८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पाँच जिल्लामा पाँच सय ५८ डेंगुका बिरामी

मकवानपुर - प्रदेश ३ का पाँच जिल्लामा पाँच सय ५८ डेंगुका बिरामी देखा परेका छन्। डेंगीका बिरामी प्रदेशमा सबैभन्दा बढी हेटौंडामा र सबैभन्दा कम भक्तपुरमा देखा परेका छन्। डेंगुका बिरामी हेटौंडा उपमहानगरपालिकामा दुई सय ८७ जना, चितवनमा एक सय ५१ जना, काठमाडौंमा एक सय १६ जना, ललितपुरमा तीनजना र भक्तपुरमा एकजना देखा परेका हुन्।

हेटौंडामा गत आर्थिक वर्ष २०७५/७६ मा २४ जना मात्र डेंगीबाट संक्रमित देखा परेका थिए। समयमै डेंगु नियन्त्रण गर्न सबै तयारीका साथ काम भइरहेको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए। ‘डेंगीका बिरामी बढेमा थप चुनौती हुन सक्छ,’ उनले भने, ‘जाडोयाम नआउँदासम्म डेंगीको संक्रमण हुन सक्छ, त्यसैले जनचेतना जगाउनुको विकल्प छैन।’

डेंगु नियन्त्रण गर्ने मुख्य काम ‘खोज्ने र नष्ट गर्ने’ अभियान रहेको भन्दै सामाजिक विकासमन्त्री दुलालले अभियानमा विद्यार्थीदेखि सबै क्षेत्रका नागरिक परिचालन गर्न आग्रह गरे। विभिन्न माध्यमबाट जनचेतनामूलक कार्यसँगै सबै कर्मचारीलाई अभियानमा लाग्न कार्यालयहरूमा पत्र पठाइसकिएको उनले बताए।

शुक्रबार सामाजिक विकास मन्त्रालयमा बैठक बसी मन्त्री दुलालले सरोकारवाला निकायका प्रमुख र प्रतिनिधिलाई प्रभावकारी रूपमा काम गर्न निर्देशनसमेत दिएका छन्। बैठकमा हेटौंडा अस्पतालका प्रमुख डा. प्रवीण श्रेष्ठ, डा. हरिबहादुर खड्का, भेक्ट्रोपमका प्रमुख यदुचन्द्र घिमिरे, डा. पुरुषोत्तम सेढाई, डा. युवराज पोखरेललगायतको सहभागिता रहेको थियो।

वर्षाअघि र पछि डेंगीको संक्रमणको जोखिम बढी हुने गरे पनि गत आव २०७५/७६ मा मनसुन सिजनमा २० जना र जाडोयाममा चारजना गरी २४ जना मात्र डेंगीबाट संक्रमित भएको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले बताए। हेटौंडा–४ मा सबैभन्दा बढी संक्रमण भएको भन्दै उनले हेटौंडाको मुख्य बजारभर नै उपमहानगरपालिकासहित विभिन्न निकायले डेंगी रोगबाट बच्न सरसफाइ अभियान नै चलाएको थियो।

 

प्रकाशित: ७ भाद्र २०७६ ०२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App