८ वैशाख २०८१ शनिबार
खेल

सुखद सुरुआतको आशामा नेपाल

काठमाडौं – कतार विश्वकप २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली अभ्यासका लागि मलेसिया प्रस्थान गरेको छ। नेपाली टोली मलेसियाको सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण खेलका लागि शुक्रबार मलेसियातर्पm प्रस्थान गरेको हो। नेपाली टोलीले आगामी सोमबार मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ। उक्त टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो।

नेपालले सेम्टेम्बर ५ मा विश्वकप छनोटको पहिलो खेल कुवेतसँग खेल्दै छ। त्यसको पाँच दिन पछि नेपालले चाइनिज ताइपेईसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ।  नेपाली टोलीले विश्वकप छनोटका लागि स्विडिस प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा दुई महिना अघिबाट एन्फा मुख्यालय मैदानमा अभ्यास गरेको थियो।

जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उच्च मनोबल बटुल्ने योजनामा नेपाल हुनेछ। सोही खेलमा आफ्ना गल्ति पत्ता लगाउँदै कुवेतविरुद्ध सुधार गर्ने र नतिजा आफ्नो पक्षमा निकाल्ने लक्ष्यमा रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक कालिन बताएका छन्। ‘टोलीमा अधिकांश युवा खेलाडीको बाहुल्यता छ। नयाँ खेलाडीमा फुटबलको भोक निकै देखिन्छ। सुखद नतिजा निकाल्न उनीहरू आतुर छन्,’ प्रशिक्षक कालिनले भने, ‘बलियो पक्ष युवा र नयाँ खेलाडीको समिश्रण नै हो। विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्दै नयाँ इतिहास रच्ने अवसर हामीसँग छ।’

यता, नियमित कप्तान विराज महर्जन टोलीमा फिटनेसका कारण नअटाएपछि कप्तानको जिम्मेवारी पाएका सुजल श्रेष्ठ पनि प्रशिक्षक कालिनले भनेजस्तै युवा टोलीको संयोजनले नतिजा राम्रो निकाल्नेमा आशावादी छन्। ‘दुई महिनाको नियमित प्रशिक्षणमा हामीले विदेशी कोचबाट राम्रो अभ्यास गरेका छौं। साथै नयाँ खेलाडीमा जोश र उमंग छ,’ कप्तान सुजलले भने, ‘मैत्रीपूर्ण खेलमा सुखद नतिजा निकाल्दै कुवेतसँग मनोबल बटुल्ने लक्ष्यमा छौं। युवा खेलाडीको संयोजनले टोलीमा छुट्टै उत्साह छ।’
विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा एसियाली पावर हाउस अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन्। नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुआत गर्नेछ। मलेसियाको सुपर लिग च्याम्पियनसँगको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक कालिनले विमल घर्तीमगर, दिनेश राजवंशी र हेमन गुरुङलाई टोलीमा फर्काएका छन्।

नियमित सदस्य तथा कप्तान विराज महर्जन, किरण चेम्जोङ र रोहित चन्द पनि मैत्रीपूर्ण खेलका लागि टिममा अटाएका छैनन्। किरण जापानको तेस्रो श्रेणीको लिग क्लबमा ट्रायलका लागि गएका छन। रोहित इन्डोनेसियाको लिगमा व्यस्त छन।

सुजललाई कप्तानको जिम्मेवारी
मनाङ मस्र्याङ्दीबाट व्यावसायिक फुटबल खेल्दै आएका लेफ्ट विंगर सुजल श्रेष्ठलाई मुख्य प्रशिक्षक कालिनको सल्लाहपछि एन्फाले कप्तानको जिम्मेवारी दिएको छ। मैत्रीपूर्ण खेलका लागि सुजललाई नयाँ जिम्मेवारी दिइएको हो। सुजल वि.सं. २०६७ सालदेखि फुटबल खेल्दै आएका छन्।

बंगलादेशमा आयोजना भएको दोस्रो संस्करणको बंगबन्धु गोल्डकपअन्तर्गत सुजलले प्यालेस्टाइनसँगको खेलमा पनि कप्तानी सम्हालेका थिए। नियमित कप्तान निराजन खड्का पहिलो रोजाईमा नपर्दा सुजलले उक्त खेलमा कप्तानीको जिम्मेवारी पाएका थिए। सुजलले सन् २०११ मा भुटानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए।

भुटानसँग पोखरमा सम्पन्न उक्त मैत्रीपूर्ण खेलमा सुजलले अन्तर्राष्ट्रिय फुटबलमा खेल्ने अवसर पाएका थिए। एन्फा एकेडेमीका उत्पादन सुजल लेफ्ट विंगरसँगै लेफ्ट डिफेन्सबाट पनि खेल्न सक्ने कुशल खेलाडी हुन्। फरवार्डमा पनि उत्तिकै चल्न सक्ने माहिर खेलाडी सुजलको जिम्मेवारी कुवेतसँगको खेलमा भने अनिश्चित छ।

नेपाली टोलीः
गोलकिपरः विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ
रक्षकः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डरः  सुजल श्रेष्ठ (कप्तान), सुनील बल, रवि पासवान, अन्जन बिष्ट,  हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्डः विमल घर्तिमगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

मलेसियाको सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण खेलमा जित निकाल्दै नेपाल विश्वकप छनोटको तयारी राम्रो रहेको संकेत दिन चाहन्छ। युवा र अनुभवी खेलाडी सम्मिलित नेपाली टोलीले आगामी सोमबार मलेसियाली क्लबसँग मैत्रीपूर्ण खेल खेल्दै छ।

प्रकाशित: ७ भाद्र २०७६ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App