८ वैशाख २०८१ शनिबार
समाज

सामाजिक सद्भाव साझा अपेक्षा

टीकापुर - टीकापुरवासी २०७२ भदौ ७ र ८ गतेको दुःखद घटना बिर्सन चाहन्छन्। उनीहरू त्यस्तो त्रासदीपूर्ण क्षण अब कहिल्यै नआओस् भन्ने कामना गर्छन्। यहाँको समुदाय मिलेर बस्न चाहिरहेको छ। चार वर्षमा समुदायलाई मिलाउने थुप्रै प्रयाससमेत भएका छन्। खासगरी त्यो घटनापछि थारू र पहाडी समुदायबीच दूरी बढेको हल्ला निकै फैलियो। तर यसबीचमा दुई समुदायबीच कुनै झैझगडा भएको पाइएन। यसले पनि दुवै समुदाय मिलेर बस्न चाहेको प्रस्ट हुन्छ।

सो घटनामा ज्यान गुमाएका नाबालक टेकबहादुर साउदको स्मृतिमा स्थापना भएको टेकबहादुर साउद स्मृति केन्द्रले शुक्रबार चौथो साधारणसभा सम्पन्न गरेको छ। साधारणसभामा दुवै समुदायका वक्ताहरूले मिलेर जानुको विकल्प नभएकोमा जोड दिए। उनीहरूले मिलेर मात्रै टीकापुरको नाममा लागेको कलंकको टीकालाई पखाल्न सकिने स्पष्ट पारे।

सुदूरपश्चिम प्रदेशकी सांसद उमा बादीले फुटेर नभई जुटेर दुःखद घटनालाई बिर्सनुपर्ने बताइन्। उनले बाह्य व्यक्तिहरूको उक्साहटमा लागेर दुःखद घटना भएको बताउँदै अब त्यस्ता दिन आउन नदिन टीकापुरवासी सजग रहनुपर्ने बताइन्। थारू कल्याणकारी सभा कैलालीका सचिव देशराज चौधरीले टीकापुर घटनाको पीडालाई लम्ब्याउन नहुने बताए। उनले राज्यले जातजातिका नाममा कोरेको विभाजनमा दुई समुदाय विभाजित हुन नहुनेमा जोड दिए। ‘हाम्रो एउटै भावना हुनुपर्छ,’ उनले भने, ‘हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनुपर्छ।’

टीकापुरले विगत चार वर्षमा बदनामी कमाएको छ। देशभित्र मात्रै होइन, अन्यत्रसमेत टीकापुर द्वन्द्वग्रस्त क्षेत्रका रूपमा चिनिएको छ। कतिपयले टीकापुरवासीलाई त्रासको नजरले हेर्ने गरेको अनुभव धेरैसँग छ। यो कुराले पीडा महसुस हुने गरेको धेरै टीकापुरवासीले बेलाबेलामा भन्ने गरेका पनि छन्। ‘टीकापुरको मान्छे हो भन्ने थाहा पायो भने हेर्ने नजर नै बेग्लै हुन्छ,’ कांग्रेस नेता धर्मराज न्यौपानेले भने, ‘त्यही घटनाले हाम्रो बदनाम भएको छ। हामी सबै मिलेर चिर्नुपर्छ।’

टीकापुरमा जातीय द्वन्द्व छ भन्ने कुरा व्यापक छ। एकजातिले अर्कोलाई प्रतिशोधको भावनाले हेरिन्छ पनि भनिन्छ। नेकपाका युवा नेता भैरव रावल यस्ता कुरालाई गलत साबित गर्न एकअर्काप्रतिको प्रतिशोध त्यागेर हातेमालो गर्न आवश्यक रहेको बताउँछन्। उनी प्रतिशोध पालेर राख्नु भावी पुस्ताका लागि दुर्भाग्य हुने बताउँछन्। सो अवसरमा नेता दिनेशकुमार थारूले सबै खालका आग्रह–पूर्वाग्रह त्यागेर टीकापुरलाई साझा फूलबारी बनाउनुपर्ने बताए। घटनामा ज्यान गुमाएका नाबालक साउदका बुबाआमासमेत टीकापुर घटनालाई बिर्सनुपर्ने सुझाव दिन्छन्। उनीहरू टीकापुर घटनालाई दुई समुदायसँग जोडेर भएको कुप्रचारले दुःखी तुल्याएको बताउँछन्। ‘बाँचेको भए स्कुल जान्थ्यो होला। सम्झिँदा पीडा त हुन्छ,’ आमा यशोदाले भनिन्, ‘तर पनि दुई समुदायबीचको दूरी कम गर्न बिर्सनैपर्छ।’

