coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको पूर्वअर्थमन्त्री पी चिदम्बरम हिरासतमा

बुधबार राति पक्राउ परेका पी चिदम्बरम (बीच)लाई लाँदै संघीय अनुसन्धान ब्युरोका सदस्य। तस्बिर ः एजेन्सी

नयाँ दिल्ली – बुधबार पक्राउ परेका भारतका पूर्वअर्थमन्त्री पलानिप्पन चिदम्बरमलाई प्रहरी हिरासतमा संघीय अनुसन्धनात्मक अदालतले आदेश दिएको छ। अदालतले चार दिनसम्म पी चिदम्बरमलाई हिरासतमा राख्न आदेश दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)का अधिकारीहरुलाई उनीमाथि केरकार गर्न मद्दत पुग्ने भएको छ।
घुस लिएर विदेशी लगानी खाली गरेको अभियोगमा उनीमाथि आरोप रहेको छ। सन् २००७ मा भारतको अर्थमन्त्री हुँदा चिदम्बरमले घुस लिएको भन्दै उनीमाथि अनुसन्धान भइरहेको छ।

७३ वर्षीय पूर्वअर्थमन्त्री चिदम्बरमले भने आफूले केही गल्ती नगरेको बताउँदै आएका छन्। अत्यन्तै असहज परिस्थितिका बीच चिदम्बरमलाई बुधबार राति पक्राउ गरिएको थियो। बुधबार उनलाई पक्राउ गर्न जाँदा प्रहरी र उनका समर्थकबीच घम्साघम्सीसमेत भएको थियो। बुधबार राति पक्राउ परेका चिदम्बरमलाई बिहीबार साँझ अदालतमा उपस्थित गराइएको थियो।

अदालतले हिरासतमा रहेका बेला पनि चिदम्बरमलाई दैनिक रूपमा उनका परिवारका सदस्य र उनका कानुन व्यवासायीहरुलाई भेट गर्न नरोक्न आदेश दिएको छ। यसैगरी उनलाई प्रत्येक ४८ घण्टामा मेडिकल चेकअपको सुविधा दिन पनि अदालतले आदेश दिएको छ।

भारतको प्रमुख विपक्षी दल कंग्रेस आईका वरिष्ठ सदस्य एवं सन् १९८४ देखि निरन्तर सांसद रहेका चिदम्बरमले केन्द्रीय गृहमन्त्रीका रूपमा काम गरिसकेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)का सदस्यहरु बुधबार राति चिदम्बरमको घरको पर्खाल भत्काएर उनलाई पक्राउ गर्न सफल भएको थियो।

सिबिआईका सदस्यहरुले उनलाई पक्राउ गरेर गाडीमा राखेर लैजाँदै गर्दा सञ्चारमाध्यम र उनका समर्थकले घेर्दा चिदम्बरमको घर वरपर कोलाहलको अवस्था सिर्जना भएको थियो। चिदम्बरमले पेश गरेको जमानतको निवेदन गत मंगलबार दिल्ली उच्च अदालतले अस्वीकार गरेको थियो भने सिबिआईले पक्राउ गर्नुपूर्व उनका कानुनी समूह देशको सर्वोच्च अदालत पुगेको थियो।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले चिदम्बरम र उनका छोरा कार्तीविरुद्ध राजनीतिक रूपमा प्रेरित भएर यस्तो मुद्दा बाहिर ल्याएको उनका कानुन व्यवसायीले अदालतसमक्ष बताएका थिए। पूर्वमन्त्री चिदम्बरमसहित उनका छोरालाई पनि घुस लिएर विदेशी लगानी खाली गरेको अभियोग लगाइएको छ। प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका वरिष्ठ नेताहरुले पनि भारतीय जनता पार्टीले शक्तिको दुरुपयोग गरेर चिदम्बरमलाई पक्राउ गरेको आरोप लगाएका छन्।

यसबारे सत्तारुढ भाजपाले भने केही प्रतिक्रिया दिएको छैन। यद्यपि भाजपा प्रवक्ताले चिदम्बरम ‘भगुवा’ भएका कंग्रेस पार्टीले लाज मान्नुपर्ने अवस्था आएको भारतीय सञ्चारमाध्यम एनडिटिभी न्युज वेबसाइटसँग बताएका छन्। बुधबार बिहान संघीय अनुसन्धान ब्युरो (सिबिआई)ले चिदम्बरम फरार रहेको र उनलाई फेला पार्न नसकिएको बताएको थियो। सिबिआईले फरार रहेको भनिएका चिदम्बर बुधबार दिउँसो नै एक पत्रकार सम्मेलनमा देखा परे। उनले सरकारले लगाएको सो आरोपको खण्डन गर्न पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा उनले आफू कानुनबाट नभागेको बरु आफ्ना कानुन व्यवसायीसँग छलफल गरिरहेको बताएका थिए।

हार्भड बिजनेस स्कुल ग्रयाजुएट चिदम्बरमले चारपटक भारतको अर्थमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्।
पी चिदम्बरम कानुन व्यवसायी पनि हुन् र उनले मद्रास उच्च अदालत र सर्वोच्च अदालतमा कानुन अभ्यास पनि गरेका छन्।
प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका वरिष्ठ नेताहरुले भारतीय जनता पार्टीले शक्तिको दुरुपयोग गरेर चिदम्बरमलाई पक्राउ गरेको आरोप लगाएका छन्।

 

प्रकाशित: ६ भाद्र २०७६ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App