गौरा गीत : महिला संवेदनाहरुको अद्भूत संगम

बिहिबार, ०५ भदौ २०७६, २० : २९ चेतना शर्मा

कुनै पनि समाजले सदियौ देखि मनाउँदै आइरहेका कला संस्कृति, लोकगाथाहरुले उक्त समाजको बिभिन्न  कालखण्डमा घटित बिकासक्रमलाई प्रतिनिधित्व गरिरहेका हुन्छन्।  यसअर्थमा, भन्नुपर्दा समाजमा मनाइदैं आएका चाडपर्व र लोकसंस्कृतिहरुले समाजमा रहेगरेका मूल्य मान्यता र परम्पराहरुलाई बुझ्ने महत्वपूर्ण आधारहरु प्रदान गर्दछन्। जातिगत, स्थानगत विविधताका आधारमा  हाम्रो देशका बिभिन्न स्थानहरुमा समय सन्दर्भ अनुरुप मौलिक लोकपरम्पराहरु मनाइँदै आइएका छन्। यस्ता चाडपर्व, लोकसंस्कृतिहरु मनोरञ्जनका दृष्टिकोणले मात्र नभइ सो स्थानमा बसोबास गर्दे आएका मानिसहरुको आचारबिचार, परम्परा, ऐतिहासिक घटनाहरु तथा खानपीन रहनसहन आदिको अध्ययन गर्ने महत्वपूर्ण माध्यमहरु पनि हुन भन्दा अतिशयोक्ति हुँदैन्। 

यसै परिप्रेक्ष्यमा, नेपालको सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वले पनि यस स्थानको कला संस्कृतिलाई बिशिष्ट र शसक्त तरिकाले  प्रतिनिधित्व गरिरहेको हुन्छ। प्रकृतिक सौन्दर्य उत्कर्षमा पुगेको समयमा मनाइने यो पर्व पूजाअनुष्ठान लगाायत उक्त अवसरमा गाइने देउडा, फागहरु, चैत, अठ्वाली जस्ता गायनहरुका कारण निकै महत्वपूर्ण र मूल्यवान बनेको हुन्छ। अर्को महत्वपूर्ण कुरा भनेको यस अवसरमा गाइने गीतहरुले यस क्षेत्रको सभ्यता र समकालीन समाजमा निहित चेतनाको स्तरलाई चिनाउन समेत सघाउ पुर्याइरहेको देखिन्छ। छोट्करीमा, यहाँका लोकगाथाहरुले सदियौंदेखिको सभ्यताको अवलोकन गर्न “गतिशील अभिलेखको” काम गर्दछन्। 

गौरा पर्वका अवसरमा गाइने देउडा, घरगीत, चैत, आदिका माध्यमबाट महिलाहरु समूहमा आवद्ध भई परिवार र समाजले आफूप्रति गरिरहेको व्यवहारहरुको अनुभव पोख्ने गतिलो “प्लेटफर्म” पाउँछन्। 

त्यस्तै, कुनै पनि समाजको सांस्कृतिक परम्पराहरु निर्वाह गर्नमा महिलाहरुको भूमिका सँधै महत्वपूर्ण  रहिआएको हुन्छ । र, उनिहरुको भूमिकालाई प्रकृतिसँग नजिक राखिन्छ। प्रकृतिसँग दाँज्नुका बिभिन्न कारणहरु छन् जस्तै महिलाले निर्वाह गर्ने मातृत्वको भूमिका , सहनशक्ति, त्यागको भावना, अन्नदाता आदिआदि।  शेरी बि ओट्नरका अनुसार पनि “स्त्रीका मनोवृत्तिहरु प्रकृतिसँग नजिक रहेका हुन्छन्। तर समाजका संस्कृति/परम्परा  निर्माणमा पुरुषको भूमिका रहन्छ जसमा महिलाहरु पुरुषमा अधिनस्थ हुनेखालको संस्कृतिको निर्माण पुरुषहरुले गर्दछन्।”  

सुदूरपश्चिमको समाज पनि पितृसत्तात्मक आचारबिचारभन्दा बाहिर आउन नसक्ने समाज हो। महिलाहरु सदियौंदेखि प्राकृतिक तवरलेनै धार्मिक तथा सास्कृतिका नाममा लादिएका कुप्रथा र व्यवहारहरुलाई निःशब्द तरिकाले झेलिरहेका हुन्छन्। त्यसैले उनीहरु पितृसत्ताको पक्षपोषणको सन्दर्भमा माध्यम र ध्येय दुवै बनिरहेका हुन्छन्। पितृसत्ताको आवरण प्राकृतिक नै हो भन्ने कुरा आफूमा समाहित गरि जीवन बिताइरहेका हुन्छन्।