नाबालकका बुबा नेत्र साउदले टीकापुरको सद्भाव बाह्य व्यक्तिले स्थापित गर्न नसक्ने बताए। उनले आमटीकापुरवासीको एकताले मात्रै सम्भव भएकाले सबैको सहकार्य आवश्यक हुने बताए। टीकापुर घटनामा एक नाबालक र आठ सुरक्षाकर्मीको ज्यान गएको थियो। भदौ ७ गते टीकापुरस्थित सरकारी कार्यालयमा ‘थरुहट प्रदेश’ लेख्न आएका आन्दोलनकारी र सुरक्षाकर्मीबीच शंकरपुरमा झडप भएको थियो। सो झडपमा घरेलु हतियार प्रयोग गर्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सुरक्षाकर्मीको ज्यान गएको थियो। ती नाबालकको भने उनकै घरमा खेलिरहेको अवस्थामा गोली लागेर ज्यान गएको थियो।

सोही घटनाको विरोधमा भदौ ८ गते एक समूहले टीकापुरमा रहेका थारू समुदायका घर र पसलमा आगजनी गरेको थियो। कफ्र्युको समयमा समेत आफ्ना घर पसल छानीछानी आगजनी भएकोप्रति थारू समुदायले तीव्र विरोध जनाउँदै आएका छन्। सरकारले आगजनीमा परेका थारू समुदायका व्यक्तिहरूलाई क्षतिपूर्ति दिएको छ। घटनामा संलग्न भएको आरोपमा राज्यले ५८ जनाका नाममा मुद्दा दायर गरेको थियो। जसमध्ये २७ जना पक्राउ परेका थिए। अन्य सबै अहिले पनि फरार सूचीमा रहेका छन्। पक्राउ परेकामध्ये १६ जना यसै वर्ष छुटेका छन। उनीहरु मध्ये १२ जना तीन वर्ष कैद भुक्तान गरेर, एकजना नाबालक भएर र तीन जना सफाइ पाएर छुटेका हुन्। सांसद रेशमलाल चौधरीसहित ११ जना भने अझै जेलमा छन। चौधरी कैलाली–१ बाट विजयी संघीय सांसद हुन्। अदालतले उनीहरुलाई घटनामा संलग्न रहेको भन्दै दोषी ठहर गरेर जेल सजाय सुनाएको छ।

थरुहट थारुवान सम्मेलन
टीकापुरमा सद्भाव कायम गर्ने भन्दै शनिबार (आज) थरुहट थारुवान राष्ट्रिय सम्मेलन सुरु हुँदै छ। भदौ ९ गतेसम्म हुने सम्मेलनमा २५ जिल्लाका १० हजार थारू अगुवा सहभागी हुने बताइएको छ। व्यवस्थापन समितिका संयोजक रामप्रसाद चौधरीले सम्मेलनको पहिलो दिन उद्घाटन समारोह, ८ गते बन्द सत्र र ९ गते समापन हुने बताए। सम्मेलन प्रति नेकपानिकट थारू संघसंस्थाले आपत्ति जनाएका छन्। उनीहरूले २०७२ भदौको घटनाकै मिति पारेर सम्मेलन गर्दा स्थानीयमा त्रास फैलिने भन्दै आपत्ति जनाएका हुन्।

सम्मेलनप्रति जिल्ला सुरक्षा समितिले समेत चासो देखाएको छ। समितिका अध्यक्ष कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिए। टीकापुरमा झन्डै ३ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्मेलनमा अराजक समूहको घुसपैठ हुने सूचना पाएपछि सुरक्षा व्यवस्था निकै कडा पार्ने तयारी भइरहेको छ। सम्मेलनमा घुसपैठ हुने कुरामा आयोजक पक्षले समेत सचेत रहेको जनाएको छ। संयोजक चौधरीले यस्तो सूचना आफूहरूसमक्ष पनि आइपुगेको बताए।

प्रकाशित: ७ भाद्र २०७६ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App