८ वैशाख २०८१ शनिबार
खेल

चीनको महत्वकांक्षाले लिप्पीलाई चुनौती

बेइजिङ- इटालियन मास्टर प्रशिक्षक मार्सेलो लिप्पी जीवनकै एउटा यस्टो कठिन कामका लागि तयारी गरिरहेका छन्, जुन उनका चिनिया समर्थक असम्भव ठान्छन्। अन्तर्राष्ट्रिय फुटबलमा उपलब्धिविहीन हुँदै आएको चिनिया टोलीलाई सफलताको बाटोमा डोर्‍याउने लिप्पीको प्रयास धेरै उनका समर्थकलाई सफल हुनेमा शंका छ।

विश्वकप छनोटअन्तर्गत मंगलबार कतारसँग खेल्दै यात्रा सुरु गर्दा चाँदीझै चम्किलो कपाल भएका लिप्पीले चीनको नयाँ प्रशिक्षकमा सम्झौता हुँदा प्राप्त मोटो पारिश्रमिकको हकदारका रूपमा आफूलाई पुष्टि गरेर मात्र पुग्ने छैन। उनले त्यही खेलमा राम्रो नतिजा ल्याएर शंकालु समर्थकको मन पनि जित्न सक्नुपर्नेछ। ६८ वर्षे लिप्पीले इटालीको राष्ट्रिय टोलीलाई विश्वकप जिताइसकेका छन्। युरोपियन र एसियन च्याम्पियनसिपको उपाधि जित्ने उनी एकमात्र प्रशिक्षक हुन्। उनको नेतृत्वमा इटालीको महारथी युभेन्ट्सले युरोपियन च्याम्पियनसिप जितेको थियो भने चीनको ग्वान्झाउ इभरग्रान्डेले एसियाली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्दा पनि लिप्पी नै प्रशिक्षक थिए।

एउटा प्रशिक्षकले पाउनुपर्ने सबैजसो मुख्य सफलता हासिल गरिसके पनि चिनिया राष्ट्रिय टोलीको प्रशिक्षकमा भने उनका चुनौती फरक छन्। लगातारको कमजोर प्रदर्शनका कारण चिनिया टोलीले आफ्नै समर्थकबाट लामो समयदेखि विश्वास गुमाइसकेको छ। क्लबस्तरमा चीनका टोलीहरू (खासगरी इभरग्रान्डे) ले ठूलो खर्चमा सफलता आत्मसात गर्न थालिसके। तर 'टिम ड्रागन' (चिनिया राष्ट्रिय टोली) भने फिफाको विश्व वरीयताको ८४ औं स्थानमै थन्किएको छ। चीन फिफा वरीयतामा इजरायल, कुराकाओ र लिबियाभन्दा पनि पछि छ। त्यसैले लिप्पी चीनका प्रशिक्षक नियुक्त हुँदा सामाजिक सञ्जालमा समर्थकको एउटा कमेन्ट 'हार्वर्डका स्नातकले आफ्नो सुस्त छोरालाई प्रशिक्षित गर्ने' भाइरल भएको थियो।

सफलताको युग सुरु गर्न राष्ट्रपति सी जिङपिङबाट आएको चरम दबाबका कारण चिनिया फुटबल संघले लिप्पीलाई टिमको नेतृत्व दिने निर्णय गरेको थियो। समाचारहरूमा जनाइएअनुसार उच्च सफलताको बाटो समाउने अभियानमा संघले लिप्पीसँग वार्षिक २ करोड डलरमा सम्झौता गरेको छ।

चीनले विश्वकपमा अहिलेसम्म एकपटकमात्र सहभागिता जनाउन सकेको छ। २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त आयोजना गरेर इतिहासमै पहिलोपटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एसिया भिœयाउँदा सहभागिता जनाएको चीनसँग त्यसको सुखद स्मरण छैन। एउटै खेल जित्न तथा अंकसमेत बटुल्न नसकेको चीनले समूह चरणका तीन खेलमा एउटा गोल पनि गर्न सकेको थिएन। चीनले विश्वकपमा ऐतिहासिक सहभागिता जनाएको चार वर्षपछि २००६ मा भएको जर्मन विश्वकपमा लिप्पीले इटालीलाई उपाधि जिताएका थिए। तर लिप्पीको इटालीमा त्यो बेला विश्व फुटबलका सक्षम स्टारहरू थिए। युभेन्ट्स र इभरग्रान्डेबाट सफलता हासिल गर्दा पनि उनीसँग प्रतिभाको कमी थिएन, जुन उनले वर्तमान चीनको टोलीमा आश गर्न पाउने छैनन्। राष्ट्रिय टोलीमा उनीसँग युभेन्ट्स र इभरग्रान्डेमा जस्तो ताजा प्रतिभा किन्ने सुविधा हुने छैन।

लिप्पीले चिनिया टोलीमा गाओ होङ्बोलाई स्थानान्तरण गर्दै नेतृत्व लिएका हुन्। पाँच दिनको बीचमा युद्धग्रस्त सिरिया र उज्वेकिस्तानसँग पराजित भएपछि अक्टोबरमा होङ्बोले राजीनामा दिएका थिए। त्यही हारका कारण विश्वको सबैभन्दा बढी जनसंख्याको देश विश्वकप २०१८ को छनोटअन्तर्गत समूह 'ए' को पुछारमा थन्किएको छ। टोलीले चार खेलमा एक अंकमात्र जोड्न सकेको छ। समूहका दुई शीर्ष टोलीले मात्र सोझै रुसको टिकट काट्ने भएकाले चीन दबाबमा छ। जसले राष्ट्रपति जिङपिङको समेत ध्यान तानेको थियो। त्यसैले ६ खेल बाँकी रहँदा फुटबल संघले लिप्पीलाई ठूलो रकममा अनुबन्ध गरेको थियो।