गौरा पर्वमा गाइने लोकगााथाहरुले यहाँको समाजमा ऐतिहासिक कालदेखि महिलाको स्थिति, उनिहरुप्रति समाजले गर्ने गरेको रवैयाहरु अध्ययन गर्न पाइने बिशिष्ट अवसर हो भन्न छुटाउनु हुँदैन्। गौरापर्व यस्तो माध्यम बनिरहेको हुन्छ जहाँ एकातर्फ महिलाहरु पितृसत्तालाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने जिम्मेबारी बोकिरहेका हुन्छन् भने सँगसँगै यसपर्वलाई आफ्ना करुणा र वेदनालाई मज्जाले पोख्ने माध्यम  पनि बनाइरहेका हुन्छन्। गौरा पर्वका अवसरमा गाइने देउडा, घरगीत, चैत, आदिका माध्यमबाट महिलाहरु समूहमा आवद्ध भई परिवार र समाजले आफूप्रति गरिरहेको व्यवहारहरुको अनुभव पोख्ने गतिलो “प्लेटफर्म” पाउँछन्। 

आमाबुवाको घरमा दाजुभाईभन्दा आफूलाई सबै अवसरहरुबाट बिभेद गरेको, पतिका घरमा सासुले, नन्दले दुःख दिएका त्यस्तै वालविवाह, बहुबिवाहका कारण आफूले भोग्नु परेको व्यथा, मिलन बिछोडहरुलाई कारुणीक तवरले घरगीत, देउडाहरुका  माध्यमबाट पोख्न पाउनु यो पर्वको एउटा बिशेषता हो। उनीहरुले गाउने गीतहरुमा बस्तुगत अनुभवहरुसँगै भाकामा मौलिकताको सन्निवेश भएको हुन्छ। महिलाकेन्द्रीत केही गीतहरुका हरफहरु मात्रलाई पनि यसरी हेर्न सकिन्छः

लैजा चणी लैजा, सन्देश लैजा,
पातमी म खाउँलो,
थालमी खालोे मेरो भएलु।

महिला र पुरुषबीचको अन्तर जन्मदेखिनै दृष्टिगत भइरहेको हुन्छ। आफ्नो जन्मलाई दाजुभाइको भन्दा सानो स्वीकार गरि खाने लाउने तथा अन्य सुबिधाहरुमा वञ्चित रहेको अवस्थालाई दिदीले सामान्यरुपमा ग्रहण गरिरहेको अवस्थालाई माथिको गीतको अंशले प्रतिनिधित्व गरिरहेको छ। दिदी आफ्नो भाईलाई थालीमा खान आग्रह गर्छिन भने आफु पातमा खान तयार भइरहेकी हुन्छिन्। खाने कुराबाट पोषण पाउने कुरादेखि लिएर शिक्षाका अवसरहरुबाट बञ्चितिकरणको अवस्था यस्ता गीतहरुले प्रष्ट्याइरहेका हुन्छन्।

छोरी भएका नाताले माइतबाट शुरु भएको बिभेदले श्रीमानको घरमा समेत निरन्तरता पाइरहन्छ। एउटा बुहारीका नाताले उसले घर परिवारमा सबैको खप्की सहनुपर्ने, श्रीमानबाट नै उसको सारा गतिबिधिहरु नियन्त्रण र सञ्चालित हुनु पर्ने यथार्थ यसरी महिलाहरु यसरी पोख्ने गर्छन्ः

खोलाइनो गुयलो पाक्यो,
चणी न खान दिन्या, 
लाग्द्या खुर्सानी जसो लोग्न्या मेरो ,
माइत न जान् दिन्या।

महिलाले विवाह गरिसकेपछि यहाँका महिलाहरु लोग्नेबाट पूर्णरुपमा सञ्चालित रहन्छन्। माइत जान मन लागेको अवस्थामा समेत जान नदिंदा एउटा श्रीमतिको मनमा उठेको  वेगको प्रसंग माथिको देउडा गीतले दर्शाएको छ। जसमा श्रीमतीले श्रीमानलाई ज्यादै “पीरो खुर्सानी”सँग तुलना गरिहेकी छन्। निःशन्देह लोग्नेले हैकमका बिरुद्घ भने महिला जाँदैनन्। बिभिन्न यथार्थहरुको बस्तुगत चित्रणमा भाषिक प्रयोगको अद्भूत शैलीका कारण देउडा ÷ फागहरुले जोसुकैको मनलाई भिजाउन र गलाउन सकिरहेको हुन्छ।

