coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मदन भण्डारी विश्वविद्यालय विधेयक फिर्ता लिन माग

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद्हरुले प्रतिनिधिसभामा पेस भएको मदन भण्डारी विश्वविद्यालय विधेयक फिर्ता लिन आग्रह गरेका छन्। संस्थालाई विश्वविद्यालयमा रूपान्तरण गरेको आरोप लगाउँदै कांग्रेस सांसद्हरुले बिहीबारको बैठक व्यक्तिलाई पोस्नेगरी ल्याइएको विधेयक फिर्ता लिन आग्रह गरेका हुन्।

एमालेका पूर्व नेताले चलाएको फाउण्डेसनबाट विश्वविद्यालय खोल्न लागिएको भन्दै कांग्रेस सांसद गगनकुमार थापाले विश्वविद्यालय ओरालो लाग्ने बताए। यो विधेयकले ‘फाउण्डेसन’ले विश्वविद्यालय खोल्ने बाटो खोलेको भन्दै यसरी खोल्दै जाँदा विश्वविद्यालयले गति लिन नसक्ने धारणा राख्दै थापाले हतारमा विधेयक आएको सुनाए।

यो केन्द्रीय विश्वविद्यालय भनेको के हो र प्रादेशिक विश्वविद्यालय भनेको के हो भन्ने विषयमा स्पष्ट नभइकन विश्वविद्यालय खोल्ने हो भने संघीयताको कुनै अर्थ नभएको उनले बताए। सरकारले मात्र विश्व विद्यालय चलाउने हो या गैर सरकारी संस्थाबाट चलाउने हो यसबारे पनि स्पष्ट हुनुपर्ने उनले बताए। भइरहेका विश्वविद्यालयलाई पार्टीको भागबण्डाबाट वर्वाद बनाएको भन्दै उनले भने, ‘विश्व विद्यालयलाई पार्टीको भागबण्डाको अखडा नबनाउँ।’

उनले उच्च शिक्षाको समग्र नीति बनाएर मात्रै काम गर्न पनि आग्रह गरे। नेकपा सांसद खगराज अधिकारीले पनि ‘फाउण्डेसन’बाट विश्वविद्यालय नबनाई छुट्टै किसिमबाट मदन भण्डारी विश्वविद्यालय बनाउन आग्रह गरे। सरकारले आफ्नो नीतिमा ७० प्रतिशत प्राविधिक तर्फ लैजानुपर्ने औल्याएको बताउँदै उनले यो विश्वविद्यालयलाई प्राविधिक विश्वविद्यालय बनाउनुपर्ने बताए।

‘मदन भण्डारीको श्रद्धा गर्नको निम्ती उहाँका पूराना समर्थकले बनाएको ‘फाउण्डेसन’ जस्तो पवित्र संस्थालाई यो विधेयकमा नजोडौं,’ उनले भने। नेकपा सांसद रामकुमारी झाँक्रीले विश्विद्यालय बनाउदा दुई तीनवटा कुरा सरकारले बुझ्नुपर्ने हो तर बुझन नसकेको बताइन्। बहुविश्वविद्यालयका कुरा हामीले विद्यार्थी राजनीतिमा कुरा उठाएको उनले बताइन्। ‘तर अहिले भइरहेका विश्वविद्यालयकाको हालत के छे हेरेका छौं ?,’ उनले भनिन्।

विश्वविद्यालयमा शैक्षिक विकृती र विसंगती भिœयाइएको उनको भनाइ छ। ‘सरकारको लगानीमा विश्वविद्यालय हुनेछ तर यहाँ संस्थाले चलाएजस्तो बनाइएको छ,’ उनले भनिन्, ‘संस्थाले चलाउने गरेका पनि छन् तर यहाँ यो सम्भव होला कि नहोला, अर्को सरकारले अनुदान देला कि नदेला यो कुरा महŒवपूर्ण छ,’ उनले भनिन्। कस्तो विश्वविद्यालय बनाउन खोजेको हो सरकारले स्पष्ट गर्नुपर्ने उनले बताइन्।

नेकपाका सांसद नवराज सिलवालले कुनै पनि मुलुकको समृद्धिको आधार शिक्षा नै हो भन्दै मदन भण्डारी विश्वविद्यालय आवश्यक रहेको बताए। ‘विश्वविद्यालयको कुरा गर्दा सिस्टमको, ट्रान्सफरेन्सीको कुरा हुनुपर्दछ, राजनीतिक हस्तक्षेपका कुराले यसलाई प्रभाव पार्नु हुँदैन,’ उनले भने।

यो बर्ष ६५ हजार विद्यार्थी मात्रै विदेशमा पढ्न गएका छन् भन्दै उनले भने ‘अन्तर्राष्ट्रिय गुणस्तरका विश्वविद्यालय बनाउन नसक्ने हो भने विश्वविद्यालयको कुनै अर्थ छैन ’ उनले भने। नेकपाका प्रमुख सचेतक देव गुरुङले भएका विश्वविद्यालयलाई नै बढी गुणस्तरीय बनाउनु पर्नेबताए। ‘संख्या मात्रै बढाउने हो भने राज्यलाई भार मात्रै पर्ने हुन्छ,’ उनले भने, ‘विज्ञान र प्रविधिमा बढी केन्द्रित गर्नुपर्दछ।’

नेकपाका सांसद उमेश श्रेष्ठले धेरै लामो समयपछि मदन भण्डारी विश्वविद्यालय आएको बताए। ‘तर नेपालमा ११ विश्वविद्यालय छन् र ती मध्ये धेरै विश्वविद्यालयको हालत खराब छ’ उनले भने।। संघको विश्वविद्यालय कस्तो हुने प्रदेश विश्वविद्यालय कस्तो हुने स्पष्ट नीति बनाउनुपर्नेमा उनले जोड दिए। छाता ऐन बनाएर यसबारे स्पष्ट बनाउनु पर्ने उल्लेख गर्दै उनले भएका विश्वविद्यालय अस्तव्यवस्त भएका कारण नयाँ विश्वविद्यालयको अवस्था राम्रो नहुने बताए।

नेकपाका सांसद् महेश्वरराज गहतराजले यस विधेयकलाई विज्ञान र प्रविधि मात्रै हुनुपर्ने बताए। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक फिर्ता लिनेभन्दा पनि कमी कमजोरी सच्याउनुपर्ने बताए। ‘कहाँ कहाँ सच्याउने हो त्यतातिर जाउँ, हामीले संसद्मा लिएर आएका छौ, कमि छन् भने संसद्बाटै त्यसलाई सच्याउन सक्छौं,’ उनले भने।

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा निर्णयार्थ प्रस्तुत गर्दा स्वीकृत भएको थियो। अब यो विधेयकमाथि संशोधन राखिने छ।

प्रकाशित: ६ भाद्र २०७६ ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App