coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अनुहार फेर्दै बुटिक एयरपोर्ट

काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० सुरु हुन चार महिना मात्र बाँकी रहँदा नेपाल आउने पर्यटकको सेवा सुविधालाई ध्यानमा राख्दै त्रिभुवन विमानस्थलले एयरपोर्ट सुधारको काममा तीव्रता दिएको छ।

सरकारको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने योजनाअनुरूप सिँगारपटारको काम अहिले तीव्र पारिएको हो। नेपाल भ्रमण वर्ष र बुटिक एयरपोर्टको उद्घाटन जनवरी १ मै गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनअनुरूप अहिले विमानस्थल सुधारको काममा तीव्रता दिइएको छ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार हाल विमानस्थलमा साना तथा ठूला मूर्तिहरू राख्ने काम अन्तिम चरणमा छ भने टर्मिनल भवनको बाहिरी भागमा सिलिकन पेन्ट गर्ने काममा उल्लेख्य प्रगति भएको छ।

विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने योजनाअन्तर्गत सरकारले पहिलो र दोस्रो फेज गरेर सातवटा काम दिएको जनाउँदै पहिलो फेजअन्तर्गत तीन चरणका काम लगभग सम्पन्न भइसकेको उनको भनाइ छ।

महत्वपूर्ण मानिएको दोस्रो फेजको काममध्ये तीन वटाको टेन्डर प्रक्रिया सम्पन्न भइसकेको जनाउँदै दुई हप्ताभित्र उक्त कामको थालनी हुने उनले बताए। बजेटको हिसाबले महत्वपूर्ण मानिएको र झन्डै २६ करोडको लागतमा सम्पन्न हुने दोस्रो चरणको काममध्येको बाँकी एक कामको टेन्डर प्र्रक्रिया अबको एक हप्ताभित्रै सम्पन्न हुने पनि उनले बताए।

अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र रहेको आठ सय क्षमताको यात्रु प्रतिक्षालयलाई चार महिना भित्रै विस्तार गरेर १२ सय क्षमताको बनाइने

अन्तर्राष्ट्रिय टर्मिनल बाहिर क्यानोपी बनाउने र अन्तर्राष्ट्रिय टर्मिनलभित्रको सजावटका लागि टेन्डरको काम मात्र बाँकी रहेकाले केही दिनभित्रै उक्त प्रक्रियाले गति लिने महानिर्देशक क्षेत्रीको भनाइ छ।

अन्य सबै काम समयमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको जनाउँदै उनले क्यानोपी बनाउन केही सयम लाग्ने भए पनि विमानस्थलको स्वरूप नबिग्रिने र सेवा प्रभावित नहुने गरी सकेसम्म जनवरीभित्रै काम सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।

क्षेत्रीका अनुसार नेपालको मौलिकता तथा इतिहास झल्किने र नेपालीपनमा सजावट गर्न अहिले उड्डयन प्राधिकरणका आठ जना इन्जिनियर तथा इन्टेरियर डिजाइनरले काम गरिरहेका छन्।

‘बुटिक भनेको नेपाली मौलिकता झल्किने बनाउन खोजेको हो कुनै संग्रहालयजस्तो बनाउने होइन,’ उनले भने, ‘नेपालमा रहेका सबै क्षेत्रका कला संस्कृति झल्किने खालका सामानले विमानस्थलका भित्ता सजाउने तथा यात्रु प्रतीक्षालय तथा आगमन कक्षका भित्तामा नेपालीपन झल्किने काठ तथा तामाका भाँडा, देवी देवताका मूर्ति, पेन्टिङलगायतले सजाउने क्रम जारी छ।’

विमानस्थलको भित्री भागमा नयाँ कार्पेट, कुर्सी, सोफा राख्ने तथा यात्रु आगमन क्षेत्रमा बगैंचा बनाउने काम सम्पन्न भइसकेको उनले जानकारी गराए।

अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र रहेको आठ सय क्षमताको यात्रु प्रतिक्षालयलाई चार महिना भित्रै विस्तार गरेर १२ सय क्षमताको बनाइने पनि उनले बताए।

‘सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गरेर ट्याक्सी वेलाई रिहाव गर्ने, ट्याक्सी र रनवेलाई जोड्ने लिंक रोड निर्माण तथा रनवेको बीचमा सेन्टर लाइन लाइटको काम सम्पन्न गर्ने प्रक्रियामा छौं,’ उनले भने।

टर्मिनल भवनबाहिर रहेको नयाँ ट्याक्सी पार्किङलाई व्यवस्थित तथा यात्रु आगमन कक्षको व्यवस्थापनलाई कसरी आकर्षण र सुविधा सम्पन्न बनाउने त्यसमा टिम लागिरहेको उनले बताए।

यो हप्ताभित्रै टेन्डर प्रक्रियाबाट विमानस्थलमा दुईवटा कन्वेयर वेल्टको काम अगाडि बढ्ने तथा आन्तरिक विमानस्थल रहेको कन्वेयर बेल्ट (ब्यागेज ह्यान्डलिङ सिस्टम) अबको २० दिन जतिमा सञ्चालनमा आउने पनि उनले जनाए।

प्रचलनमा रहेका सूचना बोर्डलाई परिवर्तन गर्दै अहिलेको नयाँ आधुनिक प्रविधिका सूचना तथा संकेत (साइनेज) बोर्डहरू राख्ने तयारीमा आफूहरू रहेकोे उनले जनाए।

आन्तरिक विमानस्थलमा रहेको भिआइपी कक्षलाई नयाँ स्वरूप दिएको बताउँदै उनले अन्तर्राष्ट्रिय टर्मिनलमा रहेका भिआइपी कक्षलाई पनि नयाँ व्यवस्थापका साथै आकर्षक तथा सुधारात्मक बनाइरहेको जनाए।

अबको बजेटबाट सवारी साधनको सुरक्षा चेकजाँच गर्ने मेसिन खरिदको योजना रहेको बताउँदै उनले अहिले विमानस्थललाई सुरक्षाको हिसाबले निकै महत्व दिएको जनाए।

सवारी जाँच पास यन्त्र (भेकल स्क्यानर)को आवश्यकता रहेको बताउँदै उनले झन्डै १४ करोड पर्ने मेसिन खरिदका लागि बजेटको माग गरिएको पनि जानकारी गराए।

विमानस्थलमा कार्यरत कर्मचारीलाई भ्रमण वर्ष सचिवालयसँगको सहकार्यमा पर्यटकलाई आतिथ्य ग्रहण गर्ने तौरतरिका सिकाउने तथा पारिवारिक वातावरणलाई व्यवहारमा देखाउन सकारात्मक सोचसहितको तालिमका लागि भाद्र १५ गतेबाट एक हप्ताको तालिम दिइने पनि उनले बताए।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन र समयमै बजेट निकासा नहुँदा पर्यटन वर्ष लक्षित योजनालाई समयमै सम्पन्न गर्न ओभर स्पिडमा काम भइरहेको उनको भनाइ छ।

‘बुटिक एयरपोर्ट बनाउन २०७५ माघमा बसेको पहिलो बैठकले फागुन १५ सम्ममा मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत गराएर काम अघि बढाउने योजना योजनमै सीमित बन्यो,’ उनले भने, ‘कार्यविधि बन्न नै चैत लाग्यो भने बजेट आउन जेठ १५ सम्म नै कुर्नुपरेकाले सोचेअनुरूप समयमै कामको सुरुवात गर्न सकिएन।’

प्रकाशित: ६ भाद्र २०७६ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App