काठमाडौं- माल्दिभ्समा जारी क्लब लिग च्याम्पियनसिप भलिबलमा नेपाली खेलाडीको टोली फैसदा क्लबले शनिबारको खेलमा पराजय भोगेको छ। फैसदाबाट राष्ट्रिय टोलीका स्टार खेलाडीद्धय मञ्जु गुरुङ र अरुणा शाहीले खेलिरहेका छन्।
आइतबार माल्दिभ्स पुलिस क्लबले फैसदालाई २७–२४, २५–१२, २५–१९ को नतिजामा पराजित गर्यो। प्रतियोगितामा पुलिस क्लब अपराजित टोली हो।
बिहीबार फैसदा क्लबले पोल स्टारलाई हराउँदा अरुणा क्विन अफ द म्याचबाट पुरस्कृत भएकी थिइन।
माल्दिभ्स लिग च्याम्पियनसिपमा स्थानीय ५ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगितामा सहभागि टोलीले दुई विदेशी खेलाडी राख्न पाउने व्यवस्था छ। त्यहीअनुसार माल्दिभ्सका दुई क्लबमा दुईका दरले नेपाली खेलाडी सहभागि छन्। राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा माली र कोपिला उप्रेतीले मिस्किमागु इमेन जी ग्लुहुन क्लबबाट खेलिरहेका छन्। प्रतियोगिताअन्तर्गत बुधबार फैसदा र इमेन जीले प्रतिस्पर्धा गर्नेछन्। पुलिसपछि इमेन जी अंकतालिकाको दोस्रो स्थानमा रहेको टोली हो।
माल्दिभ्स लिगमा कोपिला वाहेक तीन खेलाडी प्रतिभा, अरुणा र मञ्जुले पहिलो पटक सहभागिता जनाइरहेका हुन्। गत वर्ष कोपिला र निमा श्रेष्ठले माल्दिभ्समा व्यावसायिक भलिबल खेलेका थिए।
प्रकाशित: २९ कार्तिक २०७३ ०३:१५ सोमबार