coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

'प्लास्टिक फोहोरमा सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ'

काठमाडौं – प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यास अवलम्बन गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्न सहमत भएका छन्। नेपाल उद्योग परिसंघ (सिएनआई) को वातावरण समिति तथा प्लास्ट नेपाल फाउन्डेसनको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यास सम्बन्धी अन्तक्र्रियामा सरकार र निजी क्षेत्रले वातावरण सरंक्षणमा नयाँ कार्ययोजना तय गरेर सहकार्य गर्न सहमति जनाएका हुन्।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले औद्योगिक उत्पादनले वातावरणमा पार्ने प्रभावको मूल्यांकन र त्यसका नकारात्मक असर कम गर्न तीनै तहका सरकार तथा सरकारी निकाय र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने समय आएको बताए।

वन तथा वातावरण मन्त्रालयलाई यसमा पहल लिन सुझाव दिँदै मन्त्री यादवले त्यस्तो पहल लिएर अघि बढ्न उद्योग मन्त्रालय तयार रहेको बताए। प्लास्टिक उपयोग कम गर्न, गुणस्तरीय प्लास्टिकको उपयोग बढाउन र प्लास्टिकजन्य फोहोरको पुनः प्रयोग गर्ने उद्योग स्थापनामा सघाउन मन्त्रालय तयार रहेको उनको भनाइ छ।

सो अवसरमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले दिगो विकासलाई केन्द्रमा राखेर प्लास्टिक प्रयोग कम गर्ने तथा पुनः प्रयोगका लागि प्रोत्साहन गर्ने नीति लिएको बताए।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले प्लास्टिक तथा प्लास्टिकजन्य फोहोरको पुनः प्रयोग तथा व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न महानगर तयार रहेको बताए।

त्यसका लागि महानगरले परिसंघको वातावरण समितिसँग नियमित सहकार्यका लागि पनि न्यौपानेले आग्रह गरे।

सोही अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघ र यसमा आवद्ध उद्योगी–व्यवसायीले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेको बताए। अध्यक्ष मोरले भने, ‘हाम्रै लगानीमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगले फोहोर प्रशोधनबाट १२ मेगावाट ऊर्जा निकालेर उपयोग गरेको छ । वातावरणमा ध्यान दिँदा उत्पादन लागत समेत घटेको छ।’ प्लास्टिकको हकमा पनि प्लास्टिक पुनः प्रशोधित गर्ने उद्योगले आयात कम गरेर अर्बौं रुपैयाँ विदेश जान रोकी विदेशी मुद्रा सञ्चितिमा सहयोग पु-याउन सक्ने मोरले बताए। ‘त्यसैले पुनः प्रशोधित प्लास्टिक उद्योगको सञ्चालनमा सहयोग पु-याउन सरकार र सम्बन्धित निकायले सहयोग गर्न जरुरी छ,’ उनले थपे।

कार्यक्रमका स्रोत व्यक्तिको रुपमा बोल्दै सियाली दिगो विकास अभियानका प्रमुख नोरम्यान चुवाले प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा सिंगापुर, चीन र अन्य एसियाली मुलुकले अपनाएका असल अभ्यासबारे विस्तृत जानकारी गराए।

त्यस्ता असल अभ्यासलाई नेपालले समेत सिकेर प्लास्टिक प्रयोगबाट हुने वातावरणीय ह्रास कम गर्न सक्ने बताए। प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापन तथा यसको पुनः प्रशोधनका लागि नयाँ लगानीको अवसर रहेकोले सरकार र निजी क्षेत्रले साझेदारी गर्न पनि प्रमुख चुवाले सुझाए।

परिसंघको वातावरण समितिका उप–संयोजक कुशल हरजनीले प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर संकलनदेखि व्यवस्थापनमा नयाँ–नयाँ उद्यमी र स्टार्टअपबारे जानकारी गराए।

प्लास्टिकजन्य फोहोर व्यवस्थापन तथा यसको पुनः प्रशोधनका लागि सरोकारवालाबीच थप समन्वय जरुरी रहेको उप–संयोजक हरजनीले उल्लेख गरे।

प्रकाशित: ६ भाद्र २०७६ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App