‘रेबिज लागेका बिरामी हेरेर धेरै पटक रोएको छु’

शनिबार, ०७ भदौ २०७६, ०८ : २५ नागरिक

मान्छे खुसी हुने अनेक तरिका हुन्छन्, कोही दाम कमाएर त कोही नाम कमाएर। तर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनको खुसी हुने तरिका भिन्न छ। बिरामीको उपचारमा सफलता र ती बिरामीको आशीर्वाद पाउँदा उनी औधी खुसी हुन्छन्। बाग्लुङको पाण्डवखानीमा जन्मिएका डा. पुनले रुसमा एमबिबिएस र जापान सरकारबाट छात्रवृत्ति पाई जापानकै पेडियाट्रिक विश्वविद्यालयबाट सन् २००४ मा सरुवा रोग विषयमा पिएचडी गरेका हुन्। प्रस्तुत छ उनीसँग नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीको सारसंक्षेप :

किन सरुवा रोग विषय नै छनोट गर्नुभयो ?
पहिला नेपालमा सरुवा रोगमा मेडिसिनकै चिकित्सकले बिरामी हेर्थे। विशेषज्ञता लिने चलन थिएन। त्यसबेला नेपालमा सरुवा रोगसम्बन्धी एक वर्षे कोर्स थियो। यत्ति पढे पुग्थ्यो। तर जापानमा मैले पाँच वर्ष अध्ययन गर्ने अवसर पाएँ। नेपालमा यस रोगको अध्ययन र उपचार दुवैमा बेवास्ता भएको हुनाले मैले सरुवा रोग विषय छनोट गरेको हुँ।

धेरैजसो चिकित्सक भविष्यको सुरक्षा हेरेर विषय रोज्ने गर्छन् ? तपाईंले किन यही विषय रोज्नुभयो ?
एमबिबिएस सकिनेबित्तिकै टेकु अस्पतालमा काम गरें। यस विषयमा आर्थिक सुरक्षा खासै हुँदैन। आर्थिक लाभ हुने भएको भए यतिखेर बजारमा धेरै सरुवा रोग विशेषज्ञ भइसक्थे। मैले यो विषय रोज्नुको कारण कमाइ भन्दा पनि सन्तुष्टि हो। सरुवा रोगमा विदेशी आएर अनुुसन्धान गरेर ठूलाठूला पुस्तक लेख्ने अनि त्यही पुस्तक हामी पढ्ने गर्छौं। त्योभन्दा हामी आफैंले अनुसन्धान गरेको पुस्तक विदेशीले पढ्न किन नहुने ? थाइल्यान्डमा सारा विदेशी पढ्न आउँछन्, हामीकहाँ पनि आउने वातावरण होस् भन्ने मेरो सोच हो।
नेपालमा सरुवा रोग विशेषज्ञ कति होलान् ?
पाँचजना मात्र छन्। यो विषय अध्ययन गरेर फर्केपछि प्राप्त हुने आम्दानीकै कारण कोही पनि पढ्न चाहँदैनन्। मैले देखेका मेडिकल अफिसर कोही पनि यो विषय पढ्छु भन्दैनथे। 

सन् २००१ मा टेकु अस्पतालमा जापानिज इन्सोफ्लाइटिस, कालाजार र मलेरियाका धेरै बिरामी आउँथे र धेरैको मृत्यु पनि हुन्थ्यो। त्यसबेला तराईमा उपचारको व्यवस्था नभएकाले घण्टाघण्टामा झाडापखालाका बिरामी भर्ना र डिस्चार्ज हुन्थे। बिरामी राख्ने ठाउँ नै थिएन। त्यसकारण मैले यही विषय पढेर उपचार र अनुसन्धानमा योगदान दिने निधो गरें।

तलब नसोध्नु भन्छन्, सोधौं या नसोधौं ?
सोध्दा फरक पर्दैन। मासिक ३५ हजार तलब हुन्छ। अरू विषय पढेका मेरा सहकर्मी साथीहरू मासिक लाख रुपैयाँभन्दा बढी कमाउँछन्।

कमाइ भएन भनेर दुःख लाग्दैन ?
पैसा मनग्गे भएन भनेर पश्चात्तापमा लागेको छैन।  म खुसी नै छु। किनभने उपचारपछि बिरामीले दिने आशीर्वाद जुन छ, त्यो करोडौं रुपैयाँले किन्न नसकिने खुसी हो। हेर्नोस् (मोबाइलको म्यासेज देखाउँदै)– ‘तपाईं धन्य हुनुहुन्छ डाक्टर, मेरो राम्रोसित उपचार गरिदिनुभएकाले।’  विपन्न बिरामी खुसी भएर जाँदा त्यति बेला म पनि खुसी हुन्छु। त्यसैले म कहिल्यै पैसा भएन भनेर दुःखी भइनँ। पहिला पनि यो अस्पताल आउँदा जाउलाखेलबाट ट्याम्पो चढेर आउँथें। त्यही बेला यो रोगबारे विभिन्न योजना र सोच बनाउने गर्थें।

