८ वैशाख २०८१ शनिबार
समाज

स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा शिक्षा समितिको बुधबार बसेको बैठकले नेपाल भाषा र नेपाली तथा अङ्ग्रेजी भाषाका लागि दुई समिति गठन गरेको महानगर शिक्षा अधिकारी निर्मला केसीले जानकारी दिए।     

कक्षा १ देखि ८ सम्मको नेपाल भाषाको पाठ्यक्रमका लागि महानगरपालिकाका शिक्षा अधिकारी केसीको अध्यक्षतामा गठित समितिमा प्रा.डा. चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्यसचिव मोतिराज खनाल रहेका छन्। नेपाल भाषा ऐच्छिक विषयका रुपमा रहनेछ।     

त्यसैगरी अङ्ग्रेजी र नेपाली भाषाका लागि शिक्षा अधिकारी केसीको अध्यक्षतामा गठित समितिमा प्रा डा. चुन्दा बज्राचार्य, मदनराज मानन्धर, माधव घिमिरे, नातिकाजी महर्जन र ज्ञानबहादुर अधिकारी सदस्य रहेका छन्। समितिलाई दुई महीनाको समयसीमाभित्र पाठ्यक्रम तयार पार्न निर्देशन दिइएको छ। शिक्षा अधिकारी केसीले आगामी शैक्षिकसत्र २०७६ बाट महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा उक्त स्थानीय पाठ्यक्रम लागू गर्ने गरी तयार पारिने बताएका छन्।     

आगामी शैक्षिकसत्रबाट सामुदायिक विद्यालयलाई निःशुल्क र संस्थागत विद्यालयलाई शुल्क तिरेर उक्त स्थानीय पाठ्यक्रम उपलब्ध गराउने पनि उनले जानकारी दिए। “पाठ्यक्रममा काठमाडौँको पेशा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तिकला, पर्यटनजस्ता विषयलाई समावेश गरिन्छ”, उनले भने, “पाठ्यक्रममा काठमाडौँ महानगरपालिकाभित्रका ६० र उपत्यकाका ४० प्रतिशत विषयवस्तु समेटिनेछ।”     

पाठ्यपुस्तक निर्माणका लागि वडावडामा सुझावसमेत सङ्कलन गरिनेछ। महानगरपालिकाभित्र सामुदायिक र संस्थागत गरी सात सय पचास विद्यालय रहेका छन्।रासस     

 

प्रकाशित: ५ भाद्र २०७६ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App