coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मेयरको ठेक्का सम्झौता तोडियो

सुर्खेत - छ महिनामा सम्पन्न गर्नुपर्ने विद्युतीकरणको काम चार वर्षसम्म सुरु नगरेपछि नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाले तारुपरे निर्माण सेवा एन्ड सप्लायर्ससँगको संझौता तोडेको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द पुनको स्वामित्वमा रहेको तारुपरेले २०७२ असार १४ गते सुर्खेतका विभिन्न १५ गाउँमा विद्युतीकरणका लागि ठेक्का लिएको थियो।

सुरुमा दुई पटक म्याद थप गराएका पुन स्थानीय तह निर्वाचबाट बनगाढ–कुपिण्डे नगरपालिकाको प्रमुखमा विजयी भएपछि प्राधिकरणको सम्पर्कमा छैनन्। विद्युत प्राधिकरणले जेठ ३१ गते संझौता रद्द गरेर बैंक ग्यारेन्टी फिर्ताका लागि राष्ट्रिय बाणिज्य बैंक र नेपाल बंगलादेश बैंकलाई पत्राचार गरेको छ।

२०७२ मंसिरमा सम्पन्न गर्ने भनी पुनले एक करोड ४२ लाख २५ हजार ४ सय रुपैयाँमा विद्युत् प्राधिकरणसँग सुर्खेतमा विद्युत् विस्तारसम्बन्धी दुईवटा ठेक्का सम्झौता गरेका थिए। सम्झौतालगत्तै ठेकेदार पुनले एड्भान्स पेमेन्ट ग्यारेन्टी (एपिजी) बापत १४ लाख १० हजार रुपैयाँ भुक्तानी लगिसकेका छन्। विद्युत प्राधिकरण सुर्खेत शाखाका प्रमुख सुरज भण्डारीले पटक–पटक पत्राचार गर्दा पनि ठेकेदार सम्पर्कमा नआएकाले ठेक्का रद्द गरिएको बताए।

‘जेठ ३१ गते हामीले ठेक्का रद्दको निर्णय गरेका हौं,’ कार्यालय प्रमुख भण्डारीले भने, ‘अहिले बैंक ग्यारेन्टी फिर्ताको पहल भइराखेको छ।’ भण्डारीका अनुसार असार ३१ गते राष्ट्रिय बाणिज्य बैंक र नेपाल बंगलादेश बैंक लिमिटेडको नेपालगञ्ज कार्यालयलाई धरौटी फिर्ताका लागि पत्राचार गरिएको छ।

विद्युत प्राधिकरणले काम सम्पन्न गर्नका लागि पटक–पटक पत्राचार गर्नुका साथै मौखिक रुपमा पनि सम्पर्क गरेको थियो। सुरुसुरुमा आफै आएर म्याद थपका लागि निवेदन दिएका पुनले नगर प्रमुखमा निर्वाचित भएपछि सम्पर्कमै आएनन्। पटक–पटक काम नगर्नुको कारणसहितको पत्र बुझाउन घरमै पुग्दा पनि उनले पत्र बुझ्न मानेनन्। ‘त्यसपछि हुलाकमार्फत पनि पत्र पठायौं’ उनले भने, ‘त्यति गर्दा पनि सम्पर्कमा नआएपछि ठेक्का खारेज गरेका हौं।’

प्राधिकरणका अनुसार पुनले २०७२ पुस १४ गतेभित्रै प्याकेज–१ अन्र्तगत १२ किलोमिटर ३ सय मिटर र प्याकेज–२ अन्र्तगत १७ किलोमिटर ९ सय मिटर विद्युतीकरण गर्नुपर्ने थियो। प्याकेज–१ अन्तर्गत साविकको जर्बुटा गाविसमा १२, दहचौरमा ११, दशरथपुरमा १०, लेखफर्सामा ३६, सहारेमा ३३, छिन्चुमा २६, नेटामा ३४, साटाखानीमा ४८ र कल्याणमा ३६ वटा पोल गाडेर विद्युत् लाइन विस्तारको काम गर्नुपर्ने थियो। यसका लागि पुनले ५८ लाख ५५ हजार ७६१ रुपियाँ ४७ पैसामा प्राधिकरणसँग सम्झौता गरेका थिए।

प्याकेज–२ अन्तर्गत पश्चिम सुर्खेतको कुनाथरीमा ६०, लेखपराजुलमा ४१, रतु–अवलचिङमा ७६, हरिहरपुरमा २३, रतुमा ५२ र गढीमा ४५ विद्युतका पोल र तार विस्तार गर्नुपर्ने थियो। यसबापत पुनले ८३ लाख ७० हजार ७३ रुपैयाँ ९९ पैसामा ठेक्का सम्झौता गरेका थिए।

प्रकाशित: ५ भाद्र २०७६ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App