७ वैशाख २०८१ शुक्रबार
विचार

धनी बनाउने एउटै शब्द

धनी हुने अर्थात् पैसा कमाउने तरिका के हुन सक्छ? कुनै बन्दव्यापार वा लगानीले वा कडा मिहिनेतले अथवा तपाईंले कुनै चिठ्ठा पार्नु भयो भने धनी बन्न सक्नुहुन्छ। सामान्य जीवनमा भने कुन शब्दलाई विशेष गरी ध्यान दियो भने तपाईंले पैसा कमाउन सक्नुहुन्छ? यसबारेमा विभिन्न किसिमका धारणाहरु प्रचलित छन्।

मानौँ मैले तपाईंलाई सोधेँ– तपाईंलाई धनी बनाउने एउटा शब्द भन्नुस्। त्यो बेला तपाईंको जवाफ के हुन्छ होला? एक्कै छिन सोच्नुस् त? छक्क नपर्नुस्, प्रश्नोत्तरसम्बन्धी एउटा वेबसाइट क्योरा प्रयोग गर्नेहरुलाई यही चामत्कारी शब्दका बारेमा सोधिँदा, निकै रोचक उत्तर पाइयो।

मिरा जास्लोभले लेखिन्, ‘धनी हुने व्यक्ति सधैँ प्रेरक र विश्वसनीय हुन्छन्। उनीहरूले ‘किनभने’ भन्ने कुरामा जोड दिन्छन्। उनीहरुले यही शब्द प्रयोग गरेर अरुलाई प्रभावमा पार्छन्।’ धनी हुनका लागि त्यस व्यक्तिले आफ्ना कुराप्रति सचेत हुनुपर्छ, आफूले गरेका दाबी र कुरा विश्वसनीय बनाउनै पर्छ र आफू विशेष भएको आभाष दिलाउन सक्नुपर्छ। मानिस जे गर्छन्, त्यसका लागि उपयुक्त कारण हुनै पर्छ। त्यसैले धनी हुनेले ‘किनभने’ शब्द प्रयोग गर्दै अरुलाई विश्वासमा लिन्छन् र आफूलाई पनि त्यस कुरामा विश्वस्त पार्छन्।

पेसाले वकिल ब्रेट ए. केनकुसका अनुसार धनी बनाउने एउटै शब्द ‘ब्यालेन्स’ हो। यो दुईधारे शब्द हो। एउटा ‘ब्यालेन्स’ले नेपालीमा सन्तुलन भन्ने अर्थ दिन्छ भने अर्को ‘ब्यालेन्स’ले आम्दानी–खर्चको वासलात बुझाउँछ। जसले जीवनमा सन्तुलन मिलाउँछ र उसको आम्दानीखर्चको अवस्था सन्तुलित हुन्छ, ऊ नै धनी बन्छ। ‘हुन त निरन्तर कुनै काममा लागिपर्ने मानिस धनी पनि हुन सक्छ तर उसले परिवारलाई ध्यान दिन सकेन भने ऊ सुखी हुन सक्तैन,’ ब्रेट भन्छन्। धनी हुनका लागि सन्तुलित दृष्टिकोण, योजना र प्रवृत्तिजस्ता कुराले भूमिका खेल्ने उनको धारणा छ।

अर्का एक व्यक्ति, जो आफैँमा मल्टिपल स्केलेरोसिसका रोगी छन्, पेसाले अधिवक्ता बिल स्टेनको धारणामा धनी हुन एक्लो जीवन बाँच्नु पर्छ। ‘बिहे नगर्नुस्, बच्चा नजन्माउनुस्, तपाईं धनी भइहाल्नु हुन्छ तर यस्तो सम्पन्नताले जीवनको गुणस्तरलाई सुनिश्चित गर्दैन,’ बिलको भनाइ छ।

उद्यमी डकोटा लिम भने ‘भरोसायुक्त’ भन्ने शब्दले मानिसलाई धनी बनाउन सक्छ। उनी भन्छिन्, ‘जो मानिस भरोसालायक हुन्छ, उनीहरुको हातमा पैसाको कमी कहिल्यै हुँदैन।’ त्यस्ता मानिसले बढी नै अवसर पाउँछन्। उनी भन्छिन्, ‘भरोसालायक मानिसलाई नै अरुले घरमा बोलाउने गर्छन् र यसबाट एउटा सामाजिक सञ्जाल बन्छ। यही सञ्जालले कारोबार बढाउँछ।’ भरोसायुक्त चरित्र भएका मानिसप्रति अरुले सहज र सुरक्षित महसुस गर्ने गर्छन्।

यस्तै लालनपालनसम्बन्धी सल्लाहकार फ्रेड क्याम्पोसको धारणामा भने ‘निरन्तरता’मार्फत् तपाईं धनी बन्न सक्नु हुन्छ। उनको धारणा छ, ‘जो जति धनी मानिस मैले चिनेको छु, उनीहरुमा एउटा विशेष गुण हुन्छ। त्यो विशेष गुण भनेको अरुभन्दा राम्रो तरिकाले काम गर्नु। उनीहरुले आफ्नो ध्यान जे कुरामा केन्द्रित गर्छन्, त्यसैमा उनीहरु लागिरहन्छन्। त्यसैमा टिकाउपन उनीहरुले खोज्छन्।’

क्याम्पोस भन्छन्, ‘कोही व्यक्तिले कुनै खास पेसामा विशेषज्ञता हासिल गर्‍यो र त्यसैमा लगातार उम्दा काम गरिरह्यो भने ऊ धनी बन्न सक्छ।’

ओहो! धनी बन्ने बाटा र शब्दहरु त धेरै रहेछन्! मुख्य कुरा त आफू सुहाउँदिलो बाटो खोज्नु नै हो।

बिबिसी

प्रकाशित: २९ कार्तिक २०७३ ०५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App