व्यवहार चलाउन पैसा पुग्छ त ?
म झुट बोल्दिनँ, पुगेन भने बुबाआमासँग माग्छु। मलाई यो सेवा गर्ने अवसर दिनुभएको बुबाआमाले नै हो।

मोबाइलमा ‘यस्तो डाक्टर नेपालमा अरू पनि भइदिएको भए हुन्थ्यो है’ भनेर इमेल, मेसेज पठाउँदा खुसी हुन्छु।

यो महँगीमा आर्थिक व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
मेरो व्यवस्थापन केही पनि छैन। म हिँडेरै पनि अस्पताल आउँछु। पहिला पब्लिक गाडीमा आउँथें। व्यस्त भएपछि अहिले बुबाआमाले दिएको गाडी चलाउँछु। मैले आर्थिक लाभ मात्र सोचेको भए जापानले विश्वकै उच्चस्तरको फेलोसिप दिएको थियो। मैले सरुवा रोगमा देखाएको लगाव देखेर विश्वविद्यालयले नै पोस्ट डक्टरेट फेलोसिपका लागि आवेदन दिएको थियो। त्यो फेलोसिप विश्व चर्चित थियो। म त्यो फेलोसिपमा छनोटमा परेको थिएँ। त्यो फेलोसिप लिएको भए म विश्वभरका विश्वविद्यालयमा काम गर्ने अवसर पाउँथें। जुन अवसरले मलाई लाखौं कमाइको अवसर पनि दिन्थ्यो। तर म टेकु अस्पतालकै बिरामीसित भिजिसकेको थिएँ र यही अस्पतालमै केही गर्नुपर्छ भन्ने सोचले त्यो फेलोसिप अस्वीकार गरें। मैले यो अस्पतालाई दक्षिण एसियाकै नम’ना अस्पताल बनाउने सोचले ती सबै अवसर छाडेको थिएँ।

यो विषय पढ्नुअघि अरू विषय पढ्ने सोच थिएन ?     
एमबिबिएस पढ्दा निश्चित गरेको थिइनँ। सन् २००१ तिर टेकु अस्पतालमा काम गर्दा जापानिज इन्सोफ्लाइटिस, कालाजार र मलेरियाका धेरै बिरामी आउँथे र धेरैको मृत्यु पनि हुन्थ्यो। तराईमा उपचार हुँदैनथ्यो। बिरामी दयालाग्दो तरिकाले बसेका हुन्थे। घण्टाघण्टामा झाडापखालाका बिरामी भर्ना र डिस्चार्ज हुन्थे। बिरामी राख्ने ठाउँ नै थिएन। त्यसकारण मैले यही विषय पढेर उपचार र अनुसन्धानमा योगदान गर्ने निधो गरें।

सरुवा रोगको जोखिम कत्तिको छ ?
जोखिमको पहिलो लाइनमा हामी नै हुन्छौं। उपचारका क्रममा बिरामीको रोग सरेर कतिपटक साथीभाइ ढलेका पनि छन्। म पनि कैयौं पटक रुघाखोकीबाट संक्रमित भएको छु।

जोखिम भत्ता पाउनुभएको छ त ?
यहाँ काम गर्ने कुनै पनि चिकित्सकले पाएका छैनन् र माग गरेको अवस्था पनि छैन। विदेशमा भने जोखिम भत्ता दिने अभ्यास छ।  

लाहुरेको छोरा, आफ्नै जीवनमा गरिबीको अनुभूति गर्नुभएन तर विपन्न बिरामीको दुःखको अनुभूति कसरी गर्नुभयो ?
मेरो एउटा नराम्रो स्वभाव छ। त्यो हो म अलिक बढी संंवेदशील छु। बिरामीनजिक बसेर उपचार गर्दा उनीहरूको पीडा बुझेको हुन्छु। उनीहरूको पीडा देखेर कैयौंपटक आफैं रोएको छु। केही महिनाअघि रेबिज लागेको बच्चा अस्पताल ल्याएका थिए। रेबिजले बच्चा मर्दै छ भन्ने कुरा आमालाई थाहा थियो। आमाको आँखाभरि आँसु थियो। त्यो देखेर म पनि रोएँ। एक साताअघि गोदावरीबाट आएकी १७ वर्षीया किशोरीको मृत्यु पनि रेबिजले भयो। उनले कुकुरले टोकेको घाउ सानो छ भनेर सुई नलगाएकी रहिछन्। मर्ने शंकाले उनी बेस्सरी रोइन्। त्यो दिन पनि म धेरै रोएँ। उपचारमा आउने रेबिजका बिरामीको पीडाको छाप मेरो मनमा रहिरहन्छ।