बहुविबाह र वालबिवाह सँधै उच्च स्थानमा रहेको यस क्षेत्रमा नाबालक अवस्थामै कसैको घरमा बुहारी बनेर जानु पर्दाका पीडाहरुका सन्दर्भहरु बडो मार्मिक ढंगले बयान गरिरहेका  भेट्न्छिन्। त्यस्तै भावुक बनाउने मध्येको एउटा हो, “सती कलसाको चैत” जसमा कलसाको सानै हुँदा बिवाह हुन्छ र सानै उमेरमा लोग्ने मर्दछ। तत्पश्चात उसका घरका सबै सदस्यहरुले कलसालाई टाउकोमा तेल हालिदिएर सती जान तयार पारिदिएको दुःखान्त वर्णन गरिएको छ। अवोध बालिकालाई बाटोमा भेट भएका उनका दाइले रोक्न र फर्कन आग्रह गर्दा दाइले यसो भनेको सन्दर्भ भेटिन्छः 

थालमीको दूद्भात  खानलैन जाण्णीथी
मेरी बैना सती कैले लाई 

अर्थात थालमा दुधभात खान पनि नजान्ने मेरी बहिनीलाई सती कोले पठायो?

तर, उनि फर्कन नसकिने कारणहरु सुनाउँदै फर्कन अस्वीकार गर्दछिन्। यसबाट यो समाजमा बालिकाहरु जन्मेदेखिनै कसरी परिवारको निर्देशनलाई अनुसरण गरिरहेको हुन्थे भन्ने कुराको सुन्दर तस्वीर हो। यहाँको समाजमा पनि उहिले लोग्ने मरेपछि परिवारका सदस्यहरुले सती जानुपर्ने बाध्यकारी बनाएका अवस्थाका वर्णन यस्ता गीतहरुमा भेटिन्छन् । बालबिवाह, सति जानु, विवाह भइसकेपछि श्रीमानपट्टीका नातेदारहरुलाई  महिलाले सबैथोक मान्नुपर्ने आदि कुराहरुको अन्तर्निहित भाव यस्ता गीतमा हुन्छ। 

यस क्षेत्रमा बुहारी भएका नाताले के कस्ता घरेलु हिंसा र अप्ठ्याराहरु बेहोर्नुपर्छ भन्ने कुराको बडो मार्मिक प्रसंगहरु घरगीतहरुका माध्यमबाट सुन्न पाइन्छ। बुहारीका रुपमा  सासुबाट पाइरहने मानसिक, शारीरिक कष्टहरुलाई झेल्नु उनिहरुको नियति हो भन्ने कुरा उनिहरुले व्यक्त गर्ने कतिपय गीतहरुबाट थाहा लाग्छ। छोराले बुहारीलाई प्रेम गरेको सहन नसक्ने सासुले बुहारीलाई बिषहाली मारेको प्रसंग यस्तो छ।  महीमा भात राखेर दिन नसक्ने सासुले खीर दिंदा उनको नियतमाथि शंका गर्दे बुहारी यसो भनिरहेकी हुन्छिन्ः  

मयरी न दिन्थी
आजदिन मेरी सासु
खिरणी जिउनार
आजका खीरणीले 
सुन सासु सुन मायौ, पेट लसिपसी भैछ। 

काव्यात्मक भाषामा आफ्ना भावनाहरु आदानप्रदान गरिने हुँदा दुई लाइनको यस्ता घरगीतहरुले पनि पुरै जीवनको यथार्थलाई छर्लंगै बनाइरहेको हुन्छ। यस्ता गीतहरुमा स्वकथित कारुणिक कथाहरु हुन्छन्।

अशिक्षा, अर्थोपार्जनका लागि आफ्नो सीप प्रयोग गर्न नपाउँदा र परम्परागत सोंचका कारणले यस क्षेत्रका  ग्रामीण महिलाहरु आजसम्म पनि आर्थिक अधिकारको पहुँचबाट टाढा रहेका हुन्छन्। महिलाहरु विवाह पश्चात पतिका घरमा चाहना पुरा नभएपछि माइतबाट  केही सहयोग पाइराख्ने अपेक्षाहरु सहितका भावार्थहरु पनि यस्ता गीतबाट झल्को दिइरहेका भेटिन्छन् प्रस्तुत गीतले एउटा बिवाहिताको यस्तै आशय बोकेको छः 

सानी डाली घङारुकी 
छम्क्या चणोबास 
म जान्छु बाबाका माइत नथियाकी आस ।

दिदी बहिनीबीचको आपसी प्रेमलाई सम्झिएर गाएका कतिपय गीतहरुले भावुक वातावरण सृजना गरिरहेको हुन्छन्। माइतमा सँगै खेलेका, एउटै दुनाटपरीमा खाएका दिदी बहिनी बिवाह भइसकेपछि माइत जाँदा पनि संगै जान खोजिरहेका हुन्छन्। उनिहरुमा फेरि बाल्यकालका स्मृतिहरु र आपसी माया प्रितीलाई तरोताजा गर्न खोजेका मनसाय देखिन्छ। पहिले पहिलो बाटोघाटोको असुबिधाका कारण यस क्षेत्रका बिवाहितालाई माइत जानु, दिदी बहिनीसँग भेटघाट गर्नु भनेको बिरलै अवसर हुन्थ्यो। बिसौ बर्षपछि माइतिपट्टीका आफन्तहरुसँग भेट भएको कुरा यहाँका कतिपय महिलाहरुले सुनाइरहेका हुन्छन्। यस्ता महिलाका लागि गीतहरुले राहतको काम गरिरहेका हुन्छन्। जस्तैः 

एकै बाबा तेरा रतौनानी,
एकै बाबा मेरा,
सङइ जाउँला माइत  रतौनानी, 
गाँजरीका सेरा ।

सुदूरपश्चिमका महिलाले विगत देखि भोग्दै आएका पारिवारिक बिभेदहरुलाई लोकगीतका माध्यमबाट कलात्मक तवरले जाहेर गर्नु यहाँको निकै मनछुने बिषय हो।  यसअवसरमा समाजिकीकरणले निम्त्याएका बिभेदहरुको उत्सव मनाउन यहाँका महिलाहरु यो समयमा व्यस्त रहेका देखिन्छन्। उसैपनि यो पर्व  भगवान शिवजीभन्दा देवी पार्वतीप्रति केन्द्रमा राखि मनाइने पर्व हो। अपठित तर मैखिक रुपमा एक पुस्ताबाट अर्को पुस्तामा सदियौंदेखि हस्तान्तरित हुँदै आएका यी लोकगाथाहरुले सुदूरपश्चिमको लोकसँस्कृतिको उच्चतम भण्डार रहेको यथार्थलाई समेत उजागर गरिरहेको हुन्छ। अर्कातर्फ  गीतहरुका आशयमा पितृसत्ताको आवरणलाई महिलाहरुले ओढ्नु पर्ने सँदेश समेत बोकाइरहेको प्रतित हुन्छ। धेरैजसो समाजमा धर्म र पितृसत्तालाई  एकअर्काको परिपुरक बनाइएको हुन्छ र महिला यसबाट निर्मित चक्रव्यूहबाट बहिर आउन सक्दैनन्। किनभने घुमाइफिराइ महिलाको जन्म पुरुषका तुलनामा सानो रहेको भावार्थहरु रहेका गीत  प्रशस्तै हुन्छन्।  महिला स्वयं पनि परापूर्वकालदेखि यो बिडों थामिरहेका छन् जसको निरन्तरताका लागि अर्को पुस्तालाई आह्वान गर्न सासुले आफ्ना बुहारीलाई गौरा पर्वको ब्रतको उपासन गर्न अह्रराइरहेका हुन्छन्। एउटा पिढीं अर्को पिढींमा यो परम्परा सार्न आतुर भइरहेका हुन्छन्। बेलाबेलामा यो क्षेत्रमा मनाइने यस्ता चाडपर्वहरुले महिलाले सांस्कृतिक मूल्य र मान्यतालाई जोगाइराख्नुपर्ने आशय बोक्नुका साथै महिला सँधै पुरुषको स्तरभन्दा सानो हो भन्ने परम्परागत मान्यताको पुनर्ताजगी गराइरहेको जस्तो प्रतित हुन्छ। सँगसँगै, गौरापर्व महिलाहरुका पीडालाई पोख्ने रमाइलो अवसर पनि बनिरहेको हुन्छ। अन्तमाः समग्र जीवनलाई व्यक्त गर्ने दार्शनिक भावहरुलाई समेत कतिपय गीतहरुले सरल तर गहकिलो ढंगले यसरी प्रस्तुत गरिरहेका हुन्छन्ः  

दोबाटोमा देउतीको थान 
बोक्या खान्या रैछ,
मैले दिन जान्या रैछन मान्या
जोवन जान्या रैछ । 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad