७ वैशाख २०८१ शुक्रबार
समाज

पाँचथरमा बढ्दै डेंगी संक्रमण

पाँचथर - डेंगी संक्रमण पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि बढ्दै गएको छ। ज्वरो आएर स्वास्थ्य केन्द्रमा उपचारमा आउने बिरामीमध्ये डेंगी संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि जिल्लावासी चिन्तित हुन थालेका छन्। सुरुमा तराई आउजाउ गर्नेलाई यस्तो संक्रमण भएको अनुमान गरिए पनि बिरामीको संख्या बढ्दै गएपछि डेंगी सार्ने लामखुट्टे पाइन सक्ने आशंका गरिएको छ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगका बिरामीको संख्यामा बढोत्तरी हुँदै गएको हो। बिरामी भएकामध्ये कतिपयको जिल्लामै उपचार भएको छ भने कतिपय सुविधा सम्पन्न अस्पतालसम्म पुगेका छन्। जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले डेंगी संक्रमितको तथ्यांक संकलन गरिरहेको छ। हालसम्म ३३ जनामा यस्तो संक्रमण देखिएको निमित्त कार्यालय प्रमुख तेजबहादुर तुम्बापोले जानकारी दिए। सदरमुकामस्थित जिल्ला अस्पताल पाँचथर र समर्पित अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणको क्रममा डेंगी भएको खुल्न आएको छ। सदरमुकाममा मात्र नभएर गाउँगाउँमा यसको संक्रमण पाइएको छ।

जनस्तरमा रोगबारे यथार्थ जानकारी नहुँदा त्रास फैलिएको छ। डेंगीले आक्रमण गर्दा ज्वरो आउने र उपचारपछि निको हुने भनी सर्वसाधारणलाई जानकारी नगराउँदा गम्भीर प्रकृतिको रोग भएको बुझाइका कारण त्रासको वातावरण बनेको हो। रोगबारे सचेतना जगाउनेबारे स्थानीय सरकार तथा अन्य निकायले ध्यान दिन नसकिरहेको आवा उठिरहेको छ। ‘डेंगीको बिरामी बढ्दै जानु गम्भीर विषय हो। हामीले सञ्चार मध्यमबाट सूचना गराइरहेका छौं। घरवरिपरि पानी जम्न नदिने, सरसफाइमा ख्याल गर्नेलगायत सूचना प्रवाह गरिरहेका छौं,’ तुम्बापोले भने, ‘सुरुमा तराई आउजाउ गर्नेलाई यो संक्रमण भएको हो भन्ने लागेको थियो। अहिले बिरामी बढ्दै जाँदा थप अध्ययन गर्नुपर्ने देखिएको छ। सचेतनाका लागि युनिसेफलाई अनुरोध गरेका छौं।’

रोग देखिएकामध्ये धेरैको उपचार जिल्लामै उपचार भएको छ। पाँचथर अस्पतालमा परीक्षण गर्ने किड्स नहुँदा स्थानीय समर्पित अस्पतालमा परीक्षण भएको थियो। जिल्ला अस्पतालमा ३० थान किड्स आएको र अपुग भएकाले थप झिकाउने प्रयास भइरहेको अस्पतालले जनाएको छ। ज्वरोको उपचार गर्न आएका बिरामीको स्वास्थ्य परीक्षणका क्रममा डेंगी संक्रमण भेटिएको समर्पित अस्पतालका जनसम्पर्क प्रमुख शिशिर आङ्बोले बताए। धेरैको यही उपचार गरिए पनि केहलाई रेफर गर्नुपरेको उनले जानकारी दिए। सुनसरीको धरानमा व्यापक रूपमा फैलिएको भनिएको डेंगी संक्रमण पहाडी जिल्लामा पनि देखिएको हो। पहाडी जिल्लाका लागि यो रोग नौलो रहेको छ।

एक्कासि ज्वरो आउनु, पाँचसात दिन ज्वरो रहनु, आँखाको गेडी र टाउकाको पछाडिको भाग दुख्नु, शरीर कटकटी दुख्नु यो रोगको लक्षण देखिन्छ। समस्या देखिए स्वास्थ्य केन्द्रमा सम्पर्क राखी उपचार गराए पूर्ण रूपमा स्वास्थ्य लाभ लिन सकिने चिकित्सकहरू बताउँछन्। रोग सार्ने लामखुट्टे फैलिएको हो÷होइन भन्ने किसिमको अध्ययन भएको देखिँदैन। यो रोग सन् २००४ तिर चितवनमा पहिलोपल्ट देखापरेको थियो।

प्रकाशित: ६ भाद्र २०७६ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App