खुसीचाहिं कतिबेला हुनुहुन्छ त ?
जब बिरामी हाँसीखुसी भएर घर फर्किन्छन्, त्यतिबेला म पनि खुसी हुन्छु। बिरामीमा डाक्टरले मेरो दुःख सुनिदेला भन्ने आशा राखेका हुन्छन्। त्यो आशा पूरा गर्ने कोशिस गरेको हुन्छु। मोबाइलमा ‘यस्तो डाक्टर नेपालमा अरू पनि भइदिएको भए हुन्थ्यो है’ भनेर इमेल, मेसेज पठाउँदा खुसी हुन्छु।

बिरामीलाई मोबाइल नम्बर पनि दिनुहुन्छ ?
वास्तविक समस्या परेका बिरामीलाई दिन्छु। मेचीदेखि महाकालीसम्मका बिरामी मलाई फोन गर्छन्।

तपाईंले सोचेजस्तो भएको छ कि छैन ?
सोचेजस्तो त भएको छैन। अहिले पनि टेकु अस्पताल दक्षिण एसियामै राम्रो प्राज्ञिक थलो बन्नुपर्छ भन्ने हो। रोगहरूको जिनमा परिवर्तन भइरहेको हुन्छ। अघिल्लो वर्ष काम गरेको औषधिले अर्को वर्ष काम गर्दैन। त्यसैले अनुसन्धान एकदमै आवश्यक छ। त्यस तहको अनुसन्धान हुन सकेको छैन। तर स्थापित गर्ने कोशिस भइरहेको छ। मेरो सपना टेकु अस्पताल दक्षिण एसियाकै हव बनोस्। जहाँ सिक्नका लागि विद्यार्थी जुनसुकै देशबाट आऊन्।

टेकु अस्पताल त्यसै अनुरूप व्यवस्थित हुँदै छ त ?
सरकारले यो अस्पतालको नाम परिवर्तन गरेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अनुसन्धान अस्पताल राख्दै छ भन्ने सुनेको छु।

अहिलेसम्म यहाँ भएका अनुसन्धान कुन कुन हुन् ?
मैले गरेको अनुसन्धान केही वर्षअघि विश्वमै चर्चित भएको थियो। त्यो हो ‘हाइटीमा भएको हैजा र नेपाली सेनामाथि लगाइएको आरोप’। सो अनुसन्धानले नेपालको गौरव उँचो राखेको थियो। यो अनुसन्धान विश्वका चर्चित पुस्तकमा उल्लेख भयो। नेपाललाई हैजा ल्याउने भन्ने देशको आरोपबाट बचाएको छु। नेपालमा चिकन गुनियाँ भाइरस छ, स्क्रव टाइफस र रायम रोग छ। जारको पानीबाट हैजा भन्ने कुराको पनि अनुसन्धान भइसकेको छ।  

सरकारले सरुवा रोगमा व्यवस्थापन गर्नुपर्ने पक्ष के के हुन् ?
पछिल्लो समय नयाँखाले सरुवा रोगका कीटाणु र रोग आइरहेको अवस्था छ। संसारका लागि नयाँ रोग चुनौती बनेको अवस्था छ।  भइरहेको र आइरहेका दुवै रोगलाई व्यवस्थापन गर्नुपर्छ। इबोला देखिए पनि नेपालमा अनुसन्धान भएको छैन। यहाँ धेरै बिरामी ज्वरोका छन्। कुन रोग लागेको हो भन्ने पहिचान भएकै हुँदैन। त्यसमा अनुसन्धान र सरकारको प्रतिबद्धताको कमी देखिन्छ। यी कुरा व्यवस्थापन गर्न सरकारले नयाँ पिँढीलाई सरुवा रोग अध्ययनमा आकर्षण गर्न सक्नुपर्छ।

तपाईंको यो प्रतिबद्धतादेखि आमाबुबा पनि सन्तुष्ट हुनुहुन्छ त ?
मेरो बुबा ब्रिटिस सेनाको जागिरे। उहाँहरूको इच्छा छोरा शिक्षित होस् भन्ने थियो। सोही कारण मेरो अध्ययन पूरा भएको हो। बेलायती सरकारले एमबिबिएस र जापान सरकारले पिएडी छात्रवृत्तिमा पढाएका हुन्। यी दुवै देशलाई मैले धन्यवाद दिनैपर्छ। त्यसपछि नेपाल सरकारलाई धन्यवाद भन्न चाहन्छु। जसले मलाई काम गर्ने ठाउँ दिएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

iOS १३ आइफोन सिक्स एसभन्दा पछि र सँगै रिलिज भएका आइफोनहरूमा उपलब्ध हुनेछ ...

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

Ncell Footer Ad