६ वैशाख २०८१ बिहीबार
समाज

अवकाश पाएका नासुलाई पुनः नियुक्ति

बाँके- नरैनापुर गाउँपालिकाले अवकाश प्राप्त कर्मचारीलाई पुनः कर्मचारीमा नियुक्त गरेको रहस्य बाहिर आएको छ। साविकको नरैनापुर गाविसमै सचिव रहेका नायब सुब्बा मोहम्मद इस्माइल खाँलाई अवकाशपछि पनि गाउँपालिकाले पुनः नियुक्त गरेको रहस्य बाहिर आएको हो। 

निजामती सेवा ऐन, २०४९ को दफा ३३ बमोजिम व्यक्तिगत विवरण (सिटरोल) मा उल्लेखित जन्ममिति अनुसार २०७५ मङ्सिर ३ गते ५८ वर्ष पूरा भएपछि उहाँले अनिवार्य अवकाश पाएका थिए। अनिवार्य अवकाशपछि पनि उनी हालसम्म नरैनापुर गाउँपालिकामै कार्यरत रहेको पुष्टि भएको छ। 

कर्मचारी सङ्केत नं. १२२३३६ रहेका खाँ अनिवार्य अवकाश भएको भन्दै मिति २०७५ वैशाख ७ गते नै जिल्ला समन्वय समितिलाई जानकारी पत्र पठाइसकिएको छ। उक्त पत्र मिति २०७५ वैशाख २६ गते जिल्ला समन्वय समितिमा दर्ता भएको देखिन्छ। तर उहाँ हालसम्म पनि नरैनापुर गाउँपालिकामै कार्यरत हुन। 

अवकाश प्राप्त कर्मचारी खाँ अहिले पनि गाउँपालिकाको जिन्सी प्रशासन तथा खरिद एकाइ प्रमुखका रूपमा कार्यरत रहेको गाउँपालिकाको वेबसाइटमा समेत देखिन्छ। उनले राज्यकोषको चरम दुरुपयोग गर्दै दोहोरो सुविधा लिइरहेको अन्य कर्मचारीहरु बताउँछन्। उहाँले अवकाशपछि पाउने निवृत्तिभरण, औषधोपचार र अन्य सुविधाहरुका साथै गाउँपालिकाको कर्मचारीका रूपमा तलब भत्ताका साथै अन्य सेवा सुविधा लिँदै आएका छन्। 

स्थायी कर्मचारीलाई पन्छाएर अवकाश लिइसकेका कर्मचारीलाई पुनः नियुक्ति गरी महत्वपूर्ण जिम्मेवारी दिएपछि गाउँपालिकाका कर्मचारीहरुसमेत रुष्ट बनेका छन्। गाउँपालिकाका एक कर्मचारीले भने “स्थायी कर्मचारीलाई जिम्मेवारी नदिएर अवकाश लिइसकेका कर्मचारीलाई पुनः नियुक्त गरेर महत्वपूर्ण शाखामा हालीमुहाली गर्न दिइएको छ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले अवकाश प्राप्त कर्मचारी खाँ गाउँपालिकामै कार्यरत रहेको स्वीकार गरे पनि थप जानकारी दिन चाहेनन्। यस विषयमा जनप्रतिनिधिहरुसँग बुझ्न भन्दै उहाँ पन्छिनुभयो। गाउँ कार्यपालिकाले निर्णय गरेको भन्दै उनले भने, “जनप्रतिनिधिसँग बुझ्नुस्, उहाँहरुले गरेको निर्णयबारे मलाई थाहा छैन।”

गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले आफूलाई यस विषयमा जानकारी नभएको बताए। उनले भने, “अहिलेसम्म भएको व्यवस्थाअनुसार ५८ वर्षमा अनिवार्य अवकाश हुनुपर्छ, उनले काम गरिरहनुभएको छ, मलाई थाहा भएको त्यतिमात्रै हो। नियुक्ति कसरी र कहिले भए भन्ने मलाई थाहा छैन।”

कर्मचारीले दोहोरो सुविधा लिन नपाउने व्यवस्था भए पनि इस्माइल खाँले निवृत्तिभरणसँगै गाउँपालिकाबाट पाउने सेवा सुविधा लिइरहनुभएको त्यहाँ कर्मचारीहरूको गुनासो छ। यस विषयमा मोहम्मद इस्माइल खाँसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। रासस

प्रकाशित: ६ भाद्र २०७६ १४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App