७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीले भने– 'तपाईंले दिएको स्वास्थ्यलाभको शुभकामना चाहिँदैन'

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद चर्कंदै गएको छ। पार्टीमा नेताहरूको जिम्मेवारी बाँडफाँटसँगै मर्यादाक्रम हेरफेर गरिएपछि ओली र नेपालबीच सुरु भएको विवाद चर्कंदै गएको हो।

ओली बिहीबार स्वास्थ्य उपचारका लागि सिंगापुर जानुअघि नेपालले स्वास्थ्य लाभका लागि दिएको शुभकामनासमेत अस्वीकार गरे। ओलीले आफ्नो स्वास्थ्यका विषयमा नेपालले नकारात्मक टिप्पणी गर्दै हिँडेको भन्दै शुभकामना अस्वीकार गरेका हुन्।

ओली सिंगापुर जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा नेपालले स्वास्थ्य लाभको कामना गरेका थिए। जवाफमा ओलीले ‘तपाईंको शुभकामना चाहिँदैन’ भनेका थिए। यसबारे नेपालले नागरिकसँग भने, ‘मैले उहाँ (केपी शर्मा ओली) को स्वास्थ्य लाभको कामना गरें तर उहाँले चाहिँदैन भन्नुभयो। उहाँले किन त्यसो भन्नुभयो त्यो विषय म जान्दिनँ।’

बैठकमा ओलीले ‘तपाईं अध्यक्ष कि म अध्यक्ष’ भनेपछि नेपालले यसरी जबाफ फर्काए, ‘निर्वाचन (तत्कालीन एमालेको महाधिवेशन) मा तपार्इंको जित र मेरो हार सामान्य मतमा भएको हो, एक्लै पेलेर जान सकिन्छ भन्ने नठान्नुस्।’

बैठकमा ओलीले ‘म उपचारका लागि सिंगापुर जाँदैछु, अब बाँकी सांगठनिक एकीकरणको काम उहाँ (अर्का अध्यक्ष पुष्पकमल दाहालले ) सम्हाल्नु हुने नै छ। तर निर्णय भने मेरो सल्लाहबिना हुनेछैन’ भनेपछि उनी र नेपालाबीच भनाभनसमेत भएको थियो। ओलीले ‘आफ्नो अनुपस्थितिमा पार्टीका बैठकको अध्यक्षता दाहालले गरे पनि निर्णय मेरै सल्लाहमा हुनेछ’ भनेपछि नेपालले ‘यहाँ कोही तलमाथि छैनन्, गम्भीर विषयबाहेक सल्लाहमा मात्रै निर्णय हुनेछ, गम्भीर विषय भए बैठक नै स्थगित गराएर तपार्इंलाई कुर्नु सकिन्छ नत्र बैठकमा निर्णय गर्न कसैले पनि रोक्न सक्दैन, आफूले एक्लै काम गर्न खोज्ने तर अहिले आफू बेगर दायाँबायाँ गर्नुहुन्न’ भन्ने कुरा कसरी आयो भनेपछि विवाद सुरु भएको थियो। बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार ओलीले

‘तपाईं अध्यक्ष कि म अध्यक्ष’ भनेर नेपाललाई यस्तो कुरा नगर्न भनेपछि नेपालले पनि ‘निर्वाचन (तत्कालीन एमालेको महाधिवेशन) मा तपार्इंको जित र मेरो हार सामान्य मतमा भएको हो, एक्लै पेलेर जान सकिन्छ भन्ने नठान्नुस्’ भन्ने जबाफ दिएका थिए।

त्यस्तै नेपालले स्वास्थ्य लाभको कामना गरेपछि ओलीले ‘मेरो स्वास्थ्यबारे नकारात्मक टिप्पणी गर्दै हिँड्ने मानिस भएकाले तपाईंको शुभकामना चाहिँदैन’ भनेपछि दाहाल, प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेका थिए। ‘स्वास्थ्य लाभका लागि दिइएको शुभकामना पनि चाहिँदैन भन्ने कुरा बेठिक भयो, यसलाई ठिक भयो भन्न सक्दैनौं, मानवीय कुराका अगाडि अरु विषय गौण हुन्छन् ’, दाहाल, गौतम र श्रेष्ठलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो। त्यसपछि ओलीले ‘मलाई मरिहालोस् भन्नेको स्वास्थ्यलाभको शुभकामना कसरी लिनु’ भनेपछि नेपालले ‘मैले त्यो कुरा भनेको प्रमाणित गराउनुस्, छानबिन गर्नुस्, तपार्इंजस्तो निकृष्ट सोच राख्ने व्यक्ति म होइन, त्यस्तो अपराध सोच्न पनि सकिँदैन’ भनेका थिए। दुई नेताबीच भनाभन भएपछि दाहालले ‘शुभकामना नै लिन्न भन्ने कुरा सुहाउँदो नभएको’ भन्दै बैठक टुंग्याउन आग्रह गरेका थिए।

