८ वैशाख २०८१ शनिबार
समाज

आरक्षआसपास सधैं त्रास

फाइल तस्बिर

अमर खड्का
इटहरी - जेठ २६ गते राति बिजुली नभएका बेला सुनसरीको कोसी गाउँपालिका–८ का सदरुल मियाँ घरबाहिर निस्किए। त्यही बेला उनलाई कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको रैथाने हात्तीले आक्रमण ग¥यो। उनी गम्भीर घाइते भए। ५५ वर्षीय मियाँको उपचारकै क्रममा मृत्यु भयो। त्यस्तै केही समयअघि आरक्ष क्षेत्रकै रैथाने हात्तीको आक्रमणबाट केही समयअघि सुनसरी बराह क्षेत्रका सत्यनारायण चौधरीको पनि मृत्यु भयो।

जंगली हात्तीको आक्रमणबाट कोसी टप्पु वन्यजन्तु आरक्ष र आसपासका क्षेत्रका बासिन्दाको मृत्यु हुने क्रम बढ्दो छ। हात्तीबाहेक अर्ना, बँदेल, भालु, चितुवालगायत जनावरको आक्रमण पनि बढ्दो छ। वन्यजन्तुले एकातिर मानवीय क्षति र अर्कातिर घर भत्काउने तथा अन्नबालीमा क्षति पु-याउने गरेका छन्। ‘जंगली हात्तीसँगै अन्य जनावरको आतंकबाट सधैं पीडित हुनुपरेको छ,’ कोसी–३ का श्यामसुन्दर यादवले भने, ‘जंगली जनावरको सुरक्षाका लागि सरकारी निकायले प्रभावकारी योजना ल्याउनुपर्छ।’

कोसी टप्पु वन्यजन्तु आरक्षका हात्तीलगायत जनावरको आक्रमणबाट २०७५/७६ मा सातजना र २०७४/७५ मा सातजनाको मृत्यु भएको छ। त्यस्तै २०७४/७५ मा आक्रमणबाट १८ जना घाइते भएकोमा २०७५/७६ मा यो संख्या २७ पुगेको छ।

जंगली जनावर त्यसमा पनि हात्तीको आक्रमणबाट कोसी टप्पु र आसपासमा आर्थिक वर्ष २०७५÷७६ मा सातजनाको मृत्यु भयो। मृत्यु हुनेमा सुनसरी र उदयपुरका दुईदुईजना र सप्तरीका चारजना छन्। कोसी टप्पुको मध्यवर्ती क्षेत्र, मुख्य क्षेत्र र आसपासका क्षेत्रबाहेक जंगली हात्तीकै आक्रमणबाट मोरङ धनपालथान गाउँपालिका–६ मा पनि डोमी महतोको मृत्यु भयो। हात्तीसँगै अन्य जंगली जनावरको आक्रमणबाट आरक्ष र आसपासका क्षेत्रमा मात्रै २७ जना घाइते भएका छन्।

जसमा सुनसरी र सप्तरीमा १३/१३ जना र उदयपुरमा एकजना छन्। सुनसरीमा सातजना अर्ना, चारजना हात्ती र दुईजना बँदेलको आक्रमणबाट घाइते भएको आरक्षको रेकर्डमा उल्लेख छ। यस्तै सप्तरीमा पाँचजना हात्ती, पाँचजना चितुवा र तीनजना अर्नाको आक्रमणबाट घाइते भएका हुन्। कोसी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती र मुख्य क्षेत्रभित्र आर्थिक वर्ष २०७४/७५ मा पनि हात्तीलगायत जंगली जनावरको आक्रमणबाट सातजनाको मृत्यु भयो। पाँचजनाको मध्यवर्ती क्षेत्र र दुईजनाको आरक्षको जंगल क्षेत्रमा हात्तीको आक्रमणबाट मृत्यु भएको थियो। त्यस अवधिमा १८ जना घाइते भएका थिए।

आरक्षको मध्यवर्ती र मुख्य क्षेत्रबाहेक जंगली जनावरको आक्रमणबाट आर्थिक वर्ष २०७५/७६ मा मोरङमा एक र झापामा दुईजना घाइते भए। कोसी टप्पु वन्यजन्तु आरक्ष तथा आसपासका क्षेत्रमा घुम्ने सबै हात्ती भाले रहेकाले तिनीहरू आक्रामक हुन्छन्। यस्तो विध्वंस रोक्न भालेको शल्यक्रिया वा अन्यत्र स्थानान्तरण गर्नुपर्ने आवाज उठ्न थालेको छ। कोसी टप्पु क्षेत्रमा एउटा मकुना हात्ती छ, त्यसले अरूभन्दा बढी विध्वंस मच्चाउने गरेको आरक्षका कर्मचारी बताउँछन्।

वन फँडानीसँगै हात्ती र अर्नाको चरिचरन क्षेत्र घट्दो छ। ‘आरक्ष आसपासका बासिन्दा घाँसदाउरा लिन जंगल जान्छन्। मानव र वन्यजन्तुबीच उत्पन्न द्वन्द्वका कारण आक्रमण र असुरक्षा बढ्दो छ,’ कोसी टप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन गणेश तिवारीले भने। उनका अनुसार हात्तीलाईं गाउँ प्रवेश गर्नबाट रोक्न सुनसरीको बस्तीतर्फ विद्युतीय घेराबेरा गरिए पनि सप्तरी र उदयपुर क्षेत्रमा भने त्यसो गर्न सकिएको छैन। कोसी पूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ। सप्तरीका कतिपय स्थानमा निर्माण गरिएको विद्युतीय घेराबेरा पनि स्थानीयले भत्ताभुंग पारिदिएका छन् भने उदयपुरको केही क्षेत्रमा घेराबेरा गर्न बाँकी छ।

विद्युतीय घेराबेरालाई पनि लतारेर हात्ती गाउँ प्रवेश गर्छन्। ‘हात्ती रूखको हाँगा सँुडले च्यापेर घेराबेरा लœयाई बस्तीमा पस्छ,’ तिवारीले भने। कोसी टप्पु वन्यजन्तु आरक्षका अनुसार मध्यवर्ती क्षेत्रमा १५ देखि २० वटा जंगली हात्ती छन्। नेपालमा २ सयदेखि २ सय २५ वटा जंगली हात्ती छन्। झापाको बाहुन डाँगीमा भारतबाट १ सय ३० देखि १ सय ५० वटासम्म हात्ती आउने गरेका छन्।

कोसी टप्पु वन्यजन्तु आरक्षमा दुई वर्षअघि गरिएको गणनाअनुसार अर्नाको संख्या ४ सय ४१ थियो। जसमध्ये १२ वटा चितवन राष्ट्रिय निकुञ्जमा सारिएका थिए। अहिले संख्या थप बढेको छ। तर गणना गरिनसकेकाले यकिन भने भएको छैन। आरक्षआसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८ सय ६५ घर परिवारका ८४ हजार ४ सय २३ जना बसोबास गर्छन्। आरक्ष क्षेत्र सुनसरी, सप्तरी र उदयपुर गरी १ सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ।

प्रकाशित: ७ भाद्र २०७६ ०१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App