७ वैशाख २०८१ शुक्रबार
अर्थ

ओलीले दिए सहकारी प्रशिक्षण

झापा- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली तीखो राजनीतिक घोचपेचसहितको भाषणका लागि परिचित छन्। अधिकांश स्रोताको अपेक्षा पनि त्यही हुन्छ। तर, आइतबार गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा सहभागी ओलीले राजनीतिक कुरै गरेनन्। सहकारीका कार्यक्रममा उनी 'प्रशिक्षक' जसरी सहभागी भए।

नेपालकै नमुना सहकारी बनेको मेचीनगरको नेपाल बहुद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित डेरी उद्योग उद्घाटनका लागि मेचीनगर आएका ओलीले सहकारी क्षेत्रभित्रका सकारात्मकदेखि नकारात्मक विषयसम्मको चर्चा मात्रै गरेनन्, सहकारी सञ्चालनका विधि र प्रक्रियाबारे पनि बेलिविस्तार लगाए।

'सहकारीले वित्तीय अनुशासन कायम गरेनन् भने त्यसले विकृति ल्याउँछ,' ओलीले भने, 'सहकारी संस्थाले कतिसम्म लगानी गर्ने, कतिसम्म भौतिक संरचनामा खर्च गर्ने, कतिसम्म उत्पादनका लागि लगानी गर्ने ख्याल गर्नुपर्छ। यसो नगर्दा सहकारी डुब्छन्।'

'कुनैबेला यो मुलुकमा सहकारीको बाढी नै आयो,’ ओलीले भने, 'सहकारी संस्था भनेर सर्वसाधारणलाई विभिन्न सपना देखाउने, ती सपनामा सीधासाधा सर्वसाधारण अल्मलिने, झुक्किने अनि झुक्याएर रकम जम्मा गर्न बाध्य पार्ने जनताबाट संकलन भएको रकम आफ्ना निम्ति खर्च गरिदिने र पैसा बर्बाद पारिदने यस्ता ठग प्रवृत्तिका कारणले पनि कतिपय सहकारी झस्किनु परेको हो।’ यसकारण पनि सहकारी सञ्चालकले सहकारीमा वित्तीय अनुशासनको पालना गर्नुपर्ने ओलीको सुझाव थियो।

सहकारीले कार्यालय भवन  निर्माणमा बढी खर्च गर्ने, ओभर स्टापिङ गर्ने गरेर अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या आउने उनको भनाइ थियो। जहाँ थोरै पैसा छ तर ठूला र धेरै काम गर्नु छ र आत्मनिर्भर बन्नु छ भने त्यहाँ सहकारी आवश्यक पर्ने ओलीको भनाइ थियो। ठूला र पुँजीपतिलाई सहकारी आवश्यक नपर्ने भन्दै ओलीले भने, 'तर, छरिएर रहेका किसान, पैसा धेरै नभएका मान्छेलाई सहकारी अनिवार्य छ।’ थोरै पैसा भएका मानिस एकापसमा सहकार्य गर्दै सहकारीका माध्यमबाट अघि बढे धेरै पैसावाला ठूल्ठूला पुँजीपतिले जस्तै ज्यादै ठूल्ठूला काम सहजरुपमै गर्न सक्ने उनको भनाइ थियो। सहकारीले कृषि, पशुपालन, डेरीलगायत क्षेत्रमा सरकारले भन्दा ज्यादै ठूला काम गर्न सक्ने उनले बताए।

सहकारीले गर्न नपाउने भन्ने केही  नभएको प्रष्ट पार्दै ओलीले भने, 'त्यसो गर्नु पनि हुँदैन, तर सहकारीका नाममा विभिन्न खालका विकृति देखिएकाले अलिकति झस्किएको चाँहि हो।’ आफूले सहकारी मन्त्रालय र सहकारी संस्थाको लडाइँलाई ज्यादै नजिकबाट नियालेको भन्दै ओलीले भने, 'मैले सहकारी मन्त्री र सहकारीकर्मीबीचको लडाइँ पनि देखेको छु, सहकारी संस्था सहकारीको हितका लागि काम गर्नुपर्छ भन्ने, सहकारी मन्त्रालय फरक ढंगले नियन्त्रण गर्नुपर्छ भन्ने। नकरात्मक पक्षलाई मात्रै देखाएर सकरात्मक काममा व्यवधान गर्ने खालका प्रवृत्ति पनि देखिएका छन्।’

२०७२ वैशाखबाट उत्पादन सुरु गरेको एनएमसी डेरी उद्योग उद्घाटनका लागि आएका उनले उद्योगको प्रशंसा गरे। एनएमसी डेरी उद्योगले २०७२ साल वैशाख १ गतेदेखि परीक्षण उत्पादन सुरु गरेर वैशाख १३ गतेदेखि आफ्ना उत्पादन लिएर उपभोक्तामाझ उपस्थिति जनाएको हो।

उद्योगले अहिले १७ सय किसानबाट उत्पादित दूध १६ वटा चिस्यान केन्द्र, केही गोठ र संकलन केन्द्रबाट खरिद गरिरहेको छ। दैनिक सरदर ८ हजार लिटर कच्चा दूध खरिद गर्ने र त्यति नै दूधका परिकार बनाएर बजार पठाउने गरेको छ। अहिले उद्योगबाट स्टान्डर्ड मिल्क, योगर्ट, दही, मोही, घीउ, पनिर, आइसक्रिम, खुवा र मिठाइ उत्पादन भइरहेको छ। उद्योगमा संस्थाले अहिलेसम्म १२ करोड ७५ लाख रुपैयाँ लगानी गरिसकेको जनाएको छ। नजिकमा चिस्यान केन्द्र हुँदा किसानले आफ्नो उत्पादन बिहान बेलुका दुवैपटक बिक्री गर्न पाएकाले किसान व्यावसायिक बन्ने अवस्था सिर्जना भएको छ।

प्रकाशित: २९ कार्तिक २०७३ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App