाएका छन् ?
क्याम्पिङ टे«कबाट हामीलाई खासै फाइदा छैन। हामीले विदेशीको फोहोर उठाउनु मात्र परिरहेको छ। स्थानीयलाई फाइदा हुन टि–हाउस टे«किङ जरुरी छ। त्यसैले सरकारले होटल खोल्न सहयोग गर्नु पर्छ। यसमा हामी जोड दिइरहेका छौं।
आन्तरिक पर्यटकका लागि उपयोगी पदमार्ग ?
लोअर डोल्पो सर्किटमा टि–हाउस टे«किङ सम्भव छ। दिनको दुई हजार रुपैयाँले तीन छाक खाना र बासलाई पुग्छ। जुफालबाट दुनै हुँदै धो–तराप, फोक्सुण्डो भएर जुफाल झर्ने पदमार्ग आकर्षक छ।
भदौ २४ गतेदेखि धो–तराप उपत्यकामा डोल्पो महोत्सव गर्दैहुनु हुन्छ। यसबाट के आशा गर्नु भएको छ ?
समग्र पर्यटन प्रवद्र्धन गर्न र डोल्पामा विकास निर्माणका काममा सरकारको ध्यानाकर्षण गराउन हामी भदौ २४ देखि २८ गतेसम्म डोल्पो महोत्सव गर्दै छौं। विकासका आधारभूत आवश्यकता सडक, बिजुली, शिक्षा, अस्पताल लगायतबाट अपर डोल्पा वञ्चित छ। महोत्सवले यसमा प्रदेश सरकार र केन्द्रीय सरकारको ध्यान तान्ने विश्वास छ।
महोत्सवका मुख्य आकर्षणहरू केके हुन् ?
हामी डोल्पाको रैथाने संस्कृति प्रदर्शन गर्नेछौं। गुम्बाहरूको मुखौटा नृत्य पनि प्रदर्शन गर्छौं। महोत्सवको दोस्रो दिन क्रिष्टल माउन्टेन स्कुलको रजत महोत्सव मनाउँदै छौं। स्कुल ०५१ सालमा खुलेको थियो। महोत्सवमा घोडा दौड, तिर हान्ने खेल प्रदर्शन गर्नेछौं। सवास्थ्य शिविर पनि चलाउने छौं।
महोत्सवको खर्च व्यवस्थापन कसरी गर्नुहुन्छ ?
महोत्सवमा एक करोड रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरेका छौं। एक करोड खर्च गरेर एक अर्ब रुपैयाँ बराबरको परिणाम ल्याउने चाहना छ। डोल्पोबुद्ध गाउँपालिका, जिल्लाका सबै गाउँपालिका र नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारबाट सहयोग जुटाउँछौं। महोत्सवको आयोजक नै डोल्पो बुद्ध गाउँपालिका हो।
प्रकाशित: ७ भाद्र २०७६ ०५:४६ शनिबार