coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कारागारको भवन नै चिराचिरा

खोटाङ - जिल्ला कारागार शाखा खोटाङको भौतिक संरचना कमजोर देखिएको छ। हस्तान्तरण नहुँदै जग भासिएर चिराचिरा परेको कारागारको भवन २०७२ सालको महाभूकम्पका कारण थप चर्किंदा जोखिमपूर्ण बनेको थियो। जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङको टोलीले साउन ३२ गते गरेको अनुगमनका क्रममा भूकम्पपछि जीर्ण बनेको भवनलाई सामान्य मर्मत गरेर कैदीबन्दीलाई राखेको पाइएको प्रतिवेदन सार्वजनिक गरिएको छ।

कारागारको भौतिक संरचना नाजुक देखिएपछि जिल्ला समन्वय समितिले भौतिक संरचनाको उचित मर्मतसम्भार एवं व्यवस्थापनका लागि प्रतिवेदन तयार पारेर प्रदेश १ सरकारसमक्ष पठाएको छ। कमजोर जगमा निर्माण गरिएकाले कारागार पहिरोको जोखिममा समेत परेको देखिएको प्रमुख चाम्लिङले बताए। फिलिङ गरेको माटोमाथि बनाइएको कारागारको भवन सुरुमै चर्किन थालेको थियो।

डाँफे–इन्द्रेणी–सगरमाथा जेभी कम्पनीले ६ करोड ५६ लाख रुपैयाँ लागतमा कारागार भवन बनाएको हो। कमजोर जगमा बनाइएकाले सो भवन कारागार शाखालाई हस्तान्तरण नगर्दै चर्किन थालेको कारागारका प्रमुख चित्राखर आचार्यले बताए।

अहिले भवनका अधिकांश भित्ता चिराचिरा परेको देखिन्छ। कारागारको सिमेन्टेड भुइँसमेत उप्किएको र चर्किएको छ। कारागार भवनबीच रहेको आँगन पनि क्रमशः भासिँदै गएको कैंदीबन्दी बताउँछन्। तत्कालीन नेकपा माओवादीले २०६२ साल असार ५ गते ध्वस्त बनाएपछि पर्खाल हालेर फिलिङ गरेको माटोमाथि कारागारको नयाँ भवन ठड्याइएकाले केही समयपछि नै चर्किन थालेको अधिकांशको बुझाइ छ।

डाँफे–इन्द्रेणी–सगरमाथा जेभी कम्पनीले ६ करोड ५६ लाख रुपैयाँ लागतमा कारागार भवन बनाएको हो। कमजोर जगमा बनाइएकाले सो भवन कारागार शाखालाई हस्तान्तरण नगर्दै चर्किन थालेको कारागारका प्रमुख चित्राखर आचार्यले बताए। भवनको संरचना भासिएर चर्किन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दासमेत परेको थियो।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीसहितको टोलीको अनुगमनपछि महिला कैदीबन्दी राखिएको भवन चर्किएको, पुरुषवार्डको दक्षिण–पूर्वी कोठाहरूको फ्लोर वाल चिराचिरा परेको, कारागारको दक्षिणतर्फको आधा भाग भासिएको, महिला र पुरुषवार्डबीचको पर्खाल र महिलावार्ड चिराचिरा परेको भेटिएको भन्दै सुधारका लागि २०७२ साल असार २७ गते सरकारलाई सिफारिस गरिएको थियो।

अस्तव्यस्त व्यवस्थापन

अनुगमनका क्रममा जिल्ला कारागार शाखा दिक्तेलको महिला ब्लक जीर्ण भएको, एउटा मात्र सुरक्षा पोस्ट रहेको, महिला स्नानकक्षको व्यवस्था नभएको, कैदीबन्दीअनुसार शौचालय नभएको, ढल निकासको व्यवस्था नभएको, भेटघाट कक्षको व्यवस्थापन गर्न फर्निचर नभएको, फोहोर व्यवस्थापन पक्ष कमजोर रहेको पाइएको जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए।

यस्तै सुरक्षाका हिसाबले बाहिरी घेराबारमा रातको समयमा बत्तीको व्यवस्था नभएको, दरबन्दी भए पनि स्वास्थ्यकर्मी नभएको, पानीको उचित र दीर्घकालीन व्यवस्थाका लागि रिजर्भ ट्यांकी नराखिएको, बन्दी पुस्तकालय स्थापना भए पनि उचित व्यवस्थापन हुन नसकेको, भित्री फोहोर संकलनका लागि डस्टबिनको व्यवस्था नभएको, खेल सामग्री उपलब्ध नभएको जिल्ला समन्वय समितिको प्रतिवेदनमा उल्लेख छ। कारागारको अनुगमनका क्रममा देखिएका समस्या तथा समाधानका लागि सुझावसहितको प्रतिवेदन जिसस प्रमुख चाम्लिङले कारागारप्रमुख चित्राखर आचार्यलाई हस्तान्तरण गरेका छन्।

प्रकाशित: ६ भाद्र २०७६ ०१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App