कुन्मिङमा कतारविरुद्ध हुने खेलमा पराजय भोगे विश्वकपमा छानिने चीनको झिनो आशा पनि शून्यमा झर्नेछ। तर चीनले आफूजस्तै संघर्षरत अवस्थामा रहेको २०२२ को विश्वकप आयोजक कतारलाई मार्चमा सम्पन्न अघिल्लो छनोट चरणमा हराइसकेकाले लिप्पीको टोलीले मंगलबारका लागि आशा गर्ने ठाउँ प्रशस्त छ। साथमा चीनको दक्षिण पश्चिमी सहर कुन्मिङ समुद्री सतहबाट १ हजार ९ सय मिटरको उचाइमा रहनु र टोलीले त्यहीँ ११ दिनको बन्द प्रशिक्षण सिविरमा रहनुले पनि उनीहरुलाई घरेलु मैदानको महŒवपूर्ण फाइदा पुग्न सक्छ।

'कतारविरुद्ध जितको ग्यारेन्टी गर्न सकिन्न, तर हामी आफ्नो तर्फबाट जित्न पूरा प्रयास गर्नेछौं,' लिप्पीले भनेका छन्, 'म खेलाडीबाट सुधार अपेक्षा गरिरहेको छु।'

दशकौंको असफलताका कारण त्रस्त खेलाडीको मानसिकता परिवर्तन गर्नु आफ्नो पहिलो प्राथमिकता हुने उनले बताएका छन्। 'अहिले हामीले खेलाडीलाई आत्मविश्वास हासिल गर्न सहयोग गर्नुपर्ने बेला छ। जुन धेरै हदसम्म हामीले गरिरहेका छौं। खेलाडीको मानसिकता परिवर्तन भइरहेको छ,' उनले भने।

चीनले थोरै सफलताका लागि पनि विगतमा प्रशिक्षकमा थुप्रै रकम खर्च गरिसकेको छ। स्पेन तथा रियाल मड्रिडका पूर्व प्रशिक्षक हुँवा एन्टोनियो कामाचोलाई २०११ मा वार्षिक ८० लाख डलरमा अनुबन्ध गरे पनि लगातारको खराब नतिजाका कारण २०१३ मा बर्खास्त गरिएको थियो।

विगतका थुप्रै प्रयास असफल भएपछि चिनिया फुटबल संघले अप्रिलमा २०५० सम्ममा चीनलाई विश्व फुटबलको महाशक्ति बनाउने योजना ल्यायो। त्यही योजनाको सुरुआतमा टिम र त्यसको वरिपरि परिवर्तन ल्याउने जिम्मेवारीसाथ लिप्पीलाई अनुबन्ध गरिएको हो।

मिडफिल्डर हुवाङ बोवेनले लिप्पीको आगमनले टिममा प्रभाव पार्न थालिसकेको बताए। लिप्पी आएसँगै टिमको प्रशिक्षण सिविरमा आत्मविश्वास पलाउन थालेको उनको भनाइ थियो। 'हामीसँग लिप्पी छन्। त्यति मनमा राख्दा पनि हामीलाई पर्याप्त आत्मविश्वास मिलिरहेको छ। उनले हामीलाई आफू र टिम सहयात्रीमाथि विश्वास राख्दै जितको भोक देखाउन प्रेरित गरिरहेका छन्,' बोवेनले भने, 'लिप्पी आएसँगै हामीले कहिल्यै नपाएको मानसिक शक्ति हासिल गरेका छौं। यसले प्रदर्शनमा सुधार ल्याउनेछ।'

बोवेन राष्ट्रिय टोलीमा भएका लिप्पीको पूर्व क्लब इभरग्रान्डेका सात खेलाडीमध्ये एक हुन्। लिप्पीले २०१२ देखि २०१४ सम्म नेतृत्व गरेको इभरग्रान्डेले हालैमात्र लगातार छैटौं पटक चिनिया सुपर लिगको उपाधि जितेको थियो।

'उनीहरूसँग जित्नुपर्छ भन्ने भावना छ। उनीहरूसँग अन्तर्राष्ट्रिय फुटबलको राम्रो सुझबुझ छ। यस्ता सकारात्मक कुराले सुखद नतिजाको बाटो खोज्नेछ,' लिप्पीले भने, 'चीनको फुटबल अन्तर्राष्ट्रिय स्तरमा सफलताको बाटोमा अग्रसर छ। समय लाग्न सक्छ, तर सफलता अवश्य पनि प्राप्त हुनेछ।

२०१९ को जनवरीसम्म सम्झौता गरेका लिप्पीले रुस २०१८ मा पुग्ने सम्भावनालाई पूर्ण रूपमा अस्विकार गरेका छैनन्। तर उनले चीन छनोट हुन  जादुको आवश्यकता रहेको भने प्रस्ट पारे। 'हामीले कुन्मिङमा वा बाँकी रहेका ६ मध्ये चार खेल जित्न सक्यौं भने विश्वकप छनोट हुनु नहुनु आफ्नो ठाउँमा छ। तर त्यसले सुधारको संकेत गर्नेछ,' उनले भने, 'चिनिया राष्ट्रिय टिम विश्वकपलाई छानिन जादु होस् भन्ने हामी सबैको आशा छ।'

प्रकाशित: २९ कार्तिक २०७३ ०३:२९ सोमबार

चीनको महत्वकांक्षाले लिप्पीलाई चुनौती