बैठकले ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष दाहाललाई बैठक बोलाउने अधिकार दिएको छ। सो विषयमा कसैले आपत्ति जनाएनन्। अघिल्लो सचिवालय बैठकमा वरिष्ठ नेता नेपालले राखेको सातबुँदे ‘नोट अफ डिसेन्ट’ (असहमतिपत्र) को वैधानिकतामाथि अध्यक्ष ओलीले प्रश्न उठाएपछि बुधबारको बैठकमा पनि दुई नेताबीच चर्काचर्की भएको थियो। खासगरी नेपालले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने भनेपछि ओली रुष्ट भएको नेताहरू बताउँछन्।

ओलीले नेपालको वरीयताक्रम हेरफेर गर्न सचिवालय बैठकमा प्रस्ताव गरेपछि उनले पनि ‘एक व्यक्ति एक जिम्मेवारी’ लागू गर्नुपर्ने भन्दै नोट आफ डिसेन्ट लेखेका थिए। नेपालले अष्लक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली र घनश्याम भुसाललाई सचिवालयमा ल्याउनुपर्ने र पूर्वमाओवादी केन्द्रका तर्फबाट पनि दुई जना नेतालाई सचिवालयमा थप गरेर १५ सदस्यीय बनाउनुपर्ने प्रस्ताव राखेका थिए। यो प्रस्ताव मान्दा आफू अल्पमतमा पर्ने डरले ओलीले अस्वीकार गरेका थिए।

सचिवालय बैठकले निर्णय नै नगरेको विषयमा नेपालले असहमति दर्ज गराएको भन्दै ओलीले आपत्ति जनाएका थिए। पार्टी एकीकरणका बेला आलोपालो अध्यक्षको कुरा उठे पनि विधानमा सो प्रावधान हटाइएपछि पार्टी बैठकको अध्यक्षता ओली आफंैले गर्दै आएका छन्। ‘मैले विधानमै भएको कुरा उठाएको हो। विधान अनुसार तपाईं (ओली) ले पनि एक पद छोड्नुपर्छ। त्यसकारण कसैलाई पदैपद कसैलाई खाली राख्न मिल्दैन। यो न्यायसंगत पनि हुँदैन’, नेपालले सचिवालय बैठकमा भनेका थिए।

‘न्याय सबैलाई हुनपर्छ व्यक्ति विशेषलाई न्याय गर्ने नाममा अरुलाई अन्याय भएको कुरा कसले उठाउने,’ नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तत्कालीन एमालेको नवौं महाधिवेशनपछिको वरीयतालाई आधार मानेर झलनाथ कमरेडलाई अध्यक्षपछिको मर्यादाक्रममा राख्ने उचित निर्णयलाई मैले सर्वसम्मत स्वीकार गरेको हुँ। त्यही कमिटीका महासचिव नेकपाको सचिवालय सदस्य हुने, उपमहासचिव महासचिवमा बढुवा हुने, उहाँहरूभन्दा सिनियर त्यतिबेलाका तीनजना उपाध्यक्ष र एकजना उपमहासचिवलाई चाहिँ सचिवालयमै राख्न नहने विषय मैले आज मात्रै उठाएको होइन।’

नेता नेपालले यो विषयलाई पार्टीको तल्लो तहसम्म छलफलमा लगिनुपर्ने बताएका थिए। ‘यसलाई देश्व्यापी लिएर जानेछु, एकल निर्णय, अन्यायमा सामूहिक सही अब चल्दैन’, नेपालले भनेका थिए। अहिले सचिवालयमा नेपाल एक्लै परेका छन्। ओली सिंगापुर गएपछि बिहीबार दिउँसो दाहाल र नेपालबीच भेटघाट भएको छ। नेपाल निवास कोटेश्वरमा दुई नेताबीच भेटघाट भएको स्रोतले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०७६ ००:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App