७ वैशाख २०८१ शुक्रबार
राजनीति

समाजवादी पाटीसँग एकीकरण टुंगिनै लाग्दा राजपामा विवाद

काठमाडाैं - समाजवादी पाटीसँग एकीकरण प्रक्रिया टुंगिनै लागेको बेला राष्ट्रिय जनता पाटी नेपालभित्र विवाद सुरु भएको छ। एकीकरणको विषयमा पाटी दुई कित्तामा बाँडिएको हो। राजपाका ६ जना अध्यक्षमध्ये राजकिशोर यादव र अनिल झा एकीकरणको विपक्षमा उभिएका छन्। झा र यादवको असहमति बाबजुद राजपा अध्यक्ष मण्डलका तीनजना सदस्य राजेन्द्र महतो, शरत्सिंह भण्डारी र महेन्द्र यादव समाजवादी पाटीसँग एकीकरण गर्न सक्रिय भएर लागेका छन्। राजपा नेता महन्थ ठाकुर पनि पछिल्लो समय एकीकरणको पक्षमा उभिएको स्रोतको भनाइ छ।

शुक्रबार साँझ समाजवादी पाटीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवको निवासमा समाजवादी पाटी र राजपाका शीर्ष नेताको औपचारिक वार्ता भएको थियो। सो वार्तामा समाजवादी पाटीबाट यादव, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ र गंगा श्रेष्ठको उपस्थिति थियो। यसैगरी राजपाबाट ठाकुर, महतो, यादव र भण्डारी उपस्थित थिए। एकीकरणको विपक्षमा उभिएका राजकिशोर यादव र अनिल झालाई भने शीर्ष तहको वार्तामा बोलाइएको थिएन। वार्तामा दुई पाटीबीच सकेसम्म चाँडो एकीकरण गर्ने सहमति भएको थियो।

कात्तिकसम्म दुई पाटीबीच एकीकरण भएन भने कात्तिक २८, २९ र ३० गते तय गरिएको राजपाको एकता महाधिवेशन प्रभावित हुने भएको छ। राजपा अध्यक्ष मण्डलका सदस्यहरू महाधिवेशनको तयारीभन्दा पाटी एकीकरणको विषयमा बढी केन्द्रित हुन थालेकाले महाधिवेशनको तयारी अघि बढ्न सकेको छैन।

राजपाका अध्यक्ष मण्डलका सदस्य भण्डारीले राजपा र समाजवादी पाटीबीच पाटी एकीरण गर्न विभिन्न तहमा विभिन्न चरणका कुराकानी भइरहेको बताउँदै वार्ता सकारात्मक भएको बताए। उनले भने, ‘अब चाँडै एकीकरण हुन्छ।’ विचार मिल्ने दलसँग पाटी एकीकरण गर्ने राजपाको संस्थागत निर्णय भएको बताउँदै कुनै व्यक्ति विशेषको व्यक्तिगत धारणाले दुई पाटी एकीकरणमा कुनै अवरोध नआउने उनले बताए। ‘कुनै व्यक्ति विशेष धारणाले पाटी एकीकरणमा कुनै समस्या आउँदैन,’ भण्डारीले भने।

यता अनिल झा र राजकिशोर यादवले भने समाजवादी पाटी र राजपाबीचको पाटी एकीकरणको चर्चा हल्ला मात्रै भएको बताउँदै आएका छन्। एकीकरणको विषयमा राजपाभित्र सुरु भएको विवादको प्रभाव भदौ २ गते बोलाइएको राजपाको अध्यक्ष मण्डलको बैठकमा देखिएको थियो। सो बैठकमा अध्यक्ष मण्डलका दुई सदस्य महतो र भण्डारी अनुपस्थित भएपछि बैठक बस्न सकेको थिएन। राजपाको विधानमा अध्यक्ष मण्डलको बैठक बस्न ६ वटै अध्यक्ष अनिवार्य उपस्थित हुनुपर्छ। एकजना अध्यक्ष मात्र अनुपस्थित भए बैठक बस्न सक्दैन। सो दिन राजकिशोरले बैठक बोलाएका थिए। उनी साउन ६ गतेदेखि राजपाको अध्यक्ष मण्डलका संयोजक भएका छन्। राजकिशोरले बोलाएको बैठकमा अनिल झा मात्र उपस्थित भए। ठाकुर र यादव पनि बैठकमा ढिलो गएका थिए।

‘असोज ६ गतेदेखि अध्यक्ष मण्डलको संयोजक पुनः ठाकुर हुँदै छन्। उनी संयोजक भएपछि मात्र अध्यक्ष मण्डलको बैठक बस्ने भएको छ। त्यसयता राजकिशोरले बोलाएको बैठकमा अन्य अध्यक्षहरू उपस्थित हुने सम्भावना कम देखिएको छ,’ स्रोतले भन्यो। यता महतो, भण्डारी र यादवले राजपाको महाधिवेशनअघि नै पाटी एकीकरण गर्ने प्रयास गरेका छन्। कात्तिक अन्तिम साता राजपा महाधिवेशनको मिति तय गरिएको छ। एकीकृत पाटीको पहिलो अध्यक्ष ठाकुर, दोस्रो स्थानमा भट्टराई, तेस्रो स्थानमा यादव र चौथो स्थानमा महतोलाई राख्ने विषयमा करिब सहमति भएको दुवै पाटीका नेता बताउँछन्।

राजपाका एक पदाधिकारी भन्छन्, ‘पाटी एकीकरणका लागि सबैभन्दा ठूलो समस्या भनेको नेतृत्व व्यवस्थापन कसरी गर्ने भन्ने विषय हो। नेतृत्वको विषयमा सहमति जुटेपछि एकीकरण गर्न त्यति समस्या हुँदैन। शुक्रबार रातिसम्म चलेको वार्तामा सैद्धान्तिक विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ। राजपाले संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री मानेको छ भने समाजवादी पाटीले पत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीलाई स्वीकार गरेको छ। यसैगरी समाजवादी पाटीले पूर्ण समानुपातिक प्रणालीलाई स्वीकार गरेको छ भने राजपाले अहिलेको जस्तो मिश्रित निर्वाचन प्रणालीलाई स्वीकार गरेको छ। यस विषयमा पनि सहमति जुुट्ने राजपाका नेताहरू बताउँछन्।

कात्तिकसम्म दुई पाटीबीच एकीकरण भएन भने कात्तिक २८, २९ र ३० गते तय गरिएको राजपाको एकता महाधिवेशन प्रभावित हुने भएको छ। राजपाका अध्यक्ष मण्डलका सदस्यहरू महाधिवेशनको तयारीभन्दा पाटी एकीकरणको विषयमा बढी केन्द्रित हुन थालेकाले महाधिवेशनको तयारी अघि बढ्न सकेको छैन। यसबाट तोकिएको मितिमा राजपाको एकता महाधिवेशन हुनेमा आशंका उत्पन्न भएको छ। राजपाले यसअघि कात्तिकमा महाधिवेशन गर्न जेठ मसान्तसम्म सक्रिय सदस्य र साधारण सदस्यता वितरण गर्ने र असार १० सम्म त्यसको संकलन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिकाअनुसार काम हुन सकेको छैन।

प्रकाशित: ७ भाद्र २०७६ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App