coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका–तालिबान वार्ताको तयारी

काबुल – अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

अफगानिस्तानमा इस्लामिक स्टेटको प्रभाव बढ्न थालेसँगै तालिबानसँगको वार्तालाई निर्णायक बनाउन दुबै पक्षले तीब्र प्रयास थालेका छन्। अमेरिकी दूत खलिलजादले वार्ताको प्रगति बारेमा विचारविमर्श गर्न अफगानिस्तानको पनि भ्रमण गर्ने बताइएको छ। यसअघिका वार्तामा अफगान सरकारलाई खासै महत्व दिइएको थिएन। अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तानका विभिन्न पक्षबीच सहमति जुटाउने प्रयासलाई निरन्तरता दिइने जनाएको छ।

इस्लामिक स्टेटले पछिल्ला केही महिनादेखि आतंकवादी ठूला आक्रमण तीब्र रूपमा अघि बढाइरहेकाले अमेरिका–तालिबान वार्ता नै ओझेलमा पर्ने खतरा बढेको विश्लेषकको भनाइ छ।

वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संवाददातासँग कुरा गर्दै तालिबान विद्रोही समूह लडाइँ रोक्न इच्छुक रहेको बताएका छन्। उनले तालिबान समूहले अफगानिस्तानलाई आतंकवादी क्रियाकलापको केन्द्र हुनबाट सजिलै रोक्न सक्ने विचार पनि व्यक्त गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

कतारमा हुने नयाँ चरणको वार्ता काबुलमा यसै सप्ताहान्तमा भएको भिषण बम आक्रमणपछि हुन लागेको हो। तालिबान समूहले सो आक्रमणमा आफ्नो संलग्नता नरहेको बताइसकेको छ। अफगानिस्तानमा सक्रिय इस्लामिक स्टेट समूहले सो आक्रमणको जिम्मेवारी लिएको थियो। इस्लामिक स्टेटले पछिल्ला केही महिनादेखि आतंकवादी ठूला आक्रमण तीब्र रूपमा अघि बढाइरहेकाले अमेरिका–तालिबान वार्ता नै ओझेलमा पर्ने खतरा बढेको विश्लेषकको भनाइ छ।

विश्वमै अफगानिस्तानको युद्ध सबैभन्दा खतरनाकमध्ये एक मानिन्छ। राष्ट्रसंघले अघिल्लो दशकमा भन्दा बढी सर्वसाधारण गत वर्ष मारिएको जनाएको छ। शनिबार भएको बम आक्रमणमा पनि ६३ जना सर्वसाधारणको ज्यान गएको थियो। अफगानस्तिानमा विगत १० वर्षमा ३२ हजारभन्दा बढी गैरसैनिक नागरिक मारिएका छन्।
अमेरिकी रक्षा मन्त्रालयले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा हाल अफगान द्वन्द्व यथास्थितिमा रहेको उल्लेख छ। तालिबान समूहले पनि थप क्षेत्रलाई आफ्नो कब्जामा लिन सकेको छैन भने सरकारी फौजले पनि गुमेका क्षेत्रमाथि पुनः नियन्त्रण गर्न सकेको छैन।

अप्रिल–जुनको अवधि विश्लेषण गरिएको सो प्रतिवेदनले हिंसात्मक घटनामा खासै परिवर्तन नआएको उल्लेख गरेको छ। अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सैनिक तैनाथ छन्। अमेरिकी सैनिक फिर्ती नै अमेरिका–तालिबान वार्ताको मुख्य विषयवस्तु रहेको बताइएको छ।

प्रकाशित: ५ भाद्र २०७६ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App