१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री ज्ञवालीलाई पाकिस्तानी विदेशमन्त्रीको फोन

काठमाडौं - पाकिस्तानका विदेशमन्त्री मखदुम साह महमुद कुरेसीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन वातालाभ गरेका छन्। टेलिफोन कुराकानीमा विदेशमन्त्री कुरेसीले कश्मीर मुद्दामा नेपालको भूमिकाबारे प्रश्न उठाएको पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतले भूमिका खेल्न अपिल गरिएको विज्ञप्तिमा जनाइएको छ। टेलिफोन कुराकानमिा विदेश मन्त्री कुरेसीले दक्षिण एसियाली मुलुकमा शान्ति र स्थिरता कायम गरिराख्नका लागि सार्क अध्यक्षका राष्ट्रका हैसियतले भारतका कारण कश्मीरमा संकटमा परेका जनताको पक्षमा बोलिदिन आग्रह गरेका हुन्।

पाकिस्तानी विदेशमन्त्रीले कश्मीरमा भारतले गरेको हस्तक्षेप अवैधानिक र एकपक्षीय कारवाहीको संज्ञा दिँदै त्यस्तो कदमलाई अन्तर्रा्ष्ट्रिय कानुन र संयुक्त राष्ट्र सुरक्षा परिषद्को सिद्धान्तविपरित भएको जिकिर गरेका छन्। पाक र नेपाली मन्त्रीबीच भारतले कश्मीरमा हस्तक्षेप गरेको तीन सातापछि फोन वार्ता भएको हो। भारतले कश्मीरलाई दिइएको विशेषाधिकार खोस्ने निर्णयसहित धारा ३७० पनि खारेजी गरेपछि अहिले पाकिस्तानसँग तनाव चुलिँदै गएको छ। कश्मीरलाई लिएर भारत र पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व चलिआएको छ।

पाकिस्तानी मन्त्रीलाई जवाफ दिँदै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालले कश्मीरको अवस्थाबारे एकदमै नजिकबाट निगरानी गरिरहेको बताएका छन्। कश्मीरमा देखिएको समस्या नेपालले वार्ताबाटै समाधान गर्न चाहेको पनि उनले उल्लेख गरेका छन्। टेलिफोन वार्ताका क्रममा दुई नेताले निरन्तर सम्पर्कमा रहेर यसबारे चर्चा गर्ने र एकसाथ शान्ति र स्थिरताका लागि काम गर्ने प्रतिवद्धता पनि गरेका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणमा नेपालमा रहेकै बेला पाकिस्तानी मन्त्री कुरेसीले कश्मीर मुद्दालाई लिएर नेपालको भूमिकाबारे प्रश्न उठाएका हुन्। भारतीय विदेशमन्त्री जयशंकर बिहीबार मात्रै नेपालबाट स्वदेश फर्किएका थिए।

प्रकाशित: ६ भाद्र २०७